Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महराले भने रोशनीसँग पारिवारिक सम्बन्ध थियो

काठमाडौ । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरा निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसदकी कर्मचारी रोशनी शाहीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन्। उनलाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो। सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको बयान लिएको हो।
सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना घटेको भनेको दिन आफू रोशनीको कोठामा पुगे पनि बाहिर भनिए जस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको बताएका छन्। पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उहाँले बताउनुभएको छ, स्रोतले भन्यो, तर बयान सकिएको छैन। बयान पुरा भएपछि सोही अनुसार मुद्दा अगाडि बढाइनेछ।
महराले आफूलाई जवजस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यो बीचमा पटक पटक आफ्ना भनाइहरु बदल्दै आइरहेकी छिन्। यद्यपी प्रारम्भमा महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान सुरु गरेको यो घटनाबारे अहिले काठमाडौं परिसरले अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको छ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान र आरोप लागेका महराको बयान भइरहेको छ। यो प्रक्रिया सकिएपछि सोमबार या मंगलबार महराविरुद्ध जवरजस्ती करणीको मुद्दा अदालतमा दर्ता हुनेछ।
बिहीबार प्रारम्भिक बयानपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै महरालाई काठमाडौं थापाथलीस्थिति नर्भिक अस्पताल भर्ना गरिएको छ। अस्पतालमा उनका परिवारका सदस्य र आफन्तबाहेक पार्टी उच्च तहका कुनै नेताहरु उनलाई भेट्न पुगेका छैनन्।
उता प्रहरी भने, महरा प्रकरणको मुद्दा छिटोभन्दा छिटो अदालत लैजान चाहन्छ। मुद्दा दायर भएपछि अदालतमा फेरि महराको बयान हुन्छ। त्यसपछि सरकारी वकिल र महराका वकिलले थुनछेक बहस गर्नेछन् । दुवै पक्षको बहसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी तथा सामान्य तारिखमा छाड्ने आदेश दिनेछन्।


सम्बन्धित समाचार