Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन, कुलमान, रवि एकै ठाउँमा ल्याउने प्रयास

काठमाडौं । पक्कै पनि सबैको चाहना बलियो वैकल्पिक शक्ति खडा होस् र पुराना दललाई चेक एन्ड ब्यालेन्समा ल्याओस् भने नै हो । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको अगुवाइमा भरखरै खुलेको उज्यालो नेपाल पार्टीबीच एकताको प्रयास भइरहेको नेताहरूले बताएका छन्। निर्वाचन आयोगले दल दर्ता गर्न मंसिर १० गतेको समयसीमा तोकेकाले दुई नयाँ पार्टी एक ठाउँमा ल्याएर पुराना पार्टीलाई धक्का दिन अन्तिम कसरत भएको हो। बाँकी एक दिनमा रास्वपा र उनेपालाई एउटै दलका रूपमा आयोगमा दर्ता गर्न अन्तिम कोसिस जारी रहेको दुवै पार्टीका नेताहरूले नेपालखबरलाई बताए। त्यसका लागि रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनालले वार्ता गरिरहेका छन्। यस्तै, उनेपाबाट प्रवक्ता सूर्य थापा, गणेश घिसिङ छलफलमा छन्। कुलमान घिसिङ आफैँले पनि संवाद गरिरहेका छन्। अब बाँकी एक दिनमा ब्रेक थ्रु गर्न सकिन्छ कि भनेर लागेका छौँ, वार्तामा रहेका रास्वपाका एक नेताले भने, कुलमानसँगै कुरा भइरहेको छ। सकारात्मक रूपमा जान्छ होला। काठमाडौँ महानगरमा मेयर बालेन्द्र शाहको टिमसँग पनि छलफल भइरहेको छ। दल दर्ताको दबाब छ। सकियो भने एउटै बनाएर जाने अहिलेको प्रयास हो। रास्वपासँग मिल्नको लागि कार्यकारी सभापतिको अडान राखेका घिसिङ लचक भएपछि मिल्ने सम्भावना बढेको अर्का सचिवालय सदस्य बताउँछन्। अहिलेको प्रयास एकै ठाउँमा हुनको लागि गरिएको हो, उनले भने, हामी स्वाभाविक रूपमा कुलमान घिसिङ लगायतसँग मिल्न चाहन्थ्यौँ। तर, मूल नेतृत्व मागेपछि कुरा नमिलेर रोकिएको हो। अहिले कुलमानजीहरू अस्तिभन्दा अलि लचक भएर प्रस्तुत हुनुभएको हो कि भन्ने लागेको छ। रास्वपाले घिसिङलाई कार्यकारी सभापति दिन अस्वीकार गरेपछि उनले पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी गठन गरेका थिए। सो दलले मंसिर ५ गते दल दर्ताको प्रमाणपत्र पाएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको साथ घिसिङलाई रहेको उज्यालो नेपाल पार्टीका नेताहरू दाबी गर्छन्। सोही आधारमा उनेपाले घिसिङलाई भावी प्रधानमन्त्री घोषित गर्दै चुनावमा होमिने निर्णय गरिसकेको छ। उसले आक्रामक संगठन विस्तार थालिसकेको छ। सोमबार मात्र बागमती प्रदेश कमिटी बनाएको छ। उज्यालो पार्टीले बनाएको यो नै पहिलो प्रदेश संगठन हो, जहाँ कुलमान घिसिङको सबैभन्दा बढी प्रभाव रहेको मानिन्छ। तर, बालेन्द्रका मुख्य सहयोगी कुमार बेनसहित केहीले रास्वपा र घिसिङसँग प्रत्यक्ष भेटवार्ता गर्दै मिलेर जान दबाब बढाएका थिए। रास्वपाको कार्यकारी सभापति पाए मात्र सहकार्य गर्ने अडान लिएका घिसिङलाई मध्यमार्गी प्रस्ताव राखिएको छ। रास्वपाभित्रै पनि कुलमानसँग मिलेर जान दबाब छ। त्यही भएर निरन्तर संवाद भइरहेको र मंसिर १० दिनभर पनि प्रयास गरिने ती सचिवालय सदस्य बताउँछन्। उनेपाका एक नेताले घिसिङलाई भावी प्रधानमन्त्री बनाएर चुनावमा जान रास्वपा तयार भए पनि केही विषयमा समझदारी जुट्न बाँकी रहेको बताए। उनेपाका नेताहरूबीच आन्तरिक छलफल हुँदा मिल्ने सम्भावना अधिक रहेको ब्रिफिङ भएको छ। प्रवक्ता सूर्य थापाले पनि एउटै दल बनाएर जानको लागि छलफल भए पनि परिणाम आइनसकेको बताए। सोमबार बेलुकासम्म धेरै विषयमा समझदारी भए पनि मंगलबार त्यसले निरन्तरता नपाउँदा एउटै दल बनाएर दर्ता गर्ने सम्भावना कमजोर बनेको उनको भनाइ छ। रास्वपाका सचिवालय सदस्य शिशिर खनालले एकता हुन नसके चुनावमा उज्यालो नेपाल पार्टीसँग सहकार्य हुने बताए।
नाम, चुनाव चिह्न र नेतृत्वको विषय आफूले भनेजस्तो नभएपछि घिसिङसँगको सहकार्यबाट बाहिरिएकी सुमना श्रेष्ठ फेरि छलफलमा जुटेकी छन्। घिसिङ भेट्न श्रेष्ठ सोमबार बेलुका निवासमै पुगेकी थिइन्। उनेपाका संगठन विभागको नेतृत्व गरिरहेका जीतराम वाइबाका अनुसार लामै छलफल भएको थियो। ‘लामै समय उहाँहरूबीच छलफल चल्यो, उनले भने, नाम र चिह्नमा समस्या भएन, मिलेर जाने कुरामा सहमति जनाए पनि सुमना लगायत उहाँको टिमको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा निचोडमा पुगिएको छैन। उनेपाले विभिन्न दल र समूहसँग वार्ता गर्न डा तारा जोशीको नेतृत्वमा समिति बनाएको छ। त्यसबाहेक घिसिङ आफैँले रास्वपा, काठमाडौँका मेयर बालेन्द्र शाह लगायतसँग छलफल गरिरहेका छन्।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल