Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशन धकेल्ने देउवाको अनेक दाउ

काठमाडौं । कम्युनिष्टको गाँड कोरोकोरले सत्तामा पुगेका काँग्रेस सभापति शेरबहादुर देउवा विभिन्न बहाना बाजीमा पार्टी महाधिवेशन केही पर धकेल्ने योजनामा छन् । यतिञ्जेल कोरोनाको बहाना बनाएर महाधिवेशनको मिति सार्दै आएका देउवा अब पनि मिति सार्ने बहानाबाजी गर्दैछन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा १४ औँ महाधिवेशन जसरी पनि भदौ १६ मै हुने दाबी गरेका थिए। देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको साउन १२ गते पदाधिकारी बैठक बसेको थियो। जबकि पूर्वनिर्धारित कार्यतालिका अनुसार त्यो दिन वडा अधिवेशन हुनुपर्ने थियो।
त्यसको चार दिनपछि जिल्ला अधिवेशनका लागि तोकिएको समय पनि गुज्रिसकेको छ। क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा १४ औँ महाधिवेशनका लागि तयार पारिएको कार्यतालिका प्रभावित भइसकेको छ। तल्लो तहका अधिवेशनको कार्यतालिका प्रभावित भएपछि भदौ १६–१९ सम्म तय भएको महाधिवेशन नहुने लगभग पक्का छ। तर, सभापति देउवाले भने तोकिएकै मितिमा महाधिवेशन हुन्छ भन्ने रटान लगाउन छोडेका छैनन्।
आफैं सभापतिमा लड्ने घोषणा गरेका देउवालाई आफूनिकटका नेताहरूको उम्मेदवारी घोषणाले चुनौती थपिएको छ। अर्कोतर्फ संस्थापनइतरका नेताहरूलाई व्यवस्थापन गर्ने चुनौती उनीसँग छँदैछ। संस्थापनइतरका साथै आफ्नै गुटका नेताबाट समस्या हुन थालेपछि देउवा तत्काल महाधिवेशन नगरेर लम्ब्याउन खोजिरहेका छन्। यद्यपि, उनले भदौमा महाधिवेशन गर्ने विषय इन्कार भने गरेका छैनन्। केही सहज वातावरण बनाएर मात्रै महाधिवेशन गर्न चाहिरहेका छन्।
र, यसका लागि उनी कानुनी छिद्रको खोजीमा छन्। कोरोना महामारीको समयलाई शून्य अवधि मानेर आफूअनुकूल समयको खोजीमा देउवा लागेका छन्। सर्वोच्च अदालतले २–३ महिनाको ‘लकडाउन’ लाई शून्य अवधि मानेकाले त्यसको लाभ उठाउँदै महाधिवेशन सार्न सकिने विषयमा कांग्रेसभित्र आन्तरिक छलफल सुरू भएको छ। तीन महिनाको शून्य अवधि देखाएर कार्तिक अथवा मंसिरभित्र महाधिवेशन गर्ने विषयमा छलफल सुरू भएको कांग्रेसका एक नेताले बताए। ‘कार्यतालिका प्रभावित भइसकेको छ, क्रियाशील सदस्यता विवाद पनि पूर्ण रूपले टुंगिएको छैन,’ ती नेताले आयोमेलसँग भने,‘लकडाउनको अवधिलाई शून्य समय मानेर २–३ महिना लम्बयाउने विषयमा छलफल चलेको छ।’
पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौमा केन्द्रीय महाधिवेशन सम्भव नरहेको सबै नेताले बुझिसके पनि हुँदैन भनेर अपजस लिनमात्रै नखोजेको उनले बताए। ‘भदौमा महाधिवेशन हुँदैन भनेर शीर्ष नेताहरूले पनि बुझिसक्नु भएको छ। तर, बोल्न चाहिरहनु भएको छैन,’ उनले भने,‘पहिले कसले बोल्ने एकअर्कालाई कुरेर बसिरहनु भएको छ। आफूमाथि चार्ज लिन कसैले चाहनुभएको छैन।’ कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ पनि अहिलेकै कार्यतालिकाअनुसार महाधिवेशन सम्भव नरहेको बताउँछन्। अहिलेसम्मको स्थिति अनुसार भदौको पहिलो वा दोस्रो सातासम्म स्थानीय तह अधिवेशनमात्र सुरू गर्न सकिने उनको भनाइ छ। अहिलेकै कार्यतालिकाअनुसार महाधिवेशन सम्भव देखिँदैन। अहिलेको स्थिति हेर्दा भदौको पहिलो वा दोस्रो साता स्थानीय तह अधिवेशन सुरू गर्न सकिन्छ,’ उनले भने,‘स्थानीय तह अधिवेशन सुरू गरिसकेपछि नयाँ कार्यतालिका बनाएर महाधिवेशन प्रक्रिया सुरू भइसकेको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने हुन्छ।’
भदौमा स्थानीय तह सुरू गरिसकेपछि कात्तिक मंसिरसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्न सकिने गुरुङले बताए। क्रियाशील सदस्यता नै टुंगिसकेकाले भदौमै महाधिवेशन हुन्छ भनेर नेताहरूले रटान लगाउनु बेकार रहेको उनको भनाइ छ। ‘आजको मितिसम्म क्रियाशील सदस्यता टुंगिएको छैन। नेताहरूले गर्छु गर्छु अनि अर्कोले गर्नुपर्छ गर्नुपर्छ बेकारको भनिमात्र रहनु भएको छ,’ उनले भने,‘चाँडैभन्दा चाँडै क्रियाशील सदस्यता टुंग्याएर नयाँ कार्यतालिका बनाउनतर्फ जुट्नुको विकल्प छैन।’ क्रियाशील सदस्यता टुंगिएर महाधिवेशन गर्न ५०–५५ दिन लाग्ने भएकोले भदौमा महाधिवेशन कुनै हालतमा सम्भव नरहेको गुरुङले बताए। भदौमा स्थानीय तहको अधिवेशन सुरू गरेर दुई तीन महिनापछि आउनै लागेको दशैं, तिहार र छठलाई ध्यानमा राख्दै नयाँ कार्यतालिका बनाउनतर्फ गम्भीरताका साथ लाग्न नेताहरूलाई उनको सुझाव छ।
सभापति देउवाले भदौ १६ मा जसरी पनि महाधिवेशन उद्घाटन गर्ने बताइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले हुनैपर्छ भन्दै आइरहेका छन्। जबकि कार्यतालिकाहरू प्रभावित हुँदा तोकिएकै मितिमा महाधिवेशन सम्भव देखिएको छैन। महाधिवेशन सम्पन्न गर्न देखिएका समस्या र व्यवधानबारे कांग्रेसका शीर्ष नेताहरू कार्यकर्ताहरूलाई प्रष्ट पार्न हिचकिचाइरहेका छन्। केन्द्रीय सदस्य गुरुङ महाधिवेशनको यथार्थ धरातलबारे सुसूचित गराउने दायित्वबाट नेताहरू चुकिरहेको तर्क गर्छन्। ‘सभापतिले भदौ १६ मा म उद्घाटन गर्छु भन्नुहुन्छ, वरिष्ठजीले पनि हुनुपर्छ हुनुपर्छ भनिरहनु भएको छ,’ गुरुङले भने,‘यथार्थको धरातल यो हो र यसबारे सबैलाई सुसूचित गर्नुपर्दछ। उहाँहरू यो दायित्वबाट पन्छिन खोजिरहनु भएको छ। भदौ १६ गते उद्घाटन गर्छु सभापति देउवाले भनिरहनु भएको सायद वडा तहको हो कि जस्तो लागेको छ।’
भदौको पहिलो वा दोस्रो साता स्थानीय तहको अधिवेशन सुरू गरी निर्वाचन आयोगलाई कार्यतालिका बुझाइदिए महाधिवेशनको प्रक्रिया आरम्भ भएको मानिने उनको भनाइ छ। विधानअनुसार कांग्रेसले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ। पाँच वर्षभित्र महाधिवेशन गर्न नसकेपछि विधान प्रयोग गरेर देउवाले एक वर्ष कार्यकाल लम्ब्याए। त्यो एक वर्ष गत फागनुमै सकियो। फागुनमा महाधिवेशन गर्न नसकेपछि उनले संविधानले दिएको सुविधाको फाइदा उठाउँदै ६ महिना थप्दै भदौको पहिलो साता महाधिवेशन तोके। कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र समायोजनको काम सकिन नसकेपछि भदौ १६–१९ सम्म महाधिवेशनको मिति तोकियो। तर, यो मितिमा पनि कांग्रेसको महाधिवेशन नहुने लगभग पक्का भइसकेको छ। संविधानअनुसार थपिएको ६ महिनाभित्र पनि महाधिवेशन हुन नसके राजनीतिक दललाई ५० हजार जरिवाना तोकेर थप ६ महिनाभित्र महाधिवेशन गर्न आयोगले निर्देशन दिनसक्ने व्यवस्था कानुनमा छ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल