Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री हेरफेरको यस्तो छ तयारी

काठमाडौं । आज भोलि नै बजेट पारित गर्ने सरकारको तयारी छ। विनियोजन विधेयकमाथिको छलफल सकेर निर्णयार्थ पेस गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ। सत्ता गठबन्धनका घटकबीच आइतबार वा सोमबार बजेट पारित गर्ने समझदारी जुटिसकेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट पारित गर्ने दिन आफ्ना सांसदलाई संसद भवनबाट बाहिर नजान ह्वीप लगाएका छन्। प्रधानमन्त्री प्रचण्डले संसदमा असार ६ मा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका छन्। अब विनियोजन विधेयकमाथि केही मन्त्रालयगत छलफल बाँकी छ। सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८१र०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।
बजेट पारित गरेलगत्तै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन गठबन्धनभित्र छलफल हुने भएको छ। प्रधानमन्त्री प्रचण्डले यी दुई दललाई सरकारमा ल्याउन केही समय अगाडिदेखि पहल गरिरहेका थिए। माओवादी र एमालेले लिएकै एक–एक मन्त्रालय खाली गराएर जनमत र उन्मुक्तिलाई सरकारमा सहभागी गराउन पहल भइरहेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने मन्त्रालय छोड्न मानेको छैन। माओवादी केन्द्रको भागमा परेको एक मन्त्रालय खाली हुन्छ, एक मन्त्रीले भने, एमालेबाट खाली गराउने मन्त्रालय पनि एक दुई–दिनमा टुंगो लाग्छ। माओवादीले पर्यटन छाडेर नाउपाकी रञ्जिता श्रेष्ठलाई दिने प्रारम्भिक समझदारी छ। श्रेष्ठ सरकारमा सहभागी हुन तम्तयार छिन्। यसअघि उनी भूमि व्यवस्था मन्त्री थिइन्। जनमतका अध्यक्ष चन्द्रकान्त राउतले बजेट पारित भएपछि मात्र सरकारमा सहभागिताबारे निर्णय लिने बताइरहेका छन्।