Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनसँगको छलफल सकारात्मक र परिणाममुखी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग आइतबार भएको करिब चार घण्टाको भेटवार्ता सौहार्दपूर्ण, सकारात्मक र परिणाममुखी भएको बताएका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशका समसामयिक राजनीतिक विषय, सरकारका प्राथमिकता र आगामी कार्यदिशाबारे खुला रूपमा छलफल भएको जानकारी दिए।

उनका अनुसार छलफलमा विशेषगरी सुकुम्बासी समस्याको दीर्घकालीन समाधानलाई प्राथमिकतामा राखिएको थियो।

“हामीले सम्पूर्ण विषयमा खुला रूपमा कुराकानी गर्‍यौं। विशेष गरेर सुकुम्बासी समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने र आम नागरिकले अनावश्यक दुःख पाउनु नहुने विषयमा विशेष चिन्ता व्यक्त गर्‍यौं,” उनले भने।

लामिछानेले राष्ट्रिय राजनीति, वर्तमान परिस्थिति र आगामी राजनीतिक मार्गबारे पनि प्रधानमन्त्रीसँग गम्भीर संवाद भएको बताए।

“दुई शीर्ष नेताबीच राष्ट्रिय राजनीति, विभिन्न परिस्थिति र भोलिको बाटोबारे राजनीतिक छलफल भएको हो। छलफल एकदमै सौहार्दपूर्ण, सकारात्मक र परिणाममुखी रह्यो,” उनले भने।

लामिछानेले भेटवार्तामा उठेका विषयलाई आवश्यक समन्वय र सहकार्यमार्फत अगाडि बढाउने समझदारी बनेको संकेत पनि दिएका छन्।