Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीमा टिके पदाधिकारीको प्रयास

काठमाडौँ । माओवादी केन्द्रमा टिके पदाधिकारी चयनको प्रयास भइरहेको छ । माओदीका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने बताए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्रयास भइरहेको छ । दाहाल हलबाट सर्वसम्मत केन्द्रीय सदस्य टुंगो लगाउने र उनीहरूबाट पदाधिकारी चयन गर्ने योजनामा छन् । पदाधिकारी सर्वसम्मत हुने अवस्था नआए केन्द्रीय सदस्य टुंगो लगाएर महाधिवेशन समापन गर्ने विषयमा समेत छलफल चलेको छ । दाहालनिकट नेताहरूका अनुसार जारी महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना कम छ । सर्वसम्मत गराउन अध्यक्ष दाहालले निकट नेताहरूसँग परामर्श थालेको एक स्थायी समिति सदस्यले जानकारी दिए । युवा नेताहरूले भने सर्वसम्मतका नाममा खुला प्रतिस्पर्धालाई रोक्न नहुने आवाज उठाइरहेका छन् । केन्द्रीय सदस्य दलजित श्रीपालीले अध्यक्ष दाहालको विकल्प नभए पनि अरूका लागि प्रतिस्पर्धा हुनुपर्ने बताए । अर्का एक नेताले खासगरी महासचिवमा सहमति हुन नसके अरू पदाधिकारी पछि केन्द्रीय समितिले चयन गर्ने गरी महाधिवेशन समापन गर्ने छलफल चलेको जानकारी दिए । मंगलबार बसेको स्थायी समिति बैठकले समावेशीतर्फको कोटा निर्धारणका लागि देव गुरुङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विष्णुपुकार श्रेष्ठ रहेको समिति बनाएको छ । समावेशीतर्फको कोटा टुंगो लागेपछि व्यक्ति चयनबारे औपचारिक छलफल सुरु हुने एक नेताले बताए । पार्टीको निर्वाचन आयोगले बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान पारित भएलगत्तै चुनावी प्रक्रिया थाल्ने जनाएको छ ।