Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भुवन केसी ‘एफएनएन लेजेन्डरी आइडल’को उपाधिबाट सम्मानित

काठमाण्डौ । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीलाई फेसन नेटवर्क नेपाल नामक संस्थाले ‘एफएनएन लेजेन्डरी आइडल’ उपाधिबाट सम्मान गरेको छ । क्लब टेनएक्ससँगको सहकार्यमा गत शनिबार काठमाडौंमा भएको ‘फेसन गाला नाइट’ कार्यक्रममा भुवन केसीलाई नेपाली चलचित्र क्षेत्रप्रतिको समर्पण, प्रतिबद्धता तथा सफलताको कदर गर्दै उक्त उपाधिसहित सम्मान गरिएको हो ।
सम्मान प्राप्त गरेपछि अभिनेता केसीले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै राज्यका विभिन्न तह र तप्कासँगै निजी क्षेत्रले पनि समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान गर्ने बानीको विकास हुँदै गएकोमा खुसी व्यक्त गरे । यस प्रकारका सम्मानहरुले एकअर्काबीचको भाइचारा र सम्बन्धहरुलाई थप मजबूत बनाउने उनको भनाई छ ।
उक्त कार्यक्रममा ब्यूटिसियन कमला श्रेष्ठ, पूर्व मिस नेपाल रुबी राणा, कोरियोग्राफर रचना गुरुङ शर्मा, फोटोग्राफरत्रय राजभाई सुवाल, गौतम धिमाल र महेश प्रधान, फेसन डिजाइनरद्वय मुक्ता श्रेष्ठ र रमिला नेमकुल, कस्ट्युम डिजाइनर राजेश धाखवा, फेसन एजुकेटर ज्ञानी शोभा तुलाधर, सञ्चार उद्यमी पूजा मानन्धर र रनवे साउन्ड डिजाइनर भाइटललाई पनि सम्मानित गरिएको थियो ।
फेशन तथा सौन्दर्यको क्षेत्रमा काम गर्ने प्लेटफर्म रुपमा स्थापना भएको फेसन नेटवर्कको उद्देश्य नेपालको फेसन उद्योगका सम्पूर्ण सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने रहेको सञ्चालक तथा अभिनेता प्रशान्त ताम्राकारले जानकारी दिए । उनी चर्चित फेसन कोरियोग्राफरसँगै मोडल समेत हुन् ।