Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्रह्माकुमारी कि भ्रमकुमारी

  • मणि शर्मा

इण्डियाबाट निर्यात भएका धेरै धार्मिक सम्प्रदायहरू छन् जो नेपालको मौलिक धर्म, संस्कृति माथि आक्रमण गरी रहेकाछन् । त्यस मध्ये यौटा हो, ब्रह्माकुमारी ईंश्वरीय विश्वविद्यालय अर्थात् ओम् शान्ति । विश्वविद्यालय सुन्दा यो कुनै धार्मिक विश्वविद्यालय हो जस्तो लाग्छ, तर वास्तवमा यो विश्वविद्यालय न भएर यो सनातन धर्म विरुद्ध चलाईएको विश्वव्यापी अखाडा हो । हामी हाम्रो गाउँघर वा शहरमा प्रजापति ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लेखेको साईनबोर्ड देख्छौं, जस माथि रातो, पहेंलो रङ्घको झण्डा र जसमा अण्डाकार प्रकाश निस्की रहेको चित्र पनि देख्छौं । त्यहाँ ख्रिष्टानहरू जस्तै सेतो धोती लगाएका युवतीहरू पनि देख्छौं । यिनीहरूले धोतीसाडीमा ओम् शान्ति लेखिएको अण्डाकारयुक्त विल्ला पनि लगाएका हुन्छन् ।
यस संस्थाको संस्थापक लेखराज खुबचन्द कृपलानी हुन् । यिनको जन्म सिन्ध प्रान्त हाल पाकिस्तानमा भएको थियो । यिनले त्यहाँ दुष्चरित्रता र अनैतिकताको घोर ताण्डव मच्चाए पछि त्यहाँका जनताले उनलाई त्यहाँवाट लखेटे । उनी त्यहाँवाट ज्यान जोगाएर सन् १९३८ मा कराची भागे । त्यहाँ पनि उनले कुकृत्य गरे र त्यहाँवाट भागे । त्यहाँ पनि जनताले उनलाई लखेटे पछि उनी १५० जना नवयुवतीहरू लिएर माउण्ट आबु (राजस्थान) आए सन् १९५० मा । यहाँ आएर उनले आफ्नो दुराचार र पापाचारको जामालाई धर्मको आवरणमा छोपे । सिन्धमा लेखराजले चलाएको ओम् मण्डली माउण्ट आबुमा आए पछि प्रजापति ईश्वरीय विश्वविद्यालयमा परिणत भयो । यसलाई उनले आफ्नो मुख्यालय बनाए जो २८ एकड जग्गामा छ । आबु पहाडको तल आबु रोडमा यस संस्थामा जोडिएका मानिसहरूको खानबस्नका लागि भवन र हलहरू बनाईयो जा्े ७० एकडमा छ । लेखराजको मृत्यु पछि सन् १९७० मा लण्डनमा यसको यौटा विशेष शाखा खोलियो, पश्चिमा देशहरूमा यसको प्रचारप्रसार गर्नका लागि । सन् १९८० मा यस संस्थालाई इस्कोन जस्तै राष्ट्रसंघमा दर्ता गरियो । यसरि यो एनजिओमा परिणत भयो । राष्ट्रसंघले इस्कोन जस्तै यसलाई पनि फण्ड, कार्ययोजना र पुरस्कार दिन्छ । यसको स्थायी कार्यालय न्यूयोर्कमा छ । इण्डिया बाहिर एक सय देशहरूमा यसको शाखा आठ हजार पाँच सय भन्दा पनि बढी छन् ।
लेखराजले सिन्ध प्रान्तको हैदराबादमा यौटा आश्रम खोले, जहाँ महिलाहरूको आवत जावत शुरु भयो । उनले उनीहरूलाई आफ्नो पति र परिवारलाईलाई त्यागेर आउन भने । जब महिलाहरू घरबार त्यागेर त्यहाँ आउन थाले मानिसहरूले उनलाई न राम्ररी कुटे । ब्रह्माकुमारी बनेका आफ्ना पत्नीहरूलाई पनि कुटे । उनले कोलकाताको यौटा तांत्रिकलाई दश हजार रूपैया दिएर सम्मोहन विद्या सिकेका थिए । उनी यता लागे पछि आफ्नो हीराको व्यापार पनि छोडे । १८ जनवरी १९३९ मा बाह्र तेह्र वर्षकी केटीहरूलाई सम्मोहित गरेर उसले आफूसँग राखेपछि उनीहरूको आमाहरूले कराचीको एडिसनल मेजिष्ट्रेट कहाँ उजुरी गरे । मजिष्ट्रेटले ती बालिकाहरूलाई उनको आमाहरूलाई सुम्पिने आदेश दियो । सिन्धमा लेखराजले जवान केटी तथा अरुको पत्नीहरूलाई आफ्नो काखमा बसाल्ने, सुत्ने, संगै बसाल्ने आदि कुकृत्य गरे पछि ओम मण्डली विरुद्ध जनता सडकमा उत्रेका थिए । बन्धु मण्डली भन्ने संस्थाको प्रमुख मुखी मेघाराम, साधु, टि.एल. वास्वानी आदि लोक सेवकहरूले उसको विरुद्ध धर्ना दिए । लेखराजको कालो कर्तुतको विरोधमा सिन्ध प्रान्तका दुईजना हिन्दू मंत्रीहरूले राजीनामा दिए । त्यस पछि ती महिलाहरूलाई लेखराजको चंगुलबाट छुटाएर उनीहरूको परिवारको जिम्मा दिइएको थियोे । सन् १९३९ मा सिन्ध सरकारले ओम मण्डली माथि प्रतिबन्ध लगाए पछि उनी कराची आए । कराचीवाट भागेर आबु आए पछि जब ठूलाबडा मानिस उनलाई भेट्न आएर उनको प्रशंसा गर्थे तब उनले त्यसको भिडियो बनाएर, फोटो खिचेर प्रचार गरेर मानिसलाई प्रभावित गर्ने गर्थे । यसरि सोझासाझा जनता ऊ प्रति आकर्षित भए ।
ब्रह्माकुमारी संस्थाको उद्देश्य सनातन वैदिक धर्ममाथि धर्मको नाममा आक्रमण गर्नु हो, वैदिक सनातन धर्म माथि घृणा फैलाउनु हो ताकि त्रढी भन्दा बढी सनातन धर्मावलम्बीहरू उनीहरूसंग जोडिउन् । यस संस्थाको माध्यमवाट धर्मान्तरणको भूमिका तयार पारिन्छ । यो हाम्रो शास्त्रहरूको विकृतिकरण गर्न, पुस्तकहरू प्रकाशन, गोष्ठी, सेमिनार, पदर्शनी, सार्वजनिक कार्यक्रम आदि गरेर सनातन वैदिक धर्मलाई विकृतिकरण र यस प्रति अनास्था जगाउने काम गर्ने गर्छ । यसले मानिसहरूको विरोध र आफ्नो कुकृत्य छोप्न कहिलेकाँही औषधी वितरण, नशामुक्ति कार्यक्रम आदि पनि गर्ने गर्छ । मानिसहरूलाई आकर्षित गर्न यसले राजयोग शिक्षा र आध्यात्मिक नवीकरण कार्यक्रम पनि चलाउँछ । यिनीहरूको कार्यक्रम दिनहूँ चल्छ । यिनीहरूको अड्डामा विहान वेलुकी मुरली (भाषण) हुने गर्दछ । यिनीहरूले आफूहरू बस्ने ठाउँका नारीहरूलाई प्रभावित पारेर आफ्नो शिष्य बनाउँछन् र उनीहरू मार्फत अरुलाई विश्वासमा लिई यस संस्थासंग जोड्छन् । सनातन धर्म विरुद्ध आफ्नो तर्क राख्न उनीहरू घरघरै पनि जाने गर्छन्, मेलाहरूमा स्टल राखेर प्रचार पनि गर्छन्, मेलामा मानिसहरूलाई समातेर ल्याउँदै सनातन धर्म विरुद्ध र आफ्नो सम्प्रदायको पक्षमा भाषण पनि दिन्छन् । शुरुशूरुमा पुरुष भन्दा महिलालाई आफ्नो संस्थामा तान्न यिनीहरूको प्रयास गरे । ताकि महिलाहरूले आफ्नो घरको परिवारलाई यिनीहरूको संस्थामा जोड्न सकून् । पछि यिनीहरूले पुरुषहरूलाई आकर्षित पारी आफूतिर तान्छन् । यिनीहरूले सकेसम्म उच्च पदस्थ कर्मचारीहरू, व्यापारी आदिलाई आफूतिर तान्न जोड दिन्छन् ताकि उनीहरूवाट बढी से बढी आर्थिक सहयोग लिन सकून् । नारीमोहमा परी त्यहाँ जानेको संख्या पनि कम हुन्न । शुरुशुरुमा यिनीहरूले आफ्नो संस्थामा अविवाहित पुरुषलाई लिने गर्र्थे, पछि विवाहितलाई पनि लिन थाले । शुरुमा यिनीहरूले यस संस्थामा आए पछि विवाह गर्न हुँदैन भन्थे, पछि गएर विवाहित पुरुष वा नारीले घरमा एकअर्कासंग पति पत्नीको संबन्ध पनि राख्न हुँदैन भन्ने अर्ति दिन्थे । किनकि त्यस संस्थामा गए पछि एकअर्कालाई बहनजी र भाईजी भन्नु पर्छ । तर आफ्नो संस्थामा महिला वा नवयुवतीहरूलाई मात्र बस्ने सुविधा दिन्छन् ।
