Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिरासत जोगाउने एमालेको प्रयास

काठमाडौँ । सत्ता गठबन्धनको एकता भत्काउन नसक्दा यतिखेर एमालेलाई साथी खोज्ने चटारो शुरु भएको छ । बाहिर भन्दा सबै मिले पनि हामीलाई फरक पर्दैन भनेको एमाले भित्रभित्रै भने सानातिना दलको सहारा खोज्दैछ । प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न स्थानीय तह निर्वाचनमा तालमेलका लागि कसरत सुरु गरेको छ । ०७४ को विरासत जोगाउँदै पहिलो शक्ति बन्ने महत्त्वाकांक्षी लक्ष्य राखेको एमालेले आगामी निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनको सामना गर्दै छ । केन्द्रीय तहमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरूसँग सहकार्यका लागि संवाद अगाडि बढाएको हो । पाँच दलविरुद्ध एक्लै प्रतिस्पर्धा गर्ने केन्द्रीय कमिटीको मूल निर्णय भए पनि स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सक्ने विकल्प राखेको एमालेले विभिन्न दलसँग संवाद गरिरहेको छ । केही दलका शीर्ष नेतासँग एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले र केहीसँग उनीनिकट नेताहरूले संवाद गरेका छन् । ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका महामन्त्री धवलशमशेर राणासँग आफैं वार्ता गरेका छन् । नेताहरूका अनुसार एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच विभिन्न चरणमा बालकोटमा वार्ता भएका छन् । थापा नेतृत्वको राप्रपा नेपालको बुधबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनमा एमालेसँग तालमेललाई प्राथमिकतामा राख्ने र तालमेल भएका स्थानमा साझा चुनाव चिह्न लिएर उठ्नेबारे टुंगो लगाउने जिम्मा पदाधिकारी बैठकलाई दिने औपचारिक निर्णय गरेको छ । उक्त निर्णयपूर्व ओली र थापाबीच भेटवार्ता भएको थियो । राप्रपा नेपालका सहायक महामन्त्री राजाराम बर्तौलाले सहयोग आदानप्रदानका लागि ओली र थापाबीच भेटघाट र सम्पर्क भइरहेको बताए । उनका अनुसार वार्ताका लागि राप्रपा नेपालबाट सुशील श्रेष्ठ र एमालेका तर्फबाट देवेन्द्र दाहाललाई जिम्मा दिइएको छ । राप्रपा नेपालका नेताहरू सत्ता गठबन्धन सशक्त भएर अगाडि आइराखेकाले एमालेसँगको सहकार्य अपरिहार्यजस्तो बनेको निष्कर्षमा पुगेका छन् । एमाले अध्यक्ष ओलीले चैत १७ मा नेपालगन्जमा राप्रपा महामन्त्री राणासँग तालमेलबारे छलफल गरेका थिए । छलफलमा उनले दुई पार्टीबीच स्थानीय, प्रदेश र संघीय चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताएका थिए तर एमालेका तर्फबाट यसबारे औपचारिक धारणा सार्वजनिक भएको छैन । तालमेलबारे औपचारिक प्रस्ताव नआएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । एमाले उपाध्यक्ष विष्णु पौडेलले भने दुवै राप्रपासँग चुनाव केन्द्रित छलफल नभएको दाबी गरे । एमाले र राप्रपाबीच २०७४ सालको संघीय निर्वाचनमा झापा जिल्लामा तालमेल भएको थियो । तालमेलकै बलमा ओली अत्यधिक मतले विजयी भएका थिए भने लिङ्देनले पनि चुनाव जितेका थिए । दुई राप्रपाबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग पनि तालमेलका लागि अनौपचारिक छलफल गरेको स्रोत बताउँछ । लोसपा नेता केशव झाले अहिलेसम्म एमालेसँग चुनावी तालमेलको बारेमा औपचारिक छलफल नभएको बताए । एमाले र नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका केही नेताहरूबीच पनि अनौपचारिक तहमा वार्ता भइरहेको स्रोत बताउँछ । केन्द्रीय कमिटीमा अल्पमतमा परेपछि चन्दले पार्टीलाई सिधै चुनावमा लैजान सकेका छैनन् तर उनको पार्टीले ‘देशभक्त र राष्ट्रवादी’ शक्तिसँग स्वतन्त्ररूपमा सहकार्य गर्ने नीति लिएको छ । बिहीबार नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचन आयोग पुगेर चुनावी प्रक्रियाबारे जानकारी लिएका छन् ।