Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थितिमा प्रभावित समुदायलाई मानवीय सहयोग तथा सहकार्यका माध्यमबाट सम्भव भएसम्मको सहायता उपलब्ध गराउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए।

यसै क्रममा विदेशमा रहेका नेपाली नागरिकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको ढकालले जानकारी दिए।

ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा बाढी प्रभावित क्षेत्रमा थप राहत तथा जिन्सी सामग्रीसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

आइएमई ग्रुपका अनुसार यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीलगायत विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।

ग्रुपले आगामी दिनमा पनि भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।