२५ अगष्ट १८५६ मा म्याक्समुलरले बुन्सनलाई लेखेको पत्रमा ख्रिष्टानिकरणको नयाँ रूप प्रकट हुन्छ । उनले लेखेका थिए, इण्डियामा जुनकुनै विचारले जन्म लिन्छ, शिघ्र नै यो सारा एशियामा फैलिन्छ र कही) पनि दोश्रो स्थानमा ख्रिष्टानिकरणको महान शक्ति बढी शानले बुझ्न सकिँदैन, जतिकि संसार यसलाई (ख्रिष्टानिकरणलाई) फेरि त्यही भूमिमा बढ्दै देखे, तर पश्चिम भन्दा बिल्कुलै फरक ढंगले फेरि पनि मुल रूप उही हो । उनले भन्न खोजेको हो ख्रिष्टानिकरणलाई त्यसैको नामले न भएर सनातन धर्मको आवरणमा फैलाएका छन् ती सबै ख्रिष्टानिकरणकै रूप हो । ब्रह्माकुमारी पनि म्याक्समुलरले भने जस्तै सनातन धर्मको खोल ओढेर ख्रिष्टानिकरणको विस्तारमा लागेको छ । प्रजापति ब्रह्माकमारी ईश्वरीय विश्वविद्यालयवाट प्रकाशित ‘भारत के त्यौहार’ भाग १ र भाग २ मा लेखेको छ, शिवरात्रि प्रजापति ब्रह्मा लेखराजले कल्पको अन्त्यमा अवतरित भएर तमोगुण, दुःख, अशान्तिलाई हरण गर्नु भएको थियो । त्यसैको सम्झनामा शिवरात्रि मनाइन्छ । होली कलियुगको अन्त्यमा र सत्ययुगको शुरुवातमा परमपिता ब्रह्मा लेखराजद्वारा सुख शान्तिको दिन शुरु गरिएको थियो । त्यसैको सम्झनामा होली मनाइन्छ । दाउरा, गोबरको गुँइठा बालेर के हुन्छ ? गाउँहरूमा सँधै बालिन्छ । धेरै शिष्ट मानिसहरूको मनमा यो पर्व प्रति घृणा उत्पन्न भई सकेको छ । यिनको मतानुसार शास्त्रहरूमा झूठो, मनगढन्त कल्पनाहरू छन् । उनले भनेकाछन्, रक्षाबन्धन ब्रह्मकुमारी बैनीहरू उनको ज्ञानद्वारा ब्राह्मण पदमा आसीन भएर दाज्यूभाईलाई राखी बाँध्छन् तथा बैनीले पवित्रताको संकल्पको रक्षा गर्छिन् । रक्षाबन्धन वास्तवमा नारीद्वारा नरको रक्षाको प्रतीक हो, न कि नरद्वारा नारीको रक्षाको । उनको भनाई अनुसार हिन्दू शास्त्रहरूमा रक्षाबन्धन विषयक उल्टो र न चाहिंदो कल्पनाहरूले जकडिएर राखेको छ । मलाई धेरै वर्ष पहिला ओम शान्ति बसेको घरको घरबेटीले भनेका थिए, उनीहरूले छोेडेको मेरो घरको पछाडि पट्टि कण्डोमको थुप्रो थियो । म आफै पोखरा जाँदा ब्रह्मकुमारीमा साथीसँग मेडिटेसन सिक्न जाँदा त्यहाँकी यौटी बैनीले यौनासनवारे जानकारी दिन खोजिन् र भनिन् यौनासन वारे जानकारी भए पछि त्यसै अनुसार सम्भोगवाट तृप्त भए पछि मात्र मेडिटेसनमा जान सकिन्छ । त्यसैले पहिले यौनासन वारे जानकारी गराउँछु । मैले त्यसको प्रतिवाद गर्दै हामीलाई उनले मेडिटेसन सिकाउन भन्दा उनले सेक्सवारे पहिला जानकारी लिनुस् भनेर अडिग भए पछि हामी त्यहाँवाट निस्केर हिंडेका थियौं ।
नवरात्रिको वारेमा भनिएको छ, लेखराजले ब्रह्माकुमारीहरूलाई ज्ञान दिएर दिव्य ज्ञानरूपी शक्तिले सुसज्जित गर्नु भएको छ । अन्त्र्मुखता, सहनशीलता आदि दिव्य शक्ति अष्टभुजा हो । यिनै शक्तिहरूका कारण आदिशक्ति वा शिवशक्ति बनेका हुन् । ब्रह्माकुमारी दुर्गा आदि शक्ति भएर संसारलाई ब्यूझाई रहेकाछन् । यसैको सम्झनामा नवरात्रि मनाइन्छ । दशैंको वारेमा उनको भनाई छ, आत्मारूपी सीता कञ्चनमृगको आकर्षणमा परेर मायारूपी रावणको चंगुलमा फँस्छिन् त्यो समयवाट अहिले सम्म सारा सृष्टि शोकवाटिका बनेको छ । यस्तो समयमा परमात्मा लेखराज आएर ज्ञानको शस्त्रले मायारूपी रावणमाथि विजय दिलाउँछन् अनि मात्र सत्ययुगको राज्य शुरु हुन्छ । पाँच हजार वर्ष अघि लेखराजले यस्तो गर्नु भएको थियो र अझै पनि गरी रहनु हुन्छ । मनुष्यरूपी रामले पनि यही दिन दश विकाररूपी रावणमाथि विजय पाएका थिए । शास्त्रमा वर्णन गरिएको गलत हो, राम, रावण, वानर आदि काल्पनिक पात्र हुन् ।
लेखराजको पालामा नै उनको भाषण मुरली फेरबदल भई रहन्थ्यो र उनको मृत्यु पछि रेकर्ड गरिएका उनका भाषणहरू नष्ट गरियो र बचेका दुईचारवटालाई काँटछाट गरी त्यसलाई सुनाउन थालियो । ब्रह्माकुमारीहरूद्वारा ब्रह्मा, विष्णु र महेशको संयुक्त चित्रमा ब्रह्माको स्थानमा लेखराजको चित्र राखिन्छ । उनको पत्नी यशोदा देवीलाई सरस्वती बनाएर लेखराजको चित्र संगै राखिन्छ । लेखराजको मृत्यु पछि गुलजार दिदीको शरीरमा लेखराज तथा शिवबाबा बसेकाछन् भनेर कुप्रचार गरियो ।
ब्रह्माकुमारी मतमा भनिएको छ, म यस कलियुगी सृष्टिरूपी वेश्यालयवाट निकालेर सत्ययुगी पावन सृष्टि पवित्र शिवमा लै जान आएको हूँ, रामको इतिहास काल्पनिक हो, जप तप, तीर्थ, दान र शास्त्र,अध्ययन आदिले, भक्तिमार्गको कर्मकाण्ड र क्रियाहरूवाट कसैको सद्गति हुन सक्दैन, श्रीकृष्ण नै श्री नारायण हुनु हुन्थ्यो, उनी द्वापरयुगमा जन्मेका होईनन्, पावन सत्ययुगमा जन्मेका हुने । श्रीकृष्ण राम भन्दा पहिलाका हुन् । आत्मारूपी अभिनेता त त्यहीं छन्, कुनै नयाँ आत्माहरू बन्दैनन् । किनकि सबै आत्माहरूको जन्म जन्मान्तरको पार्ट स्वयं आत्मामा नै भरिएको छ, जसरि टेप रेकर्डर र ग्रामोफोन रेकर्डमा कुनै गीत र नाटक भरिएको हुन्छ, त्यसरि नै यो सानो ज्योति बिन्दूरूप आत्मामा आफ्नो जन्म जन्मान्तरको पार्ट भरिएको हुन्छ, परमात्मा त सर्व आत्माहरूको पिता हुन्, उनी सर्वव्यापक छैनन् । यदि परमात्मा सर्वव्यापक छन् भने शरीरवाट आत्मा निस्के पछि पनि परमात्मा त रहन्छ नै, तब त्यो शरीरमा चेतना किन प्रतीत हुँदैन ? अरुको मुख ताक्ने व्यक्ति कुकुर, गधा आदिमा पनि परमात्मालाई व्यापक मान्नु परमात्माको निन्दा गर्नु तुल्य हो । यी जम्मै भनाई लेखराजको साप्ताहिक पाठ्यक्रमको हो । अचेल मानिसहरूले लेखराजको पाखण्ड थाहा पाए पछि वेला वेलामा यसलाई संशोधन गर्दै गएकाछन् । यस्ता संस्थाहरू मनोवैज्ञानिकरूपमा सनातन धर्मावलम्बीहरूलाई विस्तारै ख्रिष्टानिकरण गर्ने वाटोतिर डोराउने लक्ष्यले स्थापना गरिएको हो । सोझा मानिस यस्ता पाखण्डीहरूका पछि लागेर आफ्नो इहलोक मात्र होईन परलोक पनि बिगारी रहेकाछन् । इण्डियामा जति सम्प्रदायहरू छन् त्यसका कथित भगवान, गुरुहरू ढोङ्घी पाखण्डी मात्र होईनन् अपितु ख्रिष्टान मिशनरीहरूवाट सञ्चालित छन् ।