Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी केन्द्रको पदाधिकारी आज टुंगिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । मंगलबारका लागि तय भएको बैठक पदाधिकारी टुंगाउनका लागि आन्तरिक गृहकार्य भन्दै स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा मंगलबार दिनभर आन्तरिक छलफल गरेको माओवादीले आजको बैठकमार्फत पदाधिकारीसहितको विषय टुंग्याउने तयारी गरेको छ।
पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएपछि आज त्यसअनुसार अध्यक्षले बैठकमा पेस गर्ने नेता दिनानाथ शर्माले जानकारी दिएका छन् । विधान अनुसार माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीसमेत छ ।
प्रज्ञा भवनमा आइतबार सुरु भएको बैठकमा नेताहरुले बैठक लम्ब्याएर भए पनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिइरहेका छन् । गत पुसमा महाधिवेशन भए पनि माओवादीमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन ।