Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न भारत भ्रमणलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन् । आइतबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमण नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको दाबी गरे ।
भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भएको उक्त भ्रमणका क्रममा नयाँ दिल्लीमा दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच विस्तृत वार्ता भएको थियो । वार्तामा व्यापार, ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको मन्त्री खनालले जानकारी दिए ।
उनका अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याइँदै विभिन्न द्विपक्षीय परियोजनाको प्रगति समीक्षा र प्रभावकारी कार्यान्वयनबारे छलफल भएको थियो ।
भ्रमणका क्रममा तीन महत्वपूर्ण सहमति सार्वजनिक गरिएको छ । जसअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसनबीच अन्तरदेशीय डिजिटल भुक्तानी सेवा सञ्चालन गर्ने समझदारी कार्यान्वयनमा आएको छ । त्यस्तै, भारतको सहयोगमा पुनर्निर्माण गरिएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक सम्पदा परियोजना हस्तान्तरण गरिएको छ । साथै, काठमाडौं विश्वविद्यालय र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि सम्झौता भएको छ ।
मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गर्दै सीमा व्यवस्थापन, सुरक्षा सहयोग र रणनीतिक साझेदारीका विषयमा छलफल गरेको बताए ।
भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपालको परराष्ट्र नीतिका प्राथमिकता, ऊर्जा, व्यापार र सीमासम्बन्धी विषयमा धारणा राखेका थिए । साथै नेपाली दूतावास, नयाँ दिल्लीमा अधिकारीहरूसँग अन्तरक्रिया र भारतीय सञ्चारमाध्यमसँग संवादसमेत गरेका थिए ।
मन्त्री खनालका अनुसार यो भ्रमणले व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य, पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विकास र जनस्तरको सम्बन्ध मजबुत बनाउन आधार तयार गरेको छ ।
२०८३ जेष्ठ २५
ताजा नेपाल
२०८३ जेष्ठ २५
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल