Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीमा औंला उठाउने जनार्दन मात्रै रहेनन्

काठमाडौं । अति भएपछि विद्रोह हुन्छ हुन्छ । झण्डै ४ दशकदेखि एक छत्र राज गरिहेको नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब त्यति सहज भने छैन । उनलाई नयाँ तरिकाले पार्टी चलाउन नेताहरूले दबाब दिएका छन्। अहिले पार्टी सञ्चालन विधि राम्रो नभएको भन्दै केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरूले तत्काल रणनीति फेर्न, नभए नेतृत्वकै विषयमा सोच्न सुझाव दिएका छन्। बागमती प्रदेश परामर्श समितिको बुधबार र बिहीबार बसेको बैठकमा ८२ जना नेताले धारणा राखेका थिए। बोल्ने अधिकांश नेताले प्रचण्डको विकल्प खोज्न नहुने बताए पनि पार्टी संगठन र सञ्चालनको शैली हुँदै नभएको बताए। केही नेताहरूले उपमहासचिव जनार्दन शर्माले अघि सारेको प्रस्तावलाई समर्थन गर्दै धारणा राखेका थिए। शर्माले साउन २६ गतेको स्थायी समिति बैठकमा माओवादीभित्रको समस्या, पार्टी निर्माण लगायत विषयमा १२ पृष्ठको प्रस्ताव पेस गरेका थिए। शर्माकै प्रस्ताव आएपछि माओवादीले प्रदेशमा रहेका केन्द्रीय सदस्य र पदाधिकारीसँग बैठक राखेर धारणा बुझ्न खोजेको हो। तर, कतिपय नेताहरू शर्माको पक्षमा उभिएका छन्। बोल्ने धेरै नेताहरूले प्रचण्डको सचिवालयप्रति प्रश्न उठाएका छन्। बागमती प्रदेश परामर्श समिति बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी समेत गरी १२० जना सहभागी थिए। सबैलाई बोल्नको लागि ५ मिनेटको समय दिइएको थियो। केन्द्रीय सदस्य हिरानाथ खतिवडाले पार्टी बन्ने छाँटकाँट नदेखिएको बताए। उपमहासचिव शर्माले अघि सारेको तत्काल महाधिवेशनको प्रस्तावमा उनले समर्थन जनाए। तर, केन्द्रीय सदस्य पदमा राईले खतिवडाको प्रस्ताव खण्डन गर्दै प्रचण्डको विकल्प नभएको बताइन्। अर्की नेतृ सुशीला पौडेलले प्रचण्ड र जनार्दनबीच चलेको संघर्षप्रति आपत्ति जनाइन। ललितपुर इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य हरि दाहालले पार्टी बनाउने अवसरमा यस्तो बहसले सहयोग नगर्ने भन्दै जनतामा जाने कार्यक्रम बनाउन सुझाव दिए। तर, अर्का नेता अनिल शर्माले उपमहासचिवको प्रस्तावमा सबैतिर छलफल चलाउन आग्रह गरे। केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले पार्टीभित्रको समस्या टालटुल नगर्न चेतावनी दिए। ऋषिराम काफ्लेले ठूलो पंक्ति वैचारिक रूपमा टाट पल्टिसकेको बताए। श्याम श्रेष्ठले संगठनमा देखापरेको भद्रगोल चिर्नुपर्ने बताए।
अध्यक्ष प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा सहितका नेताहरूको अगाडि केन्द्रीय सदस्यहरू आक्रामक रूपमा प्रस्तुत भएको बैठकमा रहेका नेताहरूले बताए। राधिका तामाङले पार्टीमा सबैको विकल्प खोजिएको बताइन्। केन्द्रीय सदस्य कल्पना धमलाले विधि र पद्धतिमा पार्टी नचलेको आरोप लगाइन्। उनले पार्टी निर्माणका लागि सहरलाई जोड दिन र गाउँलाई ध्यान दिन नेतृत्वको ध्यानाकर्षण गराइन्। सांसद समेत रहेका केन्द्रीय सदस्य माधव सापकोटाले दलाल नोकरशाही पुँजीवादसँग सम्झौता नगर्दा सरकार ढालिएको भन्दै प्रचण्डको नेतृत्वलाई झन् बलियो बनाउनुपर्ने बताए। अर्की सांसद मीना तामाङले पार्टीभित्रको छलफल बाहिर पुगेकोमा आपत्ति जनाइन्। उनले पार्टी अध्यक्ष भेट्न नपाएको गुनासो गरिन्। तर, प्रदेश सांसद रहेकी उर्मिला लामा प्रचण्डको पक्षमा उभिइन्।
केही नेताहरूले पार्टी विभाजनको हल्लाले निराशा छाएको धारणा राखे। लक्ष्मी गुरुङले व्यक्तिगत धारणालाई अतिरञ्जित गर्न जरुरी नभएको बताइन्। आगामी चुनावमा एक्लै लड्ने गरी मैदानमा जानुपर्ने उनको भनाइ छ। ठाकुर ढकालले रूपमा क्रान्तिकारी सारमा दक्षिणपन्थी अवसरवाद देखापरेको टिप्पणी गरे। सीता अधिकारीले पार्टी सक्किने कि सच्चिने भन्ने ठाउँमा पुगेको भन्दै संसदीय राजनीतिले पार्टीभित्रको एकतामा असर परेको बताइन्। ईश्वरी भट्टराईले पार्टी बिग्रेकोमा माथिको नेता जिम्मेवार रहेको आरोप लगाए। शंकर दुलालले पार्टी मेरिटोक्रेसीबाट अगाडि बढाउनुपर्ने प्रस्ताव राखे। डा. बुद्धि नेपालीले सरकारलाई सफल बनाएकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बधाई दिए। नवीन जिरेलले नेताहरूमा क्रान्तिकारी धार सकिएको बताए। अर्का केन्द्रीय सदस्य इन्द्रबहादुर थिङले भने, पार्टी बिग्रियो भनेर हामीले भनेको हो अरुले हैन, त्यसैले बन्यो भनेर लागौँ। नेतृत्वको केन्द्रीकरण गरौँ।
यस्तै, ईश्वरचन्द्र ज्ञवालीले माओवादी पार्टी संगठनमाथि फुकेको तल सुकेको अवस्थामा रहेकोले सुधार गर्नुपर्ने बताए।