Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिचौलिया र कर्मचारीलाई भिजिट भिसाको सेटिङ सहज हुदै

काठमाडौँ । भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । त्यस्ता कागजातहरू जुटाउन पर्यटक भिसामा आफन्त भेट्न अथवा घुम्नकै लागि जानेहरूका लागि धौधौ पर्छ । तर, बिचौलियाहरूले त्यस्ता कागजात सहज रूपमा तयार गर्न सक्छन् ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार २०८० माघ १० देखि लागु हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातबारे मापदण्ड लागु गरिएको थियो । मापदण्ड अनुसार पर्यटक भिसा तथा भिजिट भिसामा जाँदा दुईतर्फी हवाई टिकट, ५ सय अमेरिकी डलर बराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभरका लागि होटल बुकिङ गरेको प्रमाण देखाउनुपर्छ । त्यस्ता कागजात सर्वसाधारणले सहज रूपमा बनाउन सक्दैनन् ।

यही अवस्थाको फाइदा उठाएर बिचौलिया र अध्यागमनका कर्मचारीले पर्यटक भिसाको नाममा उक्त मापदण्डमा टेकेर सेटिङमा विदेश पठाउने र असुल्ने धन्दा चलाएका छन् ।

काठमाडौँ उपत्यकाका केही ट्राभल एजेन्सी र मेनपावर एजेन्टहरूले ५ सय अमेरिकी डलर साटेको छाप लगाएर यात्रुलाई पासपोर्ट दिन्छन् । एउटै रकम घुमाएर उनीहरूले बैंकमार्फत छाप लगाउने गरेको अध्यागमन विभागका एक जना उच्च अधिकृतले बताए । उनले भने, डलर साटेको छाप देखाएपछि रकम देखाउनु पर्दैन । बिचौलियाहरूले एउटै रकम धेरै जनाका लागि घुमाइरहन्छन् ।

कतिपयले फर्जी छाप लगाएर पठाउने गरेको पनि आरोप छ । यात्रा अनुमति पाउनुअघि दुईतर्फी हवाई टिकट र होटल बुकिङ भएको कागजात पेस गर्नुपर्छ । बिचौलियाहरूले एयरलाइन्सका कर्मचारीहरूसँग मिलेर फर्किने टिक बुकिङ गर्ने र काठमाडौँबाट यात्रु उड्नासाथ रद्द गर्ने गरेको गृह मन्त्रालयका एक जना अधिकृत बताउँछन् । ती अधिकृतले भने, त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको यात्रु उड्नासाथ टिकट क्यान्सिल गर्न मिल्छ, त्यसमा एयरलाइन्सका कर्मचारीको पनि मिलेमतो हुन्छ ।
होटल बुकिङ पनि क्यान्सिल गर्न मिल्छ । बिचौलियाहरू गन्तव्य मुलुकको होटलबारे जानकार हुन्छन् र त्यस्तो कागजात तयार गरेर क्यान्सिल गरिदिन्छन् । मापदण्ड यात्रु अनुकूल नभएको गुनासो आएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले बताए । रिजालले रातोपाटीसँग भने,मापदण्ड नै नबनाएको भए बरु वास्तविक यात्रुले कम दुःख पाउने थिए भनेर कुराचाहिँ उठेको छ ।

बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले मापदण्डमा टेकेरै यात्रा अनुमति दिने गरेका छन् । अख्तियारले छानबिन थालेपछि पनि मापदण्ड पुगेको भन्दै खाडीमा घरेलु काम गर्न जाने महिलाहरूसँग ६० हजारसम्म असुल्न थालेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरू बताउँछन् ।

एक जना अधिकृतले भने, पहिलेजस्तो खुला रूपमा चाहिँ छैन तर, एकादुई माहिलालाई ६० हजारसम्म लिएर पठाउने गरेको पाइन्छ ।

विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थ भट्टराईमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । भट्टराईमाथि छानविन सुरु भएपछि विमानस्थल अध्यागमन कार्यालयमा विष्णु कोइरालालाई प्रमुखका रूपमा पठाइएको थियो । दुई महिना पूरा नहुँदै असार ३१ मा कोइरालाई गृह मन्त्रालयले हटाएर त्यहाँ सहसचिव नरहरी घिमिरेलाई पठाएको छ ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई पनि सरुवा गरिएको छ । महानिर्देशकमा रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयस्थित शान्ति सुरक्षा महाशाखाको प्रमुखबाट अध्यागमनमा विभागमा सरुवा भएका हुन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल