Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस जेनजी विद्रोहपछि नेतृत्वपरिवर्तन गरी पुनजीर्वनको प्रयासमा लागे पनि पार्टी संस्थापनको दाउपेचका कारण महाधिवेशन टर्ने त होइन भन्ने आशंका बढेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ गतेदेखि जारी छ। भदौ २४ गते जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको बैठकले महाधिवेशन कहिले गर्ने भन्ने निष्कर्ष अझै निकाल्न सकेको छैन। यही बीचमा देउवा सिंगापुर पुगेर थप उपचार गरेर पनि फर्किए। उनी बैठक सुरु भएको ठिक एक महिनापछि कात्तिक २८ स्वदेश फर्किएका हुन्। श्रीमती आरजु राणालाई लिएर सिंगापुर जाँदा देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। अहिले कांग्रेसभित्रको विवादको चुरो हो, १५औं महाधिवेशन फागुन २१ गतेको आम निर्वाचनअघि गर्ने कि पछि ? सभापति देउवासहित संस्थापन समूहका नेताहरू चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, डा शेखर कोइरालासहितका नेताहरू नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने पक्षमा छन्। एक महिनादेखि जारी बैठक यही बहसमा अल्झिरहेको छ। देउवासँगको भेटमा खड्काले केन्द्रीय समितिको बैठकको ब्रिफिङ गर्दै नयाँ कार्यतालिकाको सुझाव मागेका थिए। देउवाले राखेको प्रस्ताव नै साझा प्रस्ताव भएको र सहमतिको बिन्दु भएको महतले बताए। नियमित महाधिवेशनमै जोड दिएर असोज २८ गते बैठकको उद्घाटन गरेका देउवाले शनिबार आफूनिकट नेताहरूसँगको छलफलमा पनि त्यसैमा जोड दिए। देउवाले गरेकोजस्तै प्रस्ताव उनको समूहका नेताले केन्द्रीय समितिमा पनि गरेका थिए। देउवाले निर्वाचन केन्द्रित हुनुपर्ने समय आइसकेको शनिबारको छलफलमा बताए। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २९ गते हस्ताक्षरसहितको पत्र कार्यवाहक सभापति खड्कालाई बुझाइसकेका छन्। कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाई विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ। विशेष अधिवेशन माग गर्नेहरू महामन्त्रीद्वय र नेता शेखर कोइराला समूहका नेता छन् भने केही संस्थापन समूहका नेता पनि छन्। कांग्रेसका १४ औं महाधिवेशनका ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका हुन्।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल