Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
(१) म बालेन्द्र शाहको पक्षमा छैन नहुनुको धेरै कारणहरू आउने दिनमा बालेन्द्र शाहले नै मैदानमा जवाफ दिने छ, मेरो आशंका या त सत् सावित हुने छ या त म भ्रममा रहेकोे भ्रमित पात्र सावित हुने छ, त्यसका लागि उनले चुनाव जित्नै पर्छ, अत अहिलेलाई शंकाको लाभ दिँदै उनको चुनावी मतगणना अझै दोब्बर हुँदै जाओस् भन्ने कामना गर्दछु ।
(२) आज एउटा अन्तर्वार्ता हेरें, एउटा जानेमानेको वयोवृद्ध पत्रकार किशोर नेपालले बालेन्द्र शाह बारे तल्लो स्तरमा झरेर गरेको घृणित टिप्पणीले मलाई ती पत्रकार प्रति मेरो मनमा रहेकोे ‘वरिष्ठ’ सम्मान सुचक शब्द मेटेर गयो भने अर्कोतिर बालेन प्रति सहानुभूति जागेर आयो !
(३) चुनावको मुखैमा आएर केशव स्थापितले रैथाने नेवारी समुदायलाई जातीय क्षेत्रीय साम्प्रदायिक भड्कावको कुरा गरेर भोट् माग्न थाल्यो, कुनै सभ्य मुलुकमा हो भने तिनका जातीय क्षेत्रीय नारा लगाएको आरोपमा यतिबेला जेलमा हुने थियो तर नेपाल हो यहाँ सबै चल्छ, मलाई तिनको साम्प्रदायिक भाषण सुनेपछि यिनी प्रति असहमति हुँदाहुँदै पनि दया पलाएर आयो !
(४) अर्को साम्प्रदायिक नारा दिएर नेपालमा जातीय द्वन्द्व गराउन खट्ने पात्र आङ्काजी शेर्पाले समेत यिनले जिते छ भने म राजनीतिक जीवन बाट नै संन्यास लिन्छु भनेर बोलेको अन्तर्वार्ता देखें, यो देखेपछि त झन् यिनी प्रति माया लाग्दै पो आयो !
(५) उपत्यकाको नेवारी गूठी (जो नेपालको बामपंथी पार्टीको अप्रत्यक्ष भातृसंस्था जस्तो हो) बसेर केशव स्थापितलाई जिताउने भनेर निर्णय गरे, त्यो निर्णय त्यही जातीय नाराको करामत थियो तर बालेन शाहको अहिले आइरहेको मत परिणामले के देखायो भने अबको नेवारी युवा पुस्ताहरू हिजोको जस्तो पद्मरत्न तुलाधरले आँखा सन्काएको भरमा दौडिने युग बाट माथि उठेर आफ्नो विवेक प्रयोग गर्न थालेछ भन्ने एउटा सकारात्मक सन्देश मतदानमा आएको अंक गणितले देखाउँदै छ जुन भविस्यको लागि एउटा सकारात्मक पक्ष हो । अन्तमाः बालेन शाहले जसरी मत परिणाम ल्याइरहेको छ आशा छ यो क्रम जारी रहोस् चुनाव जितोस् ताकि मैले गरेको अविस्वास मेरो आशंका मैले पाइरहेको सूचना सबैको एक मुष्ठ जवाफ बालेन शाहको कामबाट प्रमाणित होस् !!
आशावादी बनौं !!
हाम्रो पुस्ता भनेको नेताको भाषण हुँदै छ रे बजारमा भनेपछि जोती रहेकोे हलो बारीको पाटामा फालेर नेताको भाषण सुन्न दौडिदै गाउँ बाट बजारमा पुग्ने पुस्ता हो । हाम्रो पुस्ता यस्तो पुस्ता हो स्वदेशी भन्दा बिदेशी लेखक दार्शनिकहरूको किताब घोकेर साम्यवादी पुँजीवादी क्रान्तिका गफ लगाउँदै आफ्नै मुलुकको कर्णालीमा के भइरहेको छ थाहा नपाउने तर पाकिस्तानमा भुट्टो लाई फाँसीमा चढायो भनेर रत्नपार्कमा ढुंगामुढा गर्ने पुस्ता हौं हामी !! माओत्सेतुङ र तेङसियाओ पिङ्को अन्तर्विरोध ठम्याउने लिनप्याओको काण्ड बुझ्ने स्टालिन र ख्रुस्चेवको उतारचढाव बुझ्ने तर स्वदेशमा मातृकाप्रसाद कोइराला डाक्टर के आई सिंहको बिद्रोह खम्पाली काण्ड देखि यावत नेपालको भूराजनीतिक तानाबाना केही पनि नबुझ्ने हरि लन्ठुक पुस्ता रहेछौं हामी !!
हामी विद्वान् रहेछौं तर सामाजिक संजालमा भाइरल हुने पुण्य गौतम विद्वान् जस्तो !! तपाईंले अहिले पुण्य गौतमलाई एउटा विषय दिएर बोल्न लगायो भने एक घण्टा पानी मुखमा नहाली एक दर्जन बिदेशी लेखकको पुस्तकको उदाहरण दिई–दिई बोल्सेभिक क्रान्ति देखि फ्रान्सेली क्रान्ति हुँदै माओत्सेतुङको साँस्कृतिक क्रान्ति सम्म ! ल्याटिन अमेरिकामा चलाएको चे गुयभारा बाट थालेर पेरुको गोन्जालोको साइनिङ पाथ सम्म ! चारु मजुम्दारको बर्ग शत्रु सफाइ अभियान बाट झापाली खुकुरी काण्ड हुँदै प्रचण्डको महान जनयुद्ध सम्मको बखानमा धारा–प्रवाह जान्छ‘ !! हो÷ हामी यही पुस्ताका गफाडी विद्वान प¥यौं !!
तर हामीलाई नेपाल के हो ? भनेर कहिल्यै सिकाएन सिकेन छौं ! नेपालीहरू के हो भनेर कसैले बुझाएन ! हाम्रो परराष्ट्र निति कस्तो हुनुपर्छ, हाम्रो आर्थिक पक्ष के हो हाम्रो कम्जोर पक्ष के हो हाम्रो सबल पक्ष के हो हामी कहाँ उभिन सक्छौं भनेर व्यवहारिक कुरा कहिल्यै सिकाएन हाम्रा अघिल्लो पुस्ताहरूले ! हामीलाई उग्र उग्र कुरा गर्न सिकाएछ ठुला–ठुला सपनाको गफ मात्रै सुनाए जस कारण हामीले आफ्नो धरातल बिर्सेर चिया पसलमा घण्टौं गफ लडाउने गफाडीलाल बन्न पुग्यौं ! हो हामी गफाडी पुस्ताका प¥यौं ! त्यसैले विभिन्न दर्शन÷वाद÷विचारधाराका नाउँमा बाँधिएका मानसिक बन्दी बन्न पुगेछौं हामी सिद्धान्त आस्था बिचारधाराका नाउँमा बन्दी प¥यौं !!
यस्तो मानसिक बैचारिक बन्दीले नेपाली समाजलाई पनि लामो समयसम्म मानसिक बन्दी तुल्याई राखे, र हिजो पनि हाम्रो समाजमा हजारौं होनहार समाजसेवी बालेन्द्र शाहहरू थिए हर्क साम्पाङहरू थिए गोपालहरू पनि थिए तर हाम्रो पुस्ताका मानसिक बन्दीहरूले तिनीहरू माथि अन्याय गरि रहे ! त्यस्ता समाजसेवीहरूलाई हाम्रो समाजले ‘भोट त दिन हुन्थ्यो तर सिद्धान्त मिलेन !!’ ‘मान्छे त राम्रो हो तर पार्टी फरक प¥यो !!’ यस्तो भन्ने हाम्रो बन्दी समाज थियो, ब्यक्ति असल खराब छुट्याएर हेर्ने होइन पार्टीको झण्डा हेर्ने गर्नाले हाम्रो युगको गुलामी समाज बाट धेरै बालेन्द्रहरू धेरै हर्क साम्पाङहरू धेरै गोपाल हमालहरू ओझेलमा परेर गए या त एउटा न एउटा पार्टीको झण्डा ओढेर खुम्चिनु बाध्य भए ! यसपटकको स्थानीय निर्वाचनले के देखाउँदै छ भने हिजो हामीले समाजलाई बनाएको झोले मानसिक गुलामी समाज बाट बिस्तारै हाम्रो आजको युवा पुस्ताहरू अब डिजिटल युवा पुस्तामा रूपान्तरण हुँदै गइरहेको देखिन्छ, एक घर एक पार्टी भएको हाम्रो नेपाली समाजमा बालेन्द्र गोपाल साम्पाङहरूको उदय हुनु भनेको चानचुने कुरा होइन यो आजको परम्परागत समाजलाई पार्टीकरण जातिकरण क्षेत्रीयकरण गरेर समाजलाई बिभक्त बनाएको समाजमा एउटा स्वतन्त्र नागरिकको रूपमा उदय हुनु बिजय हुनु भनेको भविस्यको उज्ज्वल लक्षण हुन् । घना शहरी इलाकामा फैलिएको यो स्वतन्त्रता अभियान अब बिस्तारै ग्रामीण इलाकामा पनि भावी दिनमा बिस्तारै बिस्तार हुँदै जानेमा आशावादी बनाएको छ, आशा राखौं ब्यक्तिको योग्यता क्षमताको कदर हुने अयोग्य व्यक्तिहरू बदर हुने सुन्दर समाज निर्माण हुँदै जालन भनेर !
नेपाली वीर बहादुरहरू
मोदीको लुम्बिनी भ्रमण शिर्षकको पोस्टमा बुद्ध वाज बर्न इन नेपालको बेतुकको पश्चिमी परियोजना अब खिया लाग्यो स्वंय भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको दर्शन गरिसकेपछी भनेर लेखेको पोस्टमा धेरैले कमेन्टमा भारतले बनाएको नयाँ लुम्बिनी (नक्कली बुद्ध जन्मस्थल) बारेमा तपाईंको के बिचार छ ? भनेर कमेन्ट आएको थियो, सर्वसाधारणको सामान्य प्रश्न थियो मैले छोटकरीमा प्रतिक्रिया राखेर प्रत्युत्तर दिएका थिएँ, तर हिजो एकजना साथीले बालेन शाहको यो भिडियो पठाउनु भयो हेरें उनले पनि अन्तर्वार्तामा यही बालशुलभ कुरा पो गर्दै रहेछ, यस्तो कुरा सुनेर खित्का छोडेर हाँसु की हामी नेपालीको नियति देखेर रोउँ ? बडो दुबिधामा पर्छु !! बालेन शाहले पुरातात्विक महत्व बारेमा चिन्ता लिएको प्रशंसायोग्य छ त्यसको म दिल खोलेर सम्मान गर्छु तर बुद्ध जन्मस्थल लुम्बिनीको इटा चोर्दै भारतमा लगेर नयाँ लुम्बिनी बनाउँदै छ रे ! सबै इट्टा उतातिर पुगेपछि त उतै लुम्बिनी भन्ने हुन्छ रे !! बालेन जत्तिको भाइरल युवाले पनि यस्तो आलोकाँचो कुरा गरेको देख्दा खित्का छोडेर हाँसु की रोउँ भएँ !
विवादको बिषय ः
विवाद त होइन तर भारतले बेला बेलामा विवादास्पद बनाउँदै आइरहेको मुद्दा तिलौराकोट सम्बन्धमा हो, प्राचीन कपिलवस्तु भित्र पर्ने तिलौराकोटमा जहाँ बुद्धको राजदरबार थियो जहाँ बुद्धको आफ्नो २९ वर्ष समय व्यतीत गरेको थियो, यही राजदरबार रहेको तिलौराकोट नेपालमा नभई त्यहाँबाट नजिकै रहेकोे उत्तर प्रदेशको पिपरहवामा हो भनेर भारतिय पक्षले बेला बेलामा औपचारिक अनौपचारिक दावी गर्दै आइरहेको छ, भारत पक्षले दावी गर्नुको कारण पिपरहवामा सन् १८९८ मा एउटा प्राचीन स्तूप फेला पर्नु हो, उक्त स्तुपा भित्र बाट बुद्धको अस्थि–भस्म राखेको प्रस्तर–कलश प्राप्त गरेको थियो जुन कलश भित्र पाँचौ ई.पू ब्राह्मी लिपीमा लेखिएको एक अभिलेख पनि पाइएको थियो जसमा लेखिएको थियो । इयं सलिलनिधने बुधसभगवते सकियनं सुकितिभतिनं सभागिणकिनं सपुत दलनम् अर्थात् ‘भगवान बुद्धको भस्मावशेष मा यो स्मारक शाक्यवंशीय सुकिति दाजुभाइ दिदीबहिनी बालबालिका महिलाहरूले स्थापना ग¥यो ।’ अहिले यो ‘भस्मकलश लखनऊ’ संग्रहालयमा लगेर सुरक्षित साथ राखेको छ । भारतिय पक्षले यही स्तुपा र त्यहाँ फेला पारिएको भस्मकलश बुद्ध कालिन इटा रहनुलाई मौर्य वंशीय क्षत्रीयको राजधानी पिप्पलिवाहन नै पिप्पली हुँदै पिपरहवा भएको हो भन्ने तर्क राखेर पिपरहवामा रहेकोे स्तुपा त्यस वरपरका पुरातात्विक ढिस्काहरू देखाएर प्राचीन तिलौराकोट भारतको पिपरहवामा पर्छ भनेर बेलाकुबेला केही केही भारतियहरू कुर्लने गर्छन् तर उनीहरूको यो दावीलाई तिलौराकोटमा उत्खनन गरेपछि तिलौराकोटमा पाइएका राजा शुद्धोधनको दरबारको प्रष्ट रूपमा प्राप्त गरेको भग्नावशेष र पुरातात्त्विक सामग्रीहरूको पुरातत्वविद्हरूले तुलनात्मक अध्ययन गरेर तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको