Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीले कार्यक्षेत्रमा नखट्ने नेतालाई कारबाही गर्ने

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता तथा कार्यकर्तालाई चार श्रेणीमा विभाजन गरी सम्मान र कारबाही गर्न निर्देशन दिएका छन् । उनले चार महिने माओवादी विशेष रुपान्तरण अभियानमा खट्ने नेता तथा कार्यकर्ताको मूल्यांकन गरी प्रशंसा र कारबाही गर्नुपर्ने बेला भएको उल्लेख गर्दै अब कामको आधारमा मूल्यांकन हुने बताए ।

दुई दिन चलेको केन्द्रीय समिति बैठकका निष्कर्ष सुनाउँदै दाहालले अभियानमा नखट्ने नेतालाई कारबाही गर्न निर्देशन दिएका हुन् । माओवादी विशेष रुपान्तरण अभियानमा नखट्नेलाई कारबाही हुन्छ । अब कामको आधामार मूल्यांकन हुनेछ दाहालको भनाइ छ ।

उनले पार्टी अभियानमा पूरै खट्ने नेतालाई प्रशंसापत्र, आधा समय खट्नेलाई धन्यवादपत्र, अभियानमा बेलाबेला देखिएकालाई सचेतपत्र र कार्यक्षेत्रमा नखट्नेलाई कारबाहीपत्र दिन निर्देशन दिएका हुन् । उनले अभियानमा नखट्ने नेताहरुको सूची कारबाहीका लागि पठाउन निर्देशन समेत दिए ।

केन्द्रीय समिति बैठकले हिमाल, पहाड, तराई र मधेश प्रदेशमा विशेष अभियान चलाउने निर्णय पनि गरेको छ । तराई मधेशमा संगठन बलियो बनाउन अति आवश्यक छ’ दाहालको भनाइ उद्धृत गर्दै स्थायी समिति सदस्य कमला रोकाले भनिन्, त्यस्तै हिमाल, पहाड र तराई केन्द्रित अभियान चलाइने छ ।

दाहालले फागुन एकदेखि सुरु हुने विधान अधिवेशन सकिएपछि अभियानको योजना बनाउने जानकारी दिए । उनले पार्टी संगठन कमजोर भएको क्षेत्रमा जनपरिचालन गर्ने निर्णय पनि सुनाए । विधान अधिवेशनपछि वडादेखि केन्द्रसम्म सम्मेलन गरी विचार संश्लेषण र संगठन पुननिर्माणमा जुट्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।

विधान अधिवेशनमा विधानलाई अन्तिम रुप दिई पारित गरिने छ । स्थानीय, प्रदेश, प्रवाशबाट आएका सुझावका आधारमा विधान पारित गर्ने माओवादीको तयारी छ । अधिवेशनमा सबै प्रदेश र प्रवाशबाट करिब एक हजार तीन सय प्रतिनिधि सहभागी हुँदैछन् ।