Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टाचार र तस्करी लुक्दैन हजुर

काठमाडौँ । बहुमत प्राप्त पार्टी र सरकारको नेतृत्व गरेको शक्ति अहिले भद्रगोलमा फसेको छ । जनता र राष्ट्रको नाममा गुटीय ब्रम्हलुट नेकपाको अहङ्कारवादी सोच बन्दैछ । पार्टी राजनीतिबाट टाढा विश्व बैङ्क र एसियाली विकास बैङ्कका दलाललाई अर्थमन्त्री बनाएर प्रम ओली आफैँ सबैतिरको ज्ञाता बनेको दम्भ गर्दा यो स्थिति आएको हो । पार्टीको विधि, प्रक्रिया र सिद्धान्त भनेको ओलीको टिमले गर्ने मनपरीतन्त्र हो । राष्ट्रका दर्जनौँ समस्या थिए । संसद्मा त्यसको छलफल हुन्थ्यो, सरकारले साथ पाउँथ्यो । तर प्रम ओलीले संसद् स्थगित गरिदिए ।

अपमानको विष पिएर सभामुख अग्नि सापकोटा पदमा छन् । द्वन्द्वका कारण पनि सभामुख तानिएको छैन । अहङ्कारी ओलीले जे पठाउँछन्, त्यसको स्वीकृत गर्ने हैसियतभन्दा माथि राष्ट्रपति पनि छैनन् । पार्टीको द्वन्द्वलाई लिएर राष्ट्रपतिसम्म ओली पुग्नुको आवश्यकता नै थिएन । तर ओलीले प्रचण्ड र माधवलाई समेत लिएर शीतल निवास पुगेको जात्रा सम्झनलायक बन्न पुग्यो । ओलीवादको मनपरी चर्काउनकै लागि नेकपा ठूलो शक्ति बनेकै होइन ।

देशमा दर्जनौँ समस्या छन् तर नेकपाका नेता र प्रधानमन्त्री आफ्नै पद र स्वार्थमा केन्द्रित छन् । चितामा नचढेसम्म एक पटक पाएको पदमा टाँसिइरहने प्रवृत्ति नेपाली जनमतको सम्पत्ति बन्दैछ । कम्युनिस्टहरू सर्वहारा वर्गका प्रतिनिधि हुन्, गरीबको समस्यामा यी जोडिन्छन् भन्ने कुरा सपना मात्र भएको छ । बाढीपहिरो पनि त्यस्तै भएको छ । लकडाउनमा मजदुर भोकभोकै मरे । तिनै मजदुरको पार्टीको नाममा भोट लिएको नेकपा आफैँभित्र पदको लडाइँमा केन्द्रित भएको देखियो ।

आदर्श, सिद्धान्त, विधि र प्रक्रिया आफूले पद नपाउँदासम्म उठाउने ईश्वर पोखरेलहरूको मुद्दा अब ओलीलाई देवत्वकरण गरेर लुट मच्चाउने भएको छ । पार्टी छ, बैठक बस्दैन । स्थायी समितिलाई बादशाह प्रवृत्तिका अध्यक्ष केपी ओलीले गन्दैनन् । पार्टीको निर्देशनमा ओली चल्दैनन् । सरकारको खर्च गराइ पूर्णतः छाडावादमा परिणत भएको धेरै भयो । अब नेकपाको मान र प्रतिष्ठा रहेन । देवत्वकरण गराउन र गुटबन्दी बढाउन माओवादीले एमालेसँग एकता गरेकै थिएन । ओली र माधव गुटको झगडा पुरानो हो । ओलीले त्यो बेला सताएको ‘रअ’सँग मिलेर एमालेभित्र जासुसी केन्द्र बनाएको सबैलाई थाहा छ ।

पार्टी नेतृत्व पाएपछि र सत्ता सञ्चालक भएपछि प्रम ओलीको व्यवहार कस्तो हुँदो रहेछ सबै छर्लङ्ग भएकै हो । ओलीको सपना देशको प्रम बन्ने, हावादारी योजना घोषणा गर्ने तर कार्यान्वयन गर्नुनपर्ने समृद्धि र विकास अहिले चम्किएको छ । वामदेव गौतम हावाको बेलुन बनाइएका छन् । धोका, षड्यन्त्र उनले ओलीबाट जति भोगे, त्यो धोका अहिले अर्का अध्यक्ष पुष्पकमल दाहालले सहँदैछन् । पदका लागि लडाइँ होइन भन्दै गर्दा ओलीलाई लक्षित गरेर एक व्यक्ति एक पदको एजेन्डा ल्याउनुमै ओली गुटले षड्यन्त्र ठानेको छ । ओली गुटले पार्टीलाई बाइपास गर्नु नौलो भएन । यो समूहको स्वार्थमा देशमा भ्रष्टाचार र तस्करी चम्केको कुरा लुकाएर कति लुक्छ ?