Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँडेको आरोपमा पक्राउ परेका हिमाल रसाइली कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको बिहीबारको इजलासले रसाइलीलाई ३ लाख ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनलाई नख्खु कारागार चलान गरिएको छ । उनीसँगै चोरीकै कसुरमा पक्राउ परेका डडेल्धुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोजबहादुर थलाल भने धरौटी बुझाएर रिहा भएका छन् । उनीविरुद्ध न्यायाधीश योङ्याको इजलासले ३ लाख धरौटी माग गरेको थियो । ललितपुरका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरीको आरोपमा धरान उपमहानगरपालिका–१५ घर भएका २५ वर्षीय रसाइलीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ६ मंसिरमा काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो । उनले ल्यापटप चोरी गरेर थलाललाई बेच्ने गरेको खुलेपछि थलाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध परिसर ललितपुर गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ६ वटा चोरीको मुद्दा दायर गरेको थियो । उनीहरूबाट प्रहरीले चोरीका २६ वटा ल्यापटप बरामद गरेको थियो । यसअघि रसाइली १३ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् । त्यतिबेला उनीविरुद्ध ८ वटा चोरी र ५ वटा अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो । अहिले ६ वटा मुद्दा चलाइएकाले उनीविरुद्ध १९ वटा मुद्दा चलिसकेको थियो । ललितपुरमा ल्यापटप चोरीको दुईवटा उजुरी आएको थियो । एउटा उजुरी पुल्चोकस्थित कार्यलयबाट ल्यापटप चोरी भएको थियो भने अर्को झम्सीखेलबाट । दुई फरक ठाउँ भए पनि चोरीको प्रकृति एउटै किसिमको थियो । जाहेरी आएपछि प्रहरीले अनुसन्धान गर्दा चोरी कार्यमा बुलेट बाइकको प्रयोग भएको खुलेको थियो । सीसीटीभी फुटेजमार्फत अनुसन्धान अघि बढाएको प्रहरीले दुई चोरीमा एउटै नम्बर प्लेटको बुलेट मोटरसाइकल प्रयोग भएको पत्ता लगाएको थियो । त्यसपछि रसाइली पक्राउ परेका थिए । उनी बा ५७ प ९७६० नम्बरको बुलेट मोटरसाइकल चढेर चोर्न हिँडेको खुलेको थियो ।
२०८१ पुष ५
ताजा नेपाल
२०८१ पुष ५
ताजा नेपाल
२०८१ पुष ५
ताजा नेपाल