Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् विस्तारमा फेरि पनि माधव बाधक

काठमाडौं । पार्टीभित्रै विद्रोह गरेर काँग्रेस नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण र एमाले विभाजन गराउनकै लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् पूर्ण नबनाएकोमा अझै पनि माधव नेपालकै कारण सत्ता गठबन्धन अल्झिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो पार्टीलाई ७ मन्त्रालय दिनुपर्ने अडान राखेका छन् । सत्तापक्षीय गठबन्धनको बैठकमा अध्यक्ष नेपालले ७ वटा मन्त्रालय नदिईए सरकारमा सहभागी हुन आफूहरुलाई अप्ठ्यारो रहेको सुनाएका थिए । सुरुमा, प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको पार्टीलाई ५ वटा मन्त्रालय दिने भनेका थिए । तर, नेपालले गठबन्धनको बैठकमा ७ वटा मन्त्रालय दिईनुपर्ने अडान राखेका थिए । बैठकमा सहभागी एक नेताकाअनुसार अध्यक्ष नेपाल आज आक्रामक रुपमा प्रस्तुत भएका थिए । उता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरुलाई ६ वटा मन्त्रालय दिनुपर्ने अडान राखेका छन् । माओवादी केन्द्रले पनि ७ वटा मन्त्रालय मागेको छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री भैसकेका छन् । माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरिसकेपछि सरकारलाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी थियो । मन्त्रालय भागबण्डाको कुरा नमिल्दा सरकारले पूर्णता पाउन अझै केही दिन समय लाग्ने निश्चित् भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । नेपालले सबैलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता भएकोले कम्तिमा पनि ७ वटा मन्त्रालय दिन आग्रह गरेका हुन् । एकीकृत समाजवादीबाट प्रेम आले, वेदुराम भुषाल, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी,भवानी खापुङ र कल्याणी कुमारी खड्का मन्त्री बन्ने चर्चा छ ।