Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन–कुलमान भित्र्याउने प्रयासमा रवि बाधक

काठमाडौं । पुराना दलहरुको विकल्पमा नयाँ दलको खाँचो टड्कारो देखिएको छ । नयाँ दलको नेतृत्वमा आम नागरिकले बालेन शाह र कुलमानहरुलाई देख्न चाहेका छन् । नेतृत्वको विषयमा सहमति नजुट्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, कुलमान घिसिङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल र जेन–जी प्रतिनिधि सुदन गुरुङलाई मिलाएर एउटै दल बनाउने गृहकार्य अलपत्र परेको छ। झण्डै तीन हप्तादेखि विभिन्न चरणमा निरन्तर छलफल भए पनि पार्टी प्रमुख को बन्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन। आगामी फागुन २१ गतेको लागि तय भएको चुनावका लागि नयाँ दल नखोल्ने, बरु रास्वपामै मिसिएर लड्न सबै सहमत भइसकेका छन्। रवि लामिछाने नभए रास्वपा नचल्ने कुरामा यी सबै एकमत छन्। त्यही भएर रविलाई पार्टीमा सम्मानजनक सहभागिता गराउन पनि उनीहरू तयार छन्। तर, रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा चलेकोले किनारा नलागेसम्म कार्यकारी भूमिकामा नबस्न उनीहरूले आग्रह गरेका छन्। रविलाई संरक्षक वा सर्वोच्च नेता बस्न आग्रह गरिएको छ। तर, कार्यकारी भूमिका छाड्न रवि तयार भएका छैनन्। मुख्य अड्को त्यही भएको छलफलमा रहेका अर्का नेताले बताए। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा रवि एक वर्षदेखि कारागारमा छन्। सबैलाई समेट्नको लागि रविलाई केही समय कार्यकारी जिम्मेवारीमा नरहँदा राम्रो हुन्छ भनेर बालेनका सहयोगी कुमार बेनदेखि हामी नेपाल अभियानका संयोजक सुदन गुरुङ लगायतले सुझाव दिएका छन्। बालेन निकट उनीहरूले उर्जामन्त्री कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउन प्रस्ताव गरेका छन्। त्यसो हुँदा पार्टी सर्वस्वीकार्य बन्ने र नेतृत्वमा कुनै समस्या नहुँदा चुनावमा आरामदायी बहुमत ल्याउन सकिने उनीहरूको बुझाइ छ। रास्वपा छोडेर बसेकी सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत, केही कलाकारहरू पनि रवि कार्यकारी भूमिकामा नरहे यही पार्टीबाटै चुनाव लड्न सकिने पक्षमा छन्। यो प्रस्तावमा रवि नकारात्मक नभए पनि उनका नजिकका व्यक्तिका कारणले समस्या देखिएको वार्तामा संलग्नहरू बताउँछन्। रास्वपाबाहेक अन्य दल बनेमा नयाँनयाँ दल जुध्दा भोट बाँडिने र त्यसले पुरानै दललाई फाइदा पुग्ने वार्तामा सहभागी नेताहरूको राय छ। प्रस्ताव लिएर भेट्न पुगेका कुमार बेन लगायतसँग रविले आफ्नो मुद्दाको किनारा लगाउन भइरहेका प्रयासबारे चासो राखेका थिए। अहिलेकै अवस्थामा तत्काल रविलाई कारागारबाट निकाल्न गाह्रो हुने बालेन–कुलमान निकटहरूको बुझाइ छ। तथापि, अझै केही दिन रास्वपासहित विभिन्न शक्ति मिलाउन लागि प्रयास गर्ने यस कार्यमा संलग्न रहेकाहरूले बताए। रास्वपाका सहमहामन्त्री गणेश पराजुलीले पनि विभिन्न पक्षसँग सहकार्यको विषयमा छलफल भइरहेको बताए। कांग्रेस, एमाले र माओवादीको विरासत तोड्न पनि मिल्नैपर्ने निष्कर्ष निकालेको उनको भनाइ छ। कुलमान घिसिङ लगायत नयाँ शक्ति बनाउने यो अभियानमा जोडिएका सबै रास्वपासँग प्रत्यक्ष संवादमा रहेको उनले बताए। जेनजीका प्रतिनिधि मध्येका पुरुषोत्तम यादवले पनि रास्वपा, कुलमान, बालेन्द्र लगायतलाई एकै ठाउँमा मिलाउने प्रयास भइरहेको बताए। तर, यस विषयमा रास्वपाका सबै नेता सकारात्मक भने छैनन्। रवि लामिछानेलाई सभापति छाड्न लगाएर बाहिरबाट आएकालाई सुम्पिने पक्षमा आफूहरू नरहेको रास्वपाका एक केन्द्रीय सदस्य ठोकुवा गर्छन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल