Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहान ७ बजेबाट मतदान शुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान शुरु भएको छ । उपनिर्वाचन हुने सबै स्थानमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थानको रिक्तस्थानमा सञ्चालन गरिएको उपनिर्वाचन बिहान ७ बजेबाट सौहार्दपूर्ण वातावरणमा शुरु भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदाताले साँझ ५ बजेसम्म मतदानस्थल पुगेर मत दिन सक्ने व्यवस्था मिलाइएको श्रेष्ठले बताए ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।
अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरिएको छ ।
निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।
कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ भने बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।


सम्बन्धित समाचार