Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच प्रमुख जलविद्युत आयोजनामा बेपत्ता भएका तथा सुरुङ र विद्युतगृहमा फसेको आशंका गरिएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ।
बाढीले आयोजनाका सुरुङ, विद्युतगृह, हेडवर्क्सलगायत संरचनामा ठूलो क्षति पुर्याएको छ। कतिपय सुरुङमा पानी भरिएको छ भने केही क्षेत्रमा ढुंगा, माटो र अन्य भग्नावशेष थुप्रिएका छन्।
बेपत्ताको खोजीका लागि नेपाली सेना, अन्य सुरक्षा निकाय, प्राविधिक तथा विभिन्न उद्धार टोली परिचालन भएका छन्। खोजीका क्रममा ड्रोन, विशेष क्यामेरा, तालिमप्राप्त कुकुर तथा अन्य उपकरण प्रयोग भइरहेका छन्।
लगातारको वर्षा, नदीको बढ्दो पानीको सतह र क्षतिग्रस्त संरचनाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको सम्बन्धित आयोजनाहरूले जनाएका छन्। ठूला मेसिन आयोजनास्थलसम्म पुर्याउन नसकिएका ठाउँमा साना उपकरणमार्फत खोजी तथा उत्खनन भइरहेको छ।
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा सुरुङबाट पानी तान्ने तथा हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी कार्य जारी छ। सबैभन्दा धेरै मानिस फसेको आशंका गरिएको यस आयोजनाबाट शनिबार एक विदेशी नागरिकको समेत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार हाकुस्थित सुरुङमा करिब २५० मिटरसम्म पुगेर खोजी भइरहेको छ। सेनाका २० जना तथा आयोजनाका प्रतिनिधि सम्मिलित टोलीले कम्प्रेसरलगायत उपकरण प्रयोग गरिरहेको छ।
उद्धारका लागि कोरियाली, शेर्पा, सर्च तथा ड्रोन टोलीसमेत परिचालन गरिएको छ। विशेष क्यामेरा र तालिमप्राप्त कुकुर प्रयोग गर्नुका साथै विभिन्न १५ वटा मेसिन तथा उपकरण आयोजनास्थलमा पुर्याइएको छ।
बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७६ जनाको उद्धार भएको आयोजना पक्षले जनाएको छ। शुक्रबार सल्लेटार क्षेत्रमा ६ वटा शवसमेत फेला परेका थिए। शव पहिचान गर्न नसकिएको जनाइएको छ।
३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाको विद्युतगृह क्षेत्रमा थप उत्खनन गर्ने तयारी गरिएको छ। त्रिशूली नदीको सतहदेखि दुई मिटरसम्म खन्दा पनि विद्युतगृहको संरचनाको केही भाग फेला नपरेपछि करिब १२ मिटरसम्म उत्खनन गर्ने तयारी गरिएको हो।
सर्जट्याङ्कदेखि पेनस्टकसम्म पनि खोजी भइरहेको छ। अडिट सुरुङबाट थप मेसिनरी तथा उपकरण लैजान सकिन्छ कि भन्ने प्रयास भइरहेको छ।
आयोजनाका अनुसार यहाँबाट १९१ जना सम्पर्कविहीन छन्। तीमध्ये निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १४१ जना, प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीका २१ जना, चिलिमे इन्जिनियरिङका १२ जना परामर्शदाता, एक सुरक्षा गार्ड र काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपमा आएका तीन जना विद्यार्थी छन्।
सुरुङमा कार्यरत २३ जना भने सुरक्षित रूपमा बाहिर निस्किएका छन्।
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा पनि बाँकी व्यक्तिको खोजी जारी छ। बाढी आएको १० दिनपछि शुक्रबार विद्युतगृहमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको थियो।
कोइलाडी–८, सप्तरीका सन्जय साह र काठमाडौं बालकुमारीका कबिर महर्जनलाई करिब २१६ घण्टापछि उद्धार गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। उनीहरूलाई काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा पनि सम्पर्कविहीन व्यक्तिको खोजी भइरहेको छ। आयोजनाले शेर्पा टोली परिचालन गर्नुका साथै आवश्यक मेसिनरी तथा उपकरण आयोजनास्थलसम्म पुर्याउने प्रयास गरिरहेको जनाएको छ।
नदीमा पानीको सतह बढेको र मौसम प्रतिकूल रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ। उद्धार टोलीलाई आयोजनाको सर्जट्याङ्क रहेको अग्लो स्थानमा क्याम्प बनाएर राख्ने तयारी गरिएको छ।
आयोजनाका अनुसार रसुवागढीबाट ९३ जना सम्पर्कविहीन छन्। आवश्यक उपकरणको अभाव र प्रतिकूल मौसमका कारण यसअघि सुरुङभित्र उद्धार सुरु गर्न कठिनाइ भएको थियो। शनिबार बिहान नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गरी सुरुङभित्र उद्धार कार्य अघि बढाएको जनाइएको छ।
यसअघि आयोजनाले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष रक क्लाइम्बर परिचालन गरी आयोजनास्थल वरपर खोजी गरिरहेको थियो।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी कार्य सकिएको कम्पनीले जनाएको छ।
आयोजनाका अनुसार बाढीका बेला ४१ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये १९ जनाको उद्धार भएको थियो भने बिहीबार सुरुङभित्रबाट थप दुई जनाको शव फेला परेको थियो।
कम्पनीका अनुसार अझै ३९ जनाको अवस्था अज्ञात रहेको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीबाट क्षतिग्रस्त आयोजनाहरूमा उद्धारसँगै सुरुङ, विद्युतगृह र अन्य संरचनामा थुप्रिएको पानी तथा भग्नावशेष हटाउने कामसमेत चुनौतीपूर्ण बनेको छ। बेपत्ता व्यक्तिको खोजीका लागि सुरक्षा निकाय, नेपाली सेना तथा स्वदेशी–विदेशी उद्धार टोलीले संयुक्त रूपमा काम गरिरहेका छन्।
२०८३ भाद्र २०
ताजा नेपाल
२०८३ भाद्र २०
ताजा नेपाल
२०८३ भाद्र २०
ताजा नेपाल