Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भिडियोलाई मनोरञ्जनको रुपमामात्र लिनु हुँदैन

  • बबिता श्रेष्ठ, अध्यक्ष, म्युजिक भिडियो निर्देशक समाज

पछिल्लो समय सबैभन्दा बढि भिडियो निर्देशन गर्ने महिलामध्ये पर्छिन बबिता श्रेष्ठ । बिगत एक दशक भन्दा बढी समय देखि म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिदैआईरहेकी बबिताले हालसम्म हजारौं भिडियो निर्देशन गरिसकेकी छन् । उनले बिधुवा, खोज्दै खोज्दै आउछु, पागल हुन्छु, सिन्दुर पोते, प्रदेशी चेली, नसिबैमा नलेखिएको कुरा, झुठो पिरती, लगायत अन्य सयौंै चर्चित लोक गीतका म्युजिक भिडियोहरू निर्देशन गरिसकेकी छन । बबिता श्रेष्ठ गत शनिबार सम्पन्न नेपाल म्युजिक भिडियो निर्देशक समाजको दोस्रो अधिवेशनबाट अध्यक्ष पदममा निर्वाचित भएकी छन् । कुशल म्युजिक भिडियो निर्देशक, दर्जनौ अवार्ड तथा सम्मान आफ्नो पोल्टामा पार्न सफल बबिता श्रेष्ठसंग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः

० पछिल्लो समय केमा ब्यस्त हुनुहन्छ ?
नेपाल म्युजिक भिडियो निर्देशक समाजको अधिवेशनको लागि केही दिन त्यता समय खर्चिनु प¥यो र अहिले अध्यक्षमा निर्वाचित भैसकेपछि समाजलाई कुन ढंगले अगाडी बढाउने भन्ने विषयमा नवकार्य समितिसंग छलफलमा व्यस्त बनेको छु ।

० तपाईको कार्यकालमा म्युजिक भिडियो निर्देशक समाजमा के परिवर्तन भएको देख्न पाईएला ?
कार्य समिति फेरिने बितिकै संस्थामा कयापलट नै हुन्छ भन्ने होइन । भर्खरै मेरो नेतृत्वमा संस्था आएकोले आगामी दिनमा संस्थासंग आवध्द हुनुहुने र पेशागत हकहितको सवालमा कसरी निति निर्माण गर्दा उचित हुन्छ भन्ने बारेमा अग्रज व्यक्तित्वहरूसंग र आन्तरिक रुपमा बृहत छलफललाई अगाडी बढाउने तयारीमा छौं ।

० म्युजिक भिडियोलाई चलचित्रको परिभाषामा समेटी चलचित्र विकास बोर्डलाई यस क्षेत्रको अभिभावक बन्न नेपाल म्युजिक भिडियो निर्देशक समाजले गरेको ध्यानाकर्षणको सुनुवाई भो त ?
हामीले बोर्ड अध्यक्ष भुवन केसीलाई म्युजिक भिडियोको क्षेत्रलाई बोर्ड अन्तर्गत राख्न अनुरोध गर्दै ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थियौं । म्युजिक भिडियो मार्फत देशका विभिन्न जातजाति, भाषा, कला संस्कृतिको जगेर्ना गर्दै राज्यको अर्थतन्त्र, पर्यटन, रोजगारी लगायतमा यस क्षेत्रले मद्दत पुराएको तथ्य राज्यसामु हुँदाहुँदै पनि म्युजिक भिडियोलाई चलचित्रको परिभाषाको रूपमा समावेश नगरिनु र औपचारिकतामा प्रवेश नगराउनु आफैमा पक्षपाती विषय भएकोले बोर्डको ध्यानाकर्षण गराएका हौं । आशा गरौं चाँडै नै यो विषयमा बोर्डको सकारात्मक धारणा बाहिर आउने छ ।

० म्युजिक भिडियोलाई मनोरञ्जनको रुपमामात्र लिइन्छ नि ?
मनोरञ्जनको लागि मात्र नभई नेपाली कला संस्कृति लगायत गीत सङ्गीतको संरक्षण संवद्र्धनमा प्रमुख भूमिका खेलेकोमात्र नभई नेपालमा रहेका एक सय बढी भाषाहरूमा आफ्नै गीत सङ्गीत उत्पादन हुने र तिनका म्युजिक भिडियोहरू बन्ने गरेको कारण नेपालको विशाल भाषिक तथा सांस्कृतिक विविधतालाई संरक्षण र संवद्र्धनमा महत्वपूर्ण भूमिका रहिआएको म्युजिक भिडियो उद्योगलाई मनोरञ्जनको रुपमामात्र लिनु हुँदैन जस्तो लाग्छ ।

० तपाईले निर्देशन गरेको मध्य आफैलाई मन परेको भिडियो चाही कुन हो ?
आफुले जन्माएका सृर्जनाहरू सबै सुन्दर लाग्नु स्वभाविक हो । हजार भन्दा बढी भिडियो बनाई सकेको छु र अहिलेसम्म थुप्रै भिडियो चर्चित भएका छन् । गीतकार राजेन्द्र पुरीको शब्द रहेको ‘तिमि हिड्ने बाटो..’ गीतको भिडियो मन पर्छ । मर्मश्पर्धी शब्द सुहाउदो भिडियो बनेको छ ।

० कस्तो गीतमा भिडियो बनाउन रुचाउनु हुन्छ ?
पप, आधुनिक सबै खाले गीतको भिडियो बनाएकी छु । दोहोरी गीतको भिडियो अलि बढी बनाएको छु ।

० एक दिनमा कति वटासम्म भिडियो निर्देशन गर्नु भ्याउनु हुन्छ ?
मैले दिनमै दुई÷तीन वटासम्म पनि म्युजिक भिडियो निर्देशन गरेकी छु । सकेसम्म दिनमा एउटा भिडियो गर्दा राम्रो । संख्यात्मक भन्दा पनि गुणात्मक काम राम्रो हुने भएकोले थोरै गरौं राम्रो गरौं भन्ने मेरो धारणा छ ।

० भिडियो निर्देशन कस्तो काम हो ?
निर्देशन गर्ने भनेरमात्र हुदैन । निर्देशकीय ज्ञान र गीतको मर्मलाई सुष्म रुपले अध्ययन गरि पात्र चैन र दृश्य कैदमा पनि उत्तिकै ध्यान दिनु पर्ने भएकोले यो क्रियटिभ काम हो ।

० कतिजनाको कार्य समिति बनेको छ ?
अहिलेलाई १५ जना पदाधिकारी रहेको नयाँ कार्यसमित बनेको छ । जसको प्रथम उपाध्यक्षमा डिआर सुजन, द्धितिया उपाध्यक्षमा जनक सिंह, सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्र बहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा अन्जन पुडाशैनी र सदस्यहरूमा रुद्रबहादुर बुढाथोकी, जयदत्त भट्ट ‘जयराज’, खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, ‘शिशिर’ र संगीत सागर बुर्जा रहनु भएको छ ।


सम्बन्धित समाचार