सिद्ध गरिसकेको अवस्था छ । पिपरहवामा हुयेन साङ्ले चित्रण गरेको एवं बौद्ध ग्रन्थहरूमा उल्लेख भएको भौगोलिक विवरण पाइदैन तर तिलौराकोटमा भौगोलिक दृष्टिले कपिलवस्तु नदी किनारमा रहेको र त्यहाँबाट उत्तर तर्फ हेर्दा हिमाल देखिन्छ भन्ने उल्लेख पाइन्छ, तिलौराकोटमा बौद्ध ग्रन्थमा उल्लेख भएको सबै संकेत पाइन्छ, तिलौराकोटमा राजा–रानी दुबैको स्तूपा देखि सम्राट अशोकले राखेको ढुङ्गाका स्तम्भहरू निग्लिहवा र गोटीहवामा छन्, तर भारतले दाबी गरेको पिपरहवामा प्राचीन कपिलवस्तुको बारेमा उल्लेख भएको भौगोलिक विवरण पाइदैन न त कुनै शिला स्तम्भ ।
यसै सन्दर्भमा दिपक आचार्य अन्नपूर्ण पोस्ट (२०७५असोज १४) मा लेख्छन्, ‘लामो समय तिलौराकोटको उत्खननमा खटिएका दु्रराम विश्वविद्यालयका प्रोफेसर रबिन कनिङ्म भन्छन्, ‘उत्खनन जुवा खेल्नु जस्तै हो । तिलौराकोटको खालमा हामीले बाजी मा¥यौं ।’ बुद्धजन्मस्थल लुम्बिनीमा कनिङ्घमले बोलेका यी कुराले तिलौराकोटको भ्रम हटेको छ । तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ । तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन् । ती दरबार, पूर्वी द्वार र पश्चिमी द्वार हुन् । यी स्थानमा प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ । यही नै यसको प्रमुख आकर्षण हो । तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुने लयमा छ । २०१४ सालदेखि तिलौराकोटको उत्खनन तथा अन्वेषण भइरहेको छ । अहिलेसम्म पाँचौं पटक तिलौराकोटमा उत्खनन भएको हो । उत्खननले प्राचीन तिलौराकोट दरबारका थप प्रमाण भेटिएका छन् । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि नै व्यवस्थित सहर रहेको तथ्य भेटिएको उत्खननमा सहभागी पुरातत्वविद् बताउँछन् । बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ । तर त्यसअघि नै यहाँ मानव सभ्यता र सहर रहेको पुष्टि भएको पुरातत्वविद्को भनाइ छ । दरबार क्षेत्रमा लगातार गरिएको पाँचौं पटकको उत्खनन र अन्वेषणले प्राचीन कपिलवस्तु बुद्धकालीन समयभन्दा अघि नै मानव सभ्यताको विकसित सहर भएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए । ‘यहाँ आठौं शताब्दीमै मानव बस्तीको विकास भएको देखिएको छ’, उनले भने ।
पुरातत्व विभाग, बेलायतको दुराम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय÷अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि यो तथ्य बाहिर आएको हो । ‘युनेस्को जापानिज फन्ड इन ट्रस्ट’को आर्थिक सहयोगमा करिब चार वर्षदेखि भइरहेको उत्खननले उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएका छन् । त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ । पाँचौं शताब्दीमा आएका चिनियाँ यात्री फाइयान र सातौं शताब्दीमा आएका हुवेनसाङले आफ्नो यात्रा विवरणमा उल्लेख भएअनुसारकै प्राचीन भग्नावशेष फेला परेको पुरातत्व विभाग प्रमुख कृष्ण केसी बताउँछन् । दरबारको सुरक्षा पर्खाल भित्रै व्यवस्थित सहर र घरका भग्नावशेषसमेत फेला परेका थिए । तिलौराकोटभित्र बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन् । ठाउँठाउँमा ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन् । दुवै चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका धेरै वस्तु पाइएपछि बुद्धस्थलको ऐतिहासिकता पुष्टि भएको पुरातत्वविद् कोषप्रसाद आचार्यको भनाइ छ । तिलौराकोटसहितका बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनी बताउँछन्, भनेर लेख्नुहुन्छ ।
राजा सुद्धोदनको राजप्रासाद तिलौराकोट भन्नेमा कुनै विवाद छैन तर पिपरहवामा पनि मुद्दा उठेपछि सन् १९०१ मा तिलौराकोट सम्बन्धि अन्यौललाई मेटाउन भारत सरकारले वरिष्ठ पुरातत्त्वविद् पि.सी. मुखर्जीलाई ती दुवै ठाउँको उत्खनन् गर्न पठाएको थियो, उनले दुवै ठाउँको उत्खनन् गरेर विस्तृत रिपोर्ट प्रकाशित गरी तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको फेरि प्रमाणित गरेर गएका थिए, उनको त्यो रिपोर्ट प्रकाशित भएपछि तिलौराकोट सम्बन्धि विवाद रहेकोे छैन । नयाँ लुम्बिनी बनाउन खोज्यो भारतले भन्दै नेपालमा बेला बेलामा होहल्ला हुने यही विषय हो, कुरा आग्राको छ गाग्राको हल्ला हुन्छ नेपालमा ! मेरो भान्जोले ठोरीमा वन्यजन्तु रोक्न तारबार लगाएको थियो हल्ला चाहिँ उत्तर कोरिया र दक्षिण कोरियाली सिमानामा लगाएको अजंगको काँडेतारको फोटो राखेर एउटा वार्ड अध्यक्षले भारतको सिमानामा यस्तो तारबार लगाएर देखाई दियो !! भन्दै हल्ला गर्ने हामी बहादुर गोर्खे प¥यौं !!
कतिसम्म लाजमर्दो कुरा भने बालेन शाह जतिको ब्यक्तिले पनि लुम्बिनीको इटा चोर्दै भारतमा पु¥याएपछि– पछि गएर लुम्बिनी उतै हुन्न ? रे !! माओत्सेतुङ जन्मेको शाओशान गाउँ बाट त्यहाँको माटो ढुंगा अथवा माओत्सेतुङको घरको दलिन खम्बा हामीले ट्रकमा हालेर ल्याएर ललितपुर तिर थुपारेर माओत्सेतुङ जन्मेको यहीँ हो भन्दा ललितपुर नै ठहर हुन्छ र ? हजरत मोहम्मदको जन्मस्थल मक्का बाट बालुवा ढुंगा बोकेर ल्याएर रसुवामा थुपारेर मोहम्मदको जन्मस्थल रसुवामा सर्छन् र ? लुम्बिनीको इटा ढुंगा माटो जतासुकै लगे पनि बुद्ध जन्मस्थल गर्भगृह त त्यहीँ हुन्छ होइन र ? र पिपरहवामा जुन प्राचीन बुद्धको भस्म राखेको स्तुपा छ त्यसलाई बौद्ध पर्यटन तान्न संरक्षण प्रवर्द्धन गरेर भारतले बगैंचा बनाएर सुन्दर पारेको छ त्यो नयाँ लुम्बिनी तयार गरेको होइन तिलौराकोटको राजप्रासाद यतै हो भनेर दाबी गरेको मात्रै हो जुन अहिले यो मुद्दा पनि मत्थर भएर गइसकेको छ । कमसेकम यस्तो विषयमा बोल्दा सुन्ने मान्छेलाई हाँसो लाग्ने गरि नबोलौं अलिकति बुझेर बोलौं हुन त कवि भुपी शेरचनको एउटा कवितामा
हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं ।
अन्तमाः नेपाली वीर बहादुरहरूलाई यति भन्न चहान्छु तपाईंहरू वीर बन्नुहोस तर बुद्धू नबनी वीर बहादुर बनी दिनुहोस् भन्ने कामना गर्दछु !!
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल