Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरिया समातेर मालिक नछाडियोस्

काठमाडौँ । विमानस्थल भन्सारबाट किलोका किलो सुन सजिलै छिर्छ तर श्रमिकले ल्याएका थोत्रा मोबाइल सेट कहिल्यै छिर्न सक्दैन किनकि राज्यका लागि तिनीहरुले राजश्व बुझाउनुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गराएर सिनामंगल सडकमा निकालिएको क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको खुलेको छ । तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक पक्राउ परेका छन् । सँगै आठ नेपाली पनि समातिएका छन् तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ । त्रिभुवन विमानस्थलको भन्सार पार गरिसकेको सुन बरामद गरेपछि अनुसन्धान अघि बढाएको राजस्व अनुसन्धान विभागले लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङलाई बिहीबार पक्राउ गरेको छ । त्यसअघि दिउँसो एयर चाइनाबाट चीन जाने तयारीमा रहेका ३६ वर्षीय जेक्युयाङ लिन पनि विमानस्थलको अध्यागमन कक्षबाट पक्राउ परेका थिए ।
तस्करीको सुनसहित केही आरोपित पक्राउ गरेपछि मंगलबारदेखि नै सम्पर्क माध्यम बन्द गरेर बसेका जेक्युयाङ बिहीबार गुपचुप चीनको छेन्दु फर्किन लागेका थिए । तर, बिहीबार बिहानैबाट निगरानीमा रहेका उनलाई १० बजेतिर अध्यागमन कक्षमा पुगेलगत्तै पक्राउ गरेर विभागको जिम्मा लगाइएको थियो । ७ महिनाअघि काठमाडौं आएका जेक्युयाङ तीन महिनादेखि बालुवाटारको अपार्टमेन्टमा बस्दै आएका थिए । पक्राउ परेको केही घण्टामै विभागले उनी बस्दै आएको निवासमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । विमानस्थलमा आइपुगेको सुन चार दिनसम्म गोदाममा राखेर सबै सेटिङ मिलाएपछि मात्र बाहिर निकालिएको पनि खुलासा भएको छ । बिहीबार हङकङस्थित क्याथे प्यासिफिकको कार्गो विभागमा यो सामानका कार्टुन काठमाडौं पुर्‍याउने गरी बुक गरिएको थियो, यो सामान शुक्रबार राति १० बजे काठमाडौं आएको थियो । हङकङबाट इलेक्ट्रोनिक लाइट भनेर यो सामान नेपाल पठाउन बुक गरिएको र नेपालको भन्सारबाट भने स्कुटरको ब्रेक सु भनेर जाँचपास गरिएकाले पनि भन्सारमा मिलेमतो भएको देखाउँछ । तर, भन्सारबाट निर्बाध छुटाउने निश्चित भएपछि मात्र बाहिर निकालिएको सुन राजस्व अनुसन्धानको विभागले सिनामंगलमै समातेको थियो । विमानस्थलमा रहेका भन्सार अधिकृत रमेश चन्द र खरिदार कुमार ढकालले सामान जाँचेर भन्सार एजेन्ट राजेन्द्र राईलाई जिम्मा लगाएका थिए । सुरुमा सामान्य सामान हो भन्ने देखाउन हातहातमा समातेर भन्सार कार्यालयबाट बाहिर निकालिएको थियो । सडकमा ल्याएपछि ट्याक्सीमा राखिएको थियो तर पहिलेदेखि नै पिछा गरिरहेको राजस्व अनुसन्धानको टोलीले तुरुन्तै ट्याक्सीसहित सुन नियन्त्रणमा लियो, अधिकारीको भनाइ छ । बूढानीलकण्ठस्थित रेडी ट्रेडर्स प्रालिले स्कुटरको ‘ब्रेक सु’ का नाममा भन्सारबाट निकालिएको सामान राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर खानतलास गर्दा करिब क्विन्टल सुन भेटिएको हो । सामान लिएर बाहिरिने क्रममा रहेका भन्सार एजेन्ट राई सिनामंगलरगैरीगाउँ क्षेत्रबाट पक्राउ परेका थिए । ट्याक्सी चालक अशोक लामा पनि समातिएका हुन् । पक्राउ परेका मध्ये २ जना रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल हुन् । बुधबार र बिहीबारको अपरेसनमा हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्टसहित थप ६ जना पक्राउ परेका हुन् । दुवै जनासँग सोधपुछपछि चिनियाँ र भारतीय एकरएक जना तथा अरू शंकास्पद २ जना समातिएका छन् ।अनुसन्धानका लागि बिहीबार नै अर्थ मन्त्रालयले विमानस्थल भन्सारका जाँचपास अधिकृत रमेश चन्द र जाँचकी खरिदार कुमार ढकाललाई निलम्बन गरिसकेको छ । विगतमा पनि तस्करसँग साँठगाँठ गरेर मालवस्तु छिराएको आरोप भन्सार प्रशासनमाथि लाग्दै आएको थियो । भन्सारका कर्मचारीले भने एक्सरे मेसिनलाई दोष दिने गरेका छन् । भन्सारका निमित्त प्रमुख प्रशासक नारद गौतमले भने सामान जाँचपासका क्रममा मानवीय तथा प्रविधि सबै प्रयोग हुने गरेको दाबी गरे । स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ मा जडान गरेर ल्याइएको सुन नांगो आँखा र उपलब्ध प्रविधिले पत्ता लाग्न नसकेको उनको भनाइ छ । भन्सार विभागले सुन जाँचपासका क्रममा कर्मचारीको संलग्नता र घटनाका विषयमा छानबिन गर्न विभागका निर्देशक मानबहादुर पौडेलको संयोजनमा ६ सदस्यीय समिति बनाएको छ । प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । बरामद सुन भने राष्ट्र बैंकको टक्सार विभागमा बिहीबार परीक्षण गरेर राष्ट्र बैंकको ढुकुटीमा पठाइएको छ । नेपालमा बरामद सुनको परिमाण र पक्राउ परेका आरोपितबाट खुलेका कतिपय तथ्य र प्रमाणले नेपालमा केही खपत भए पनि ठूलो हिस्सा भारततिरै जाने गरेको देखिन्छ । खासगरी तस्करीबाट आएको सुन स्थलमार्ग हुँदै भारतका विभिन्न सहर लैजाने गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । नेपालमा थाइल्यान्ड, दुबई, हङकङ, चीनलगायत मुलुकबाट अवैध रूपमा सुन भित्रिने गरेको छ । तर, यसरी भित्र्याउँदा कहिलेकाहीँ बरामद हुने गरे पनि मुख्य कारोबारी पक्राउ परेको वा कारबाही गरिएको दृष्टान्त छैन ।