Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रीको हस्तक्षेपले थला पर्यो वैद्यखाना

काठमाडौं । नेपालको एकमात्र आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाको अवस्था तहसनहस भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रत्यक्ष हस्तक्षेपका कारण वैद्यखानाको उत्पादन अहिले ठप्प छ । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले वैद्यखानाको कार्याकारी निर्देशकमा डा. वंशदीप खरेल उपाध्यायलाई नियुक्ति गरेका थिए । मन्त्री पदबाट थापा हट्नेबित्तिकै नयाँ नियुक्त मन्त्रीले अवधि नपुग्दै उनलाई कार्यकारी निर्देशकबाट हटाएका थिए । अदालतले डा. वंशदीपलाई कार्यकारी निर्देशकमा पुनर्वहाली गरेको थियो । पुनर्बहालीपछि पनि वर्तमान स्वास्थ्य मन्त्री यादवले उनलाई मन्त्रालयमा तानेर वैद्यखानाका छैठौ तहका कर्मचारी हरदेव यादवलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पेका थिए । पुनः डा. वंशदीपले सर्वोच्चमा मानहानिको मुद्दा दर्ता गरेपछि मन्त्रालयले उनलाई वैद्यखाना फर्काउन बाध्य भएको थियो । डा. वंशदीप वैधानिक कार्यकारी निर्देशकमा बहाल रहे पनि मन्त्रीले हरेदेव यादवमार्फत् काम गराइरहेका छन् । यादव आफू नै वैद्यखानाको कार्यकारी प्रमुख भएको दाबा गर्न छाडेका छैनन् । आठौं तहका डा. वंशदीप कार्यकारी निर्देशकमा बहाल रहेकै अवस्थामा स्वास्थ्य मन्त्रालयले समायोजनका बेला दशौं तहका डा. साविरी साहलाई वैद्यखानामा पठाएको छ । उनी पनि गत दुई महिनादेखि कार्यरत छन् । समायोजनमा आएका साविरीलाई कार्यकारी निर्देशकको भूमिका नदिए पनि आफू सिनियर भएको हुँदा आफू नै वैद्यखानाको प्रमुख भएको दाबा गरिरहेका छन् । यसरी अहिले वैद्यखानामा तीन जना कार्यकारी भएको दाबा गरिरहेका कारण कर्मचारीहरूमा अन्योलता सिर्जना भएको छ ।

थला पर्यो वैद्यखाना
नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित सिंहदरबार वैद्यखानाबाट अहिले कुनै पनि आयुर्वेदिक औषधि उत्पादन हुन सकिरहेको छैन । कुनै समय १ सय २८ प्रकारका आयुर्वे्दिक औषधि उत्पादन गर्ने वैद्यखाना चरम राजनीतिक हस्तक्षेपका कारण हस्तव्यस्त बन्न पुगेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको इशारामा मन्त्रालयले चरम हस्तक्षेप गरेका कारण वैद्यखाना थला पर्न पुगेको हो । आयुर्वेदिक औषधि उत्पादन गरेर सेवा पु¥याउँदै आएको वैद्यखाना अहिले आफंंै थला परेपछि बजारमा वैद्यखानाका कुनै पनि उत्पादन पुग्न सकेका छैनन् । केही छिटपुट रुपमा स्कटमा रहेका औषधि पुगेका भए पनि अहिले निजी तथा सरकारी आयुर्वेदिक औषधालयहरू निजी कम्पनीका औषधिहरूले भरिभराउ हुँदा सरकारी उत्पादन देखिन छाडेको छ । अहिले वैद्यखानाबाट औषधि उत्पादन नहुँदा आयस्रोत ध्वस्त हुन मात्रै पुगेको छैन, कार्यालयमा कार्यरत ४५ जना स्थायी र २ जना करार कर्मचारीहरूलाई बैंकमा राखेको पैसाको ब्याजबाट तलब खुवाउनुपर्ने बिडम्बनापूर्ण अवस्था सिर्जना भएको छ । वैद्यखाना श्रोतकाअनुसार, वैकमा रहेको १० करोडको प्रतिमहिना करिब १० लाख ब्याज प्राप्त हुने गरेको छ ।

सो रकमबाट कर्मचारीलाई तलब खुवाउनु पर्ने अवस्था छ । जनशक्ति र उपकरण पर्याप्त हुँदाहुँदै पनि राजनीतिक हस्तक्षेप वैद्यखाना ध्वस्त हुन पुगेको हो । अहिलेको मन्त्रालय नेतृत्वले वैद्यखानालाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा कार्यालयको आर्थिक अवस्थामात्र ध्वस्त हुन पुगेको छैन त्यसको पहिचाननै मेटिन त होइन भन्ने चिन्ता समेत थपिन पुगेको छ । मन्त्रालयले पर्याप्त बजेट समयमै उपलब्ध नगराइदिँदा कच्चा पदार्थ खरिद गर्न नसक्दा उपकरण र जनशक्ति हुँदाहुँदै पनि उत्पादन ठप्प हुन पुगेको हो ।

गत वर्षनै मन्त्रालयले उपलब्ध गराउनु पर्ने बजेट समयमै नदिँदा यो अवस्था सिर्जना भएको बताइन्छ । गतवर्ष नै उपलब्ध हुनुपर्ने बजेट भर्खरै मन्त्रालयले उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रालय स्रोतका अनुसार वैद्यखानाका लागि ६ करोड बजेट छुट्याइएको छ । मन्त्रालयले समयमै उपलब्ध नगराउने र कार्यकारी निर्देशकको पटक पटकको फेरबदली र समितिको अध्यक्ष नियुक्त नहुँदा वैद्यखानाको अवस्था दिनप्रतिदिन खस्किँदै गएको हो । कुनै समय विदेशमा समेत आफ्ना उत्पादन पु¥याउँदै लोकप्रिय बन्न सफल वैद्यखाना हाल आएर यो अवस्थामा पुग्नुमा वैद्यखानाको नेतृत्वलाई मात्रै दोष थोपरेर पन्छिन नमिल्ने जानकारहरू बताउँछन् । केही समयअघिसम्म बंगलादेशमा बिक्री केन्द्रनै स्थापना गरेर आफ्ना उत्पादनहरू बिक्री वितरण गर्दै आएको थियो । च्याबनप्रास, तुलसी चिया, अविपत्तिकर लगायत वैद्यखानाका हरेक उत्पादनहरू गुणस्तरीय र लोकप्रिय बन्न सफल भए पनि उत्पादननै गर्न नदिएर वैद्यखानाको अस्तित्वलाई निमिट्यान्न पार्न खोज्नेमाथि सरकारले आवश्यक छानविन गरी कारबाही गर्न जरुरी छ ।