Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीभित्र चुलियो शक्ति संघर्ष

काठमाडौं । माओवादीभित्रको शक्ति संघर्षले बेला बेला राजनीतिक माहोल तताउने गरेको छ । उपमहासचिव जनार्दन शर्माले पार्टीमा निरंकुशता हाबी भएको भन्दै हालै दिएको अभिव्यक्तिले नेकपा माओवादी केन्द्रभित्र खैलाबैला उत्पन्न गरेको छ। शर्माको अभिव्यक्ति अक्षम्य खालको रहेको भन्दै सो पार्टीका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कठोर कदम चाल्न सुझाव दिएका छन्। माओवादी नेताहरूका अनुसार शर्माले पार्टीलाई क्षति पुग्नेगरी बोलेकाले त्यसलाई सामान्य नठान्न उनीहरूले प्रचण्डलाई आग्रह गरेका छन्। साउन ६ गते ५७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट पार्टीहरू नोकरशाही केन्द्रीयतामा परिणत भएकोले समीक्षा गर्ने बेला भएको बताएका थिए। शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिस्ट पार्टीहरूले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको आरोप समेत लगाएका थिए। शर्माको उक्त अभिव्यक्ति अध्यक्ष प्रचण्डप्रति लक्षित रहेको भन्दै प्रचण्डपक्षीय नेताहरू क्रुद्ध छन्। केहीले सामाजिक सञ्जालबाटै शर्माको भनाइको प्रतिवाद गरेका थिए। त्यसपछि अध्यक्ष प्रचण्डलाई भेट्ने पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नेताले शर्मालाई कारबाही गर्नुपर्नेसम्मको प्रस्ताव राखेका छन्। शर्माले पार्टी विभाजन गर्ने तयारी गरेको ती पदाधिकारीको आरोप छ। साउन १६ गते माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। सो बैठकमा यसबारे छलफल हुनसक्ने पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बताए। शर्माको भनाइ सार्वजनिक भएको ६ दिन भइसकेको छ। तर, यो विषय माओवादी पार्टीभित्र भने सेलाउनेभन्दा चर्किने दिशामा छ। शर्माको भनाइको विरोध र बचाउ दुवै भइरहेको छ। उपमहासचिव वर्षमान पुनले शर्माप्रति संकेत गर्दै नेतृत्वलाई कमजोर बनाउने प्रवृत्तिको विरोध गरे। साउन १२ मा पुनले पार्टी रूपान्तरण भइरहेको बेला नेतृत्वलाई आरोप लगाउनु गलत भएको बताए। उपमहासचिव मात्रिका यादवले पनि शर्माको भनाइ पार्टीलाई धक्का दिने खालको भएको टिप्पणी गरे। यद्यपि, पार्टी कारबाहीको तहसम्म पुग्ने सम्भावना नभएको उनी बताउँछन्।
आफूप्रति लक्षित शर्माको साउन ६ गतेको अभिव्यक्तिले आक्रोशित देखिएका प्रचण्डले भोलिपल्टै साउन ७ गते ‘समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा त्यसको जवाफ फर्काए। अन्य पार्टीभित्र जस्तो आफूले नेतामाथि अनुशासनको डण्डा नचलाएको पनि बताए। प्रचण्ड कठोर रूपमा प्रस्तुत हुनसक्ने आशंका शर्मालाई पनि छ। त्यही भएर उनीपक्षीय नेताहरू बचाउमा लागेका छन्। शर्माले डेढ वर्षअघिदेखि पार्टीभित्र विधिको कुरा उठाउँदै आएको उनीहरू बताउँछन्। उनकै माग अनुसार असारमा केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय भए पनि कार्यान्वयन नभएको शर्माको गुनासो छ। शर्माले पार्टीभित्र विधि स्थापित हुनुपर्ने कुरा मात्र उठाएको सांसद सुदन किरातीको तर्क छ। माओवादी पार्टीभित्र प्रश्न उठाएर भाग्ने र प्रश्न उठाउनेलाई विभाजनको आरोप लगाएर लखेट्ने चलनलाई आफूहरूले चिर्ने उनको भनाइ छ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल