Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीभित्र शुरु भयो राष्ट्रपतिको बहस

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनबारे छलफल अघि बढाएका छन् । सत्ता गठबन्धनका नेताहरुसँग छलफल चलाएका दाहालले आज पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत यसबारे छलफल गरेका हुन् । सो बैठकमा दाहालले राष्ट्रपति निश्पक्ष हुनुपर्ने भन्दै विगतमा त्यस्तो नहुँदा संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको संकेत गरेका थिए । उनले पार्टीका सक्रिय नेतालाई भन्दापनि राष्ट्रपतिमा सबै दलको साझा हुने व्यक्तित्वको खोजी भैरहेको सुनाएका छन् । पुष १० गते प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवासमा जानुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपतिलगायतका महत्वपूर्ण पदका बारेमा सहमति भएको बताईएको छ । जसअनुसार राष्ट्रपति एमालेले पाउने सहमति भएको एमाले नेताहरुको भनाई छ । तर, माओवादी केन्द्रका नेताहरु भने अब एमालेले अघि सार्ने व्यक्ति नै राष्ट्रपति हुने सम्भावना नभएको निश्कर्षमा पुगेका छन् । २६ पुषमा संसद्मा विश्वासको मत लिँदै गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई मत दिएको थियो । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा समझदारी खोजिने बताउँदै आएका छन् । त्यसको संकेत राष्ट्रपतिमा कांग्रेसलाई सघाउन खोजेको भनेर चर्चा हुन थालेको छ । एमाले नेताहरुपनि राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई सघाउनेगरि अघि बढेको हो कि भन्नेमा संशकित छन् । आजमात्रै प्रधानमन्त्री दाहालसँग एमाले अध्यक्ष ओलीले भेट गरेका थिए । आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भनिएको थियो । तर, आजको बैठक स्थगित् भएको छ । भोलि विहान ९ बजे संयन्त्रको बैठक बालुवाटारमा बस्ने तय भएको छ । सो बैठकमा राष्ट्रपतिको निर्वाचन र रास्वपाको सरकारबाट बहिर्गमनको विषयमा छलफल हुने बताईएको छ ।