Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतमा कोरोनाविरुद्धका दुई खोपले पाए आपत्कालीन अनुमति

नयाँदिल्ली । विश्व महामारी कोरोना विरुद्धको खोप अभियान अहिले विश्वभर परीक्षणको चरणमा छन् । भारत सरकारले दुईवटा कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको छ । औषधि नियन्त्रण महानिर्देशनालयले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’लाई स्वीकृति दिएको हो ।

महानिर्देशनालयले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै दुई खोपका सम्बन्धमा कम्पनीहरूले प्रस्तुत गरेको तथ्यांक र आवश्यक विवरणहरूको अध्ययनपछि दुवैलाई आपत्कालीन प्रयोगका लागि अन्तिम स्वीकृति दिने निर्णय गरिएको जनाएको छ । कोभिसिल्डको उत्पादन सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) र कोभ्याक्सिनको उत्पादन हैदराबादस्थित भारत बायोटेकले गरिरहेको छ ।

यसअघि शुक्रबार र शनिबार भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले कोभिसिल्ड र कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा आइतबार भारतको औषधि नियन्त्रण महानिर्देशनालयले अनुमति दिने निर्णय गरेको हो । महानिर्देशनालयको निर्णयसँगै भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक बाटो खुलेको छ ।

भारत सरकारले आगामी जुलाईसम्म तीस करोडलाई खोप लगाउने घोषणा गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाइएको छ । पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरुलाई कोरोना खोप लगाइने भएको छ ।

बाँकी २७ करोडका सम्बन्धमा भने अन्तिम निर्णय लिन बाँकी रहेको भारत सरकारका स्वास्थ्यमन्त्री डा। हर्ष वर्धनले शनिबार बताएका थिए । भारत सरकारले खोपले अन्तिम अनुमति पाउनुअघि नै खोपको देशव्यापी वितरणका लागि विशेष अभियानको तयारी पूरा गरिसकेको छ । खोप अभियानका लागि करिब एक लाख जनालाई तयारी अवस्थामा राखिएको छ भने उत्पादनस्थलदेखि पहिलो चरणमा खोप लगाइने केन्द्रसम्म खोपलाई चाँडोभन्दा चाँडो पुर्‍याउन कार्गो जहाजदेखि भ्यानसम्म तयारी अवस्थामा राखिएको छ । उक्त तयारीको परीक्षण गर्न शनिबार देशभरि नै खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो ।

अनुमति पाएको कोभिसिल्ड खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्येमा गनिन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेरमले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकसित गरेको खोपको पाँच करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखिसकेको छ । कम्पनीले महानिर्देशनालयको निर्णय आउनासाथ विभिन्न राज्यमा आपूर्ति गर्ने गरी ‘कोल्डस्टोर चेन’को व्यवस्था गरिसकेको जनाइएको छ । कोभ्याक्सिन भने भारतको मौलिक उत्पादन हो ।
भारतमा दुईवटा खोपले अनुमति पाएसँगै नेपालमा पनि चाँडै खोप उपलब्ध हुने आशा बढेर गएको छ ।

त्यसमाथि सेरमले त नेपाललाई खोप आपूर्तिमा प्राथमिकता दिने बताइसकेको छ । दुई साताअघि सेरमका एक उच्च अधिकारीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले खोपको आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको दाबी गरेका थिए । त्यसैअनुसार परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई खोपका लागि औपचारिक पत्राचार नै भइसकेको छ । अघिल्लो महिना नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले पनि भारतको खोप उपलब्ध गराइने मुलुकमध्ये नेपाल प्राथमिकतामा रहेको जनाएका थिए ।


सम्बन्धित समाचार