Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बोहरा परिवारबाट उम्मेदवार खोज्दै राप्रपा र रास्वपा

काठमाडौं। रुपन्देही ३ को उपनिर्वाचनमा पूर्वसांसद स्व. दिपक बोहराकै परिवारका सदस्यलाई टिकट दिने तयारी राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहँदा रास्वपाले पनि त्यही परिवारबाट उम्मेदवार खोजिरहेको छ । त्यो परिवारभित्रै तीनजना आकांक्षी उदाएका छन् । बोहराको निधनपछि यस क्षेत्रमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो । अहिले राजनीतिक दलहरू उपनिर्वाचनको उम्मेदवार छान्ने गृहकार्यमा छन् । बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला समितिलाई उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । साथै, वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समितिसमेत गठन गरेको छ । समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् । प्रधान नवलपरासीका हुन् भने थापा, उदय र अली रुपन्देहीकै हुन् । जिल्लालाई उम्मेदवार सिफारिस गर्न भनिए पनि यो औपचारिकताका लागि मात्रै हुने छ । पार्टीले जितेको स्थान नगुमाउनका निम्ति केन्द्रबाटै उम्मेदवारको छिनोफानो हुने स्रोत बताउँछ । स्रोतका अनुसार स्व. बोहराकै परिवारका सदस्यलाई प्रमुख प्राथमिकतामा राखिने छ । स्व. बोहराका दुई श्रीमती, दुई छोरा र एक छोरी छन् । अमेरिकामा बिहे भएकी छोरी जेनीको गत फागुन २ गते निधन भएको थियो । त्यसको दुई महिनापछि बोहरा बितेका हुन् । बोहराका दुवै छोरा प्रज्ज्वल र गौरव उपनिर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेर बुवाको विरासत जोगाउन चाहन्छन् । जेठी श्रीमती मन्जुतर्फका छोरा गौरव पेशाले पाइलट हुन् । उनी बुद्ध एयरमा क्याप्टेनका रुपमा कार्यरत छन् । अब राजनीतिमा मोडिने उनको इच्छा छ । गत आम निर्वाचनमा उनी बुवालाई जिताउन खटिएका थिए । बोहराको पारिवारिक ‘लिगेसी’ लाई धान्दै आएका कान्छी श्रीमती उन्नतीपट्टिका छोरा प्रज्ववल भने आइटी इन्जिनियर हुन् । अमेरिकाको नागरिकता त्यागेर गएको निर्वाचनमा बुवालाई सघाउन आएदेखि उनी यतै बसेका छन् । उपनिर्वाचनमा विजयी भएर बुवाको राजनीतिक उत्तराधिकारी बन्ने उनको पनि चाहना छ । प्रज्ज्वल राप्रपाभित्र सक्रिय पनि छन् । छोटो समयमा पार्टीमा राम्रो पकड बनाएका उनलाई उम्मेदवार बनाउँदा चुनाव जित्न सहज हुने राप्रपाका स्थानीय नेताहरूको बुझाइ छ । निर्वाचनपछि बिरामी अवस्थामा रहेका बुवालाई बोलाइने कार्यक्रममा प्रज्ज्वल जान थालेका थिए । बोहरा जीवित छँदा नै उनको उत्तराधिकारीका रूपमा प्रज्ज्वललाई अघि सार्ने गरी परिवारले तयारी गरेको छनक मिलेको थियो । राप्रपाका धेरै कार्यकर्ताले इलाममा सुवास नेम्वाङको छोरा सुहाङलाई जस्तै यहाँ पनि प्रज्ज्वललाई जिताउन सकिने ठानेका छन् । बोहरा परिवारकी तेस्रो आकांक्षी हुन् स्वाती थापा । राप्रपाकी केन्द्रीय सदस्यसमेत रहेकी उनी दीपक बोहराकी नातिनी हुन् । उनी हजुरबुवाको चुनावी अभियानमा निकै खटिएकी थिइन् । उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी हुने गरेकी छन् । अमेरिकामा अध्ययन गरेर फर्केकी स्वातीले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रम गर्दै आएकी छन् । पारिवारिक स्रोतका अनुसार बोहराका दुई छोरा र नातिनी अहिले काठमाडौंमा छन् । परिवारभित्रबाट साझा उम्मेदवार को बन्ने भनेर उनीहरू आपसी बैठकमा बसिरहेको स्रोतले जानकारी दियो । दुई छोरामध्ये एकको नाममा सहमति बन्ने सम्भावना रहेको बताइन्छ । क्याप्टेन गौरवलाई भने रास्वपाले पनि आँखा लगाइरहेको छ । यदि राप्रपाले टिकट नदिएको खण्डमा उनी रास्वपा उम्मेदवार बन्न सक्ने अवस्था पनि देखिन्छ । गौरवसँग रास्वपाका नेताहरूले विभिन्न चरणमा संवाद गरिसकेका छन् । राप्रपा रुपन्देहीका कार्यकर्ताहरू हलो चुनाव चिह्न लिएर जो उम्मेदवार बने पनि जीत निकाल्ने दाबी गर्छन् । निर्वाचनमा खटिएका नगरस्तरका कार्यकर्ता धनबहादुर खाणले तीनजनामध्ये जो आएपनि ठीकै हुने बताए । राप्रपा लुम्बिनी अध्यक्ष प्रदीप उदयले बुधबारबाट पार्टीले निर्वाचनका विषयमा छलफल थालेकाले व्यक्तिभन्दा आफ्नो शाख जोगाउने रणनीतिअनुसार अघि बढिने बताए ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल