Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड, माधव र झलनाथ, प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आज काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका छन्। पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका शीर्ष नेताहरूको संयुक्त उपस्थितिका कारण कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ।

मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको प्रमुख आतिथ्यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले गर्ने कार्यक्रम रहेको छ।

गोष्ठीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादव ले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

मदन भण्डारीको राजनीतिक विचार, जनताको बहुदलीय जनवाद (जबज) र नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदानबारे केन्द्रित हुने उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट आफ्नो धारणा राख्नेछन्।

कार्यक्रमलाई पछिल्लो राजनीतिक घटनाक्रमसँग पनि जोडेर हेरिएको छ। केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले “समाजवादी मोर्चामा रहेका शक्तिबीच छिट्टै एकता र एमालेसँग पनि सहकार्य हुन सक्ने” संकेत गरेका थिए। त्यसपछि आज हुने यो साझा उपस्थितिलाई सम्भावित राजनीतिक समीकरणसँग जोडेर समेत विश्लेषण गर्न थालिएको छ।

यद्यपि, आयोजकले भने कार्यक्रमलाई मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजना गरिएको वैचारिक गोष्ठीका रूपमा व्याख्या गरेको छ। कार्यक्रममा कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, वैचारिक दिशा र आगामी राजनीतिक सम्भावनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।