Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिपी नातिनीको राजतन्त्र मोह

काठमाडौं । बिपी कोइराला अर्थात नेपाली कांग्रेसका संस्थापक। नेपालमा राणा र पञ्चायतविरूद्धको आन्दोलनका प्रमुख सुत्रधार। राणाविरूद्ध भएको २००७ सालको क्रान्तिमा महत्वपूर्ण योगदान दिएका बिपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन्। कोइराला परिवारकै एक सदस्य हुन्, मनिषा कोइराला। ९० को दशकको चर्चित हिन्दी सिनेमाहरूमा काम गरेर उनी बलिउडमा स्थापित भइन्। एक सशक्त र यथार्थमूखी अभिनयका कारण एक कुशल अभिनेत्रीको रूपमा चिनिइन्। बलिवुडमा आफ्नो पहिचान र छवि बनाए पनि मनिषाको परिचयसँग सँधै जोडियो– बिपी, नेपाली कांग्रेस र कोइराला परिवारको लिगेसी। बिपीकी नातिनी भए पनि मनिषाले धेरै पछिसम्म आफ्नो राजनीतिक विचारधारा अभिव्यक्त गरेकी थिइनन्।
मंसिर ४ गते हुनलागेको आम निर्वाचनको प्रचारप्रसार तिब्र भइरहँदा शुक्रबार मनिषा राप्रपाको पक्षमा चुनावी अभियानमा झुल्किइन्। वसन्तपुरमा राप्रपाको चुनावीसभालाई सम्बोधन गर्दै मनिषाले बिपीको पनि नाम लिइन्। ‘अरूले बिर्सिए होलान् तर राजेन्द्रजीले बिर्सिनुभएको छैन बिपीबालाई,’ मनिषाले भनिन्। राजेन्द्र लिङ्गदेनको भ्रष्टाचार नगर्ने नीतिबाट प्रभावित भएर आफू चुनावी अभियानमा सहभागी भएको बताइन्। बिपीले पनि राजासँग मेलमिलापको नीति लिएको स्मरण गर्दै उनले राजासँग सहकार्य गर्ने मौका आएको दाबी गरिन्। त्यसअघि बिहीबार उनले ट्विटरमार्फत आफ्नो व्यस्तताका बाबजुद ‘राजेन्द्र लिङ्गदेनजस्तो युवा, प्रगतिशील तथा दूरदर्शी नेता’ को साथमा उभिने घोषणा गरेकी थिइन्।
देशमा गणतन्त्र स्थापाना भएर कार्यान्वयनमा आएको डेढ दशकभन्दा बढी भइसके पनि मनिषाको झुकाव राजातिर ढल्किएको छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीबीच भएको १२ बुँदे समझदारीपछि पाँच दशक बढी शासन गरेको राजतन्त्र अन्त्य भयो। तर, मनिषा भने देशको संरक्षणका लागि राजतन्त्रलाई जरूरी देखेकी छन्। आफू राजनीतिमा र राष्ट्रिय कर्तव्यप्रति बिपीबाट प्रेरित भए पनि देशको संरक्षणका लागि ‘राजतन्त्र र लोकान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिने’ विचार मनिषाले अघि सारेकी छन्।
जबकि उनकै परिवारका बिपीपुत्र शशांक, शेखर, सुजातालगायतका नेताहरू गणतान्त्रिक नेपालमा फेरि राजा फर्किन्छन् भन्ने ‘दिवास्वप्न’ हेर्न नहुने कैयौंपटक सुनिएको छ। बिपी परिवारको विरासत बोकेकी मनिषा राजतन्त्रको पक्षमा उभिएको उनीमाथि प्र्रश्न सोझिएका छन्। र, उनको अभिव्यक्तिको विरोधमा टिकाटिप्पणी भएका छन्। ‘प्रजातन्त्र ल्याउन जीवन उत्कर्ष गरेका पुर्खाको सन्तानले राजतन्त्रको समर्थन’ गर्ने मनिषा–कदमको विरोध भएको छ।
नेपाली कांग्रेसले ‘बिपीको नीति र सिद्धान्त सबै त्यागेकाले उनका सन्तानहरू लाखापाखा लागेको’ लेखक बद्री खनालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। पेशल पोखरेल नाम गरेका ट्विटर प्रयोगकर्ताले, राप्रपालाई समर्थन जनाएकै कारण ‘मनिषा कोइरालालाई हरेक वर्ष गाली वर्षनसक्ने’ अनुमान गरेका छन्। केहीले भने उनलाई समर्थन जनाएका छन्।
साधक अमर नाम गरेका व्यक्तिले ‘कांग्रेसले प्रचण्डपथ बोकेर हिँडेपछि बिपी मार्गलाई जोगाउन उनकी नातिनीले राप्रपालाई समर्थन गरेको’ उल्लेख गरेका छन्। कुनै राजनीतिक दलका लागि खुलेर मत मागेको यो पहिलोपटक भए पनि उनले यसअघि पनि आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधर रहेको संकेत गरेकी थिइन्। गत वर्ष पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमका लागि छापिएको प्रचार सामग्रीमा उनको पनि नाम र हस्ताक्षर समावेश थियो। हुनत दलीय स्वतन्त्रता भएको मुलुक नेपालमा कुनै पनि व्यक्ति आफूले रोजेको दलको पक्षमा लाग्नु व्यक्तिगत स्वतन्त्रता हो। तर, बिपी परिवारसँग आवद्ध मनिषा राजतन्त्र पक्षधर राप्रपातर्फ लागेपछि प्रश्नहरू तेर्सिएका हुन्।
घोषित रूपमै कुनै राजनीतिक दलको समर्थन गर्नु वा त्यसमा आवद्ध हुनु हरेक मानिसको स्वतन्त्रता र अधिकारको विषय भएको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतमको भनाइ छ। पारिवारिक दबाब वा प्रभावमा आएर विचार बनाउनुभन्दा आफ्नो रोजाइअनुरूप पक्षधरता लिन पाउने गौतम बताउँछन्। मनिषा नेपाली कांग्रेसको ‘लिगेसी’ बोकेको परिवारकी सदस्य भएकाले कतिपयले उनको आलोचना गरिरहेका छन्। यद्यपि उनका बुवा प्रकाश कोइराला पनि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने बताइन्छ। यस्तै उनका काका शशांकले पनि कांग्रेसभित्रै रहेर हिन्दु राष्ट्रको विषयमा मत राख्दै आएका छन्।
पछिल्लो समय वामपन्थी दलहरूलाई समावेश गरेर गठबन्धन बनाएपछि कांग्रेसको समेत आलोचना भइरहेको छ। कतिपयले यो कदमबाट कांग्रेस संस्थागत र सैद्धान्तिक हिसाबले विचलनको बाटोमा अगाडि बढिरहेको तर्कसमेत गरेका छन्। खासगरेर प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय माओवादीका लागि भोट माग्न थालेपछि कांग्रेसलक्षित यस्ता टिप्पणीहरू हुनथालेका छन्।