Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महानगरमा छैन झगडा

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर सुनीता डंगोलले महानरभित्र केही झगडा नरहेको बताएकी छन् । उनले मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा नरहेको आशय व्यक्त गरिन् । महानगरभित्र कहीँ झगडा छैन । यदि झगडा कतै छ भने सोसल मिडियामा छ, उनले भनिन् । बिहीबार काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आइएसएसआरले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीको मेयर तीर्थराज भट्टराईले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताइन् । उनले विभिन्न भिडिओ, फोटोहरुको जबरजस्ती एडिट गरेर यस्तो देखाइएको उनले बताइन् । अब जबरजस्ती भिडिओ एडिटिङ गरेर झगडा पार्दिन्छ । कहाँको कहाँको भिडिओ जबरजस्ती मिलाइदिन्छ भने त्यसमा मलाई भन्नु केही छैन, उनले भनिन्, कता कताको फोटो एडिट गरेर झगडा भएको जस्तो बनाइदिन्छ भने त्यसमा पनि मेरो भन्नु केही छैन । यद्यपि संस्थागत रुपमा केही पनि झगडा नभएको तर प्रजातन्त्रमा वाद, विवाद र संवाद हुनुपर्ने बताइन् । तर अ्याज एन इन्स्टिच्युसन । आइ एम भेरी मच कमिटेड टु इन्स्टिच्युसन । आइ एम भेरी मच कमिटेड टु माइ पिपल । महानगरपालिकालाई मैले झगडा गरेको कारणले अहित हुन्छ भने म झगडा गर्दिनँ । तर त्यो भन्दाभन्दै डेमोक्रेसीमा वाद, विवाद अनि संवाद हुन जरुरी छ । चित्त बुझ्छ, चित्त बुझ्दैन सल्लाह गर्ने हो । संवाद गर्ने हो । निचोडमा ल्याउने हो । र त्यसमा हरदम प्रयास गर्छु, उनले भनिन् । त्यस्तै, उनले महानगरको खर्च कम हुनुमा १०४ दिन प्रमुख प्रशासकीय अधिकृत नभएर त्यस्तो अवस्थाको सिर्जना भएको बताइन् । खर्चको कुरामा पनि गरिहाल्नुभो । महानगरपालिकामा १०४ दिनसम्म जसले खर्च गर्ने सिग्नेचर चल्ने व्यक्ति प्रमुख प्रशासकीय अधिकृत नहुँदाखेरि ठप्प भएको हो । तर प्रमुख प्रशासकीय अधिकृतले अहिले काम थाल्नुभएसँगै त्यो दिन समस्या भएको दिन होइन, १०४ दिन ठप्प भएको समस्याको समाधान भएको दिन हो । अब त्यसलाई पनि मिडियाले पनि कुन हिसाबले विश्लेषण गर्छ भन्ने कुरा मेरो होइन हाम्रो मिडियाको काम हो । म मेरो काम चाहिँ एकदमै बफादार छु । यहाँ आफैं प्रमुख हुनुहुन्छ । उपप्रमुखलाई खर्च किन भयो भएन भनेर के सोध्नु ?, उनले भनिन् ।


सम्बन्धित समाचार