Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने भन्दै बदनियत सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको जनाएको हो । उसले गृह मन्त्रालयको प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवको सचिवालय र अन्य कर्मचारीको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ । साथै, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध मुद्दा चलाएको हो । अख्तियारले ७ चैत, २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । अख्तियारले गरिरहेको नियमित निगरानीपछि भट्टराई पक्राउ परेका थिए । यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो । उनकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा चलेको आरोप लागेको थियो । घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दलहरु माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए । यो घटनामा तत्कालीन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजाल लगायतका कर्मचारीको भूमिकामाथि समेत प्रश्न उठेको थियो ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल