Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशनमा सबै पक्ष सहभागी गराउने विषयमा जोड

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र पार्टीका नेता डा. शेखर कोइरालाबीच पार्टीको आन्तरिक राजनीति तथा समसामयिक विषयमा छलफल भएको छ। शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा पार्टीभित्र देखिएको विवाद समाधान र १५औँ महाधिवेशनको तयारी मुख्य एजेन्डा बनेको थियो।

भेटपछि महामन्त्री घिमिरेले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै पार्टीको आन्तरिक राजनीति र समसामयिक विषयमा नेता कोइरालासँग भेटवार्ता भएको जानकारी दिएका छन्।

भारत भ्रमणबाट फर्किएलगत्तै कोइरालालाई भेट्न पुगेका घिमिरेले भारत जानुअघि पनि आफूहरूबीच छलफल भएको बताएका छन्। उनका अनुसार यसपटकको भेटमा पार्टीभित्र देखिएका मतभेद समाधान गर्ने, महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने तथा कोइरालाको पाँचबुँदे र आफ्नो सातबुँदे प्रस्तावलाई कसरी निष्कर्षमा पुर्‍याउने भन्ने विषयमा विस्तृत छलफल भएको हो।

घिमिरेका अनुसार नेता कोइराला पार्टीभित्रको एकताप्रति सकारात्मक देखिएका छन्। कोइरालाले सभापति गगन थापासँग पहिलो भेटपछि दोस्रो चरणको छलफल हुन नसकेको गुनासो गर्दै सभापति र पार्टीको आधिकारिक टोलीसँग थप संवाद भए वर्तमान विवाद समाधान गर्न कठिन नहुने धारणा राखेका थिए।

भेटमा कोइरालाले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, हतारमा निर्णय नगरी पर्याप्त छलफलमार्फत विवाद समाधान गर्दै महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको धारणा रहेको घिमिरेले बताए।

महामन्त्री घिमिरेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलासँग पनि टेलिफोनमा संवाद भएको जानकारी दिँदै काठमाडौं फर्किएपछि दुवै नेतासँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी रहेको बताएका छन्।