Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका छन् । नुवाकोटको ककनी र धादिङको धुनबँसीस्थित बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको अवरोधका कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडीलाई काठमाडौं फिर्ता पठाइएको छ । फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्नेलगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । फोहोर विसर्जनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गत कात्तिक १६ गते पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको चरणमा लैजान गरेको प्रतिबद्धता पूरा नभएको भन्दै पुनः आजदेखि अवरोध गरिएको धुनबेँसी नगरपालिका १ का स्थानीय निराञ्जन सञ्जेलले बताए । विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने मन्त्रीको मौखिक प्रतिबद्धतामा ‘१५ दिनभित्र कार्य सुरू गर्ने’ अवधिको प्रगति उपलब्धिमूलक नभएपछि पुनः फोहर विसर्जनमा अवरोध गर्नुपरेको उनले बताए । ककनी गाउँपालिका १, २ र ३ तथा धुनबेँसी नगरपालिका १ र ३ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न पुगेका गाडीलाई प्रवेश नदिई अवरोध जारी राखेका छन् । २०७९ जेठ २६ मा काठमाडौं महानगरप्रमुख बालेन्द्र साहसहितको टोलीसँग भएको १८ बुँदे सहमति कार्यान्वयन उनीहरूको बटमलाइन छ । उक्त सहमतिमा फोहोरर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने, फोहोर विसर्जनपश्चात् लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेलगायत मागलाई समझदारीअनुसार चरणबद्ध रूपमा पूरा गर्ने उल्लेख छ । सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहोरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको संक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । मागको सम्बोधन र सहमति कार्यान्वयनका लागि मन्त्रीस्तरीय लिखित प्रतिबद्धताको साथमा जिम्मेवार प्रतिनिधि प्रभावित क्षेत्रमा आउनुपर्ने भन्दै सिसडोल, कुँडुले, ढाँडेका सडकमा सयौँको सङ्ख्यामा स्थानीय शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छन् । स्थानीयको मागमा नुवाकोटको ककनी र बेलकोटगढी तथा धादिङको धुनबेँसीका जनप्रतिनिधि, दलीय प्रतिनिधिलगायतले समर्थन जनाएका छन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल