Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्व विशिष्टहरु राज्यको भत्ता खाएर निस्क्रिय बस्ने होइन, फेरि सक्रिय राजनीतिमा आउन सकिन्छ भन्ने उदाहरण दिएका छन् पूर्व उपराष्ट्रपति नन्दरबहाुदर पुनले । नौ वर्षपछि माओवादीमा फर्किएर उपाध्यक्ष बनेका नन्दबहादुर पुन पासाङको फूर्तिफार्ती नै बेग्लै छ। तराई–मधेस जनजागरण अभियानमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै उनी विभिन्न जिल्लामा पुगिरहेका छन्। हरेक दिन प्रचण्ड मर्निङ वाकमा निस्किँदा उनीसँगै पार्टीका पदाधिकारीहरू पनि कुद्छन्। तर, पुन पूर्व जनमुक्ति सेनालाई लिएर प्रचण्डको अघिअघि हिँड्छन्। २०७२ कात्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी २०७४ मा फेरि दोहोरिएका थिए। २०७९ चैत ६ गते उपराष्ट्रपतिको कार्यकाल सकिएको २२ महिनापछि गत पुसदेखि माओवादीको पदाधिकारी बैठकमा सहभागी हुन थाले। उनलाई उपाध्यक्षकै हैसियत दिइएको थियो। यद्यपि, चैत २४ गते मात्रै औपचारिक निर्णय गर्दै तल्ला कमिटीलाई परिपत्र पठाएको थियो। पुन थपिएसँगै माओवादीमा वरिष्ठसहित पाँच उपाध्यक्ष भएका छन्। यो पनि विधान अनुकूल भने होइन। किनकि, माओवादी विधानमा वरिष्ठसहित ४ उपाध्यक्ष रहने प्रावधान छ। आगामी असारमा केन्द्रीय समितिलाई आयोजक कमिटीमा रूपान्तरण गर्ने निर्णय भइसकेको छ। त्यसो हुँदा अध्यक्षबाहेक सबै नेताको हैसियत आयोजक समिति सदस्य हुनेछ। यो त पछिको कुरा भयो। हाललाई उपाध्यक्ष बनेर पार्टीको उत्पादन विभाग संयोजक बनेका पुनको वरीयताका विषयमा पार्टीमा चासो छ। यसअघि सभामुख भएर फेरि पार्टी काममा सक्रिय भएका कृष्णबहादुर महरा र अग्नि सापकोटा उपाध्यक्ष नै छन्। सापकोटा त महाधिवेशन पछि मात्र उपाध्यक्ष नियुक्त भएका हुन्। उनीहरू दुवैलाई पम्फा भुसालभन्दा अगाडि राखिएको छ। माओवादीको आधिकारिक वेबसाइट अनुसार पहिलो नम्बरमा प्रचण्ड छन्। त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम छ। तेस्रो नम्बरमा उपाध्यक्ष महराको नाम छ, चौथो नम्बरमा उपाध्यक्ष सापकोटा छन् र पाँचौँ नम्बरको उपाध्यक्षमा भुसाल छिन्। वेबसाइटमा पुनको नाम अद्यावधिक गरिएको छैन। तर, उनी जिम्मेवारीमा फर्किएर पनि काम गरिररहेका छन्। अध्यक्ष प्रचण्डनिकट एक नेताका अनुसार उपाध्यक्ष पुनको रोल नम्बर ४ हो। पुसयता बसेको माओवादीको पदाधिकारी बैठकलाई मात्र हेर्ने हो भने पनि मञ्चमा महरापछि पुन बसेका देखिन्छन्। प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा पनि महरा लगत्तै पुन बसेको तस्बिर देखिन्छ। चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकमा पनि पुन महरापछि बसे। अर्का पदाधिकारीले पनि महरापछिको वरीयतामा पुन नै रहने बताए। यद्यपि, औपचारिक निर्णय नगरिएको उनी बताउँछन्।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल