Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भयावह बन्दै कोरोना, एकै दिन ६ जनाले ज्यान गुमाए

काठमाडौँ । ख्याल ख्याल गर्दागर्दै कोरोनाले भयानक रुप धारण गरेको छ । लकडाउन खुकुलो बनाएसँगै फैलिएको संक्रमणले मृत्युदरलाई समेत बढाएको छ । नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ । बुधबार मोरङ र पर्सामा २–२ जना तथा काठमाडौँ र सप्तरीमा १–१ जना संक्रमितको मृत्यु पुष्टि भएको हो । पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना पुरूष र पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाले नै मृत्यु भएको पुष्टि भएको छ । संक्रमणबाट मृत्यु भएका पुरूष मधुमेह र मुटुसम्बन्धी रोगबाट पनि पीडित थिए । युवतीलाई भने पखला लागेको थियो । उनलाई उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तर, उनको मृत्यु कोरोनाले नै भएको बुधबार मात्रै पुष्टि भएको हो ।

मोरङको कोशी अस्पताल, विराटनगरमा पनि २ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई जानकारी दिए । उनीहरूको बुधबार दिउँसो आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले बताए । कोशी अस्पताल विराटनगरका प्रवक्ता डा।लक्ष्मी नारायण यादवका अनुसार विराटनगरका ४५ वर्षका पुरुष मंगलबार बेलुका कोशी अस्पताल भर्ना गरिएको थिए । उनमा पहिला देखि नै मधुमेह र लिभरको समस्या थियो । उनको बुधबार बिहान ९ बजे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट आइनपुग्दै दिउँसो तीन बजे मृत्यु भएको थियो ।

सशस्त्र प्रहरी बल अस्पतालमा बलम्बुमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाहीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सशस्त्र प्रहरीका बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए । अर्यालका अनुसार ती महिलामा साउन १६ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् । सप्तरीमा मंगलबार राति र बुधबार गरी तीन जना पुरूषको मृत्यु भएकोमा एक जनामा कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुषको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका उनलाई ज्वरो आएपछि र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बाटोमै मृत्यु भएको थियो ।