Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मातृ स्नेहले पुरिँदै बाल मस्तिष्कघात

जीवनमा केही अनपेक्षित घटना भए हामी भाग्यलाई दोष दिने गर्छौं । कुनै एक पक्षमा आफू कमजोर भए विकल्प खोज्दैनौँ । मानसिक तनाब लिन्छौँ । जीवनलाई धिक्कार्दै बस्छौँ । स–साना कठिनाइमा पनि यस्ता व्यवहार देखाउने व्यक्तिहरूका लागि उत्प्रेरणाको स्रोत हुन्, कविता शर्मा । हरेक अभिभावकले चाहन्छन्, आफ्ना सन्तान सबैभन्दा उत्कृष्ट बनोस् । तीक्ष्ण होस् । आफ्नो सपनाअनुसार समाजले उदाहरण ठानेको पेसामा स्थापित होस् । कवितामा पनि यी आकांक्षा हुनु स्वाभाविक हो, थियो पनि । त्यसैले गर्भावस्थाको समय पार गरी सन्तान धर्तीमा आउने बेला फुरुङ्ग थिइन् । एउटी आमाको लागि सन्तान भएपछिको सुख जस्तो अर्को के हुन्छ होला र ? कविता आमा बन्दा घर–परिवारमा खुसीको सीमा रहेन । उनी स्वयंमा नहुने त विषय नै रहेन । परिवारमा नयाँ सदस्यको आगमनले परिवार र आफन्तजनमा नयाँ

उमङ्ग थपिदिएको थियो । कविता एक जागिरे महिला । सुत्केरी बिदा सकिएपछि दैनिक काममा लागिन् । छोरा प्रतीक जन्मिएको तीन महिना नपुग्दै श्रीमान् उच्च शिक्षाको लागि विदेशिए ।
परिवारमा घरमा सासू, ससुरा अनि सानो बाबुसँगै उनको दैनिकी चलिरह्यो । घर अनि कार्यालयको काम गर्दै उनको दैनिकी अघि बढिरहेको थियो । छोरा हुर्कंदै त थियो तर अन्य सामान्य बालबालिकामा जस्तो शारीरिक विकास भने देखिएन । नौ महिनाको हुँदा सामान्यतया बालबालिका उभिन सुरु गर्छन् । कविताको छोराले त्यसो गरेन । ‘केही कारणले ढिलो विकास भयो होला भनेर एक–दुई महिना छोराको विकास कु¥यौँ’, कविताले भनिन्– ‘तर जसरी परिवर्तन हुनुपथ्र्योे, त्यसो भएन ।’ बालकको हेराइ, बोलाइ र अन्य प्रतिक्रिया राम्रो भए पनि शारीरिक विकास नभएपछि ११ महिनामा उसलाई धुलिखेल अस्पताल लगेर जँचाइन् । डाक्टरले छोराको जाँच गरिसकेपछि दिएको प्रतिक्रियाले उनलाई अहिले पनि झस्काउँछ । भनिन्– ‘उहाँले बाबुको जाँचपछि भने– ‘तपाईंको बच्चा कहिल्यै पनि शतप्रतिशत सामान्य हुन सक्दैन । उसलाई सेरेवल पल्सी अर्थात् बाल मस्तिष्कघात भएको छ ।’ त्यतिबेला छाँगाबाट खसे झैँ भइन् उनी । आँखाबाट आँसु रोकिएन । अहिले पनि त्यो क्षण सम्झिँदा उनी भावुक हुन्छिन् । त्यतिबेला डाक्टरले ‘यस्तो केसका बालबालिकाको बौद्धिक र शारीरिक दुवै विकास राम्रो हुँदैन ।’ भनेको कुरा उनको दिमागमा अझै ताजै छ । ‘बिना केही शब्द बच्चा च्यापेर अस्पतालबाट बाहिरिएँ । मनमा अनेक कुरा खेल्न थाले । साँच्चै मेरो बच्चा त्यस्तै हुन्छ होला त ? मनमा यस्तै–यस्तै कुरा खेलिरहे । निद्रा आउने कुरै थिएन’– विगत सम्झँदै उनले भनिन् ।
छोरा सामान्य अवस्थामा नआउने चिकित्सकबाट थाहा भएपछि उनले आफूभित्र दृढ सङ्कल्प गरिन् । भन्छिन्– ‘अब मैले बच्चालाई राम्रो बनाउनु छ, उसकै लागि के गर्न सक्छु, त्यसतर्फ लाग्नुपर्छ भन्ने खुलदुलीले सताउन लाग्यो ।’ त्यसपछि छोराको सुधारको लागि गर्न सकिने क्रियाकलापबारे सोधखोज गर्न थालिन् । घरमा सकेसम्म बच्चालाई सजिलो हुने सामग्रीको जोहो गर्न पनि सुरु गरिन् । उनकै भनाइमा आफ्नो सन्तानलाई १०० प्रतिशत मात्र होइन, ५०० प्रतिशत बनाउँछु भनेर लागिन् । छोरा ११ महिनाको भएपछि फिजियोथेरापी गराउन थालिन् । त्यसपछि छोरामा सुधार पनि हुँदै गयो । एकातर्फ उनको आशाले ठाउँ पायो । छोरामा क्रमिक सुधार हुँदै थियो तर समाजमा भने कविता स्वयं अपमानित हुँदै थिइन् । अपाङ्गतालाई पूर्वजन्मको पाप वा अन्य परिभाषा दिने समाजका कारण छोराको अवस्थालाई लिएर उनले अनावश्यक टिप्पणी झेल्नुप¥यो । उनी भन्छिन्– ‘न त अपाङ्गता भएका व्यक्तिको अपमान गर्नेसँग तँ तँ र म म गर्न सकेँ, न सम्झाउन नै ।’
अहिले उनको छोरा सात वर्षको पुगे । योबीचमा सात सयभन्दा धेरै पटक ‘तँ अपाङ्गता भएको बच्चाकी आमा होस्, त्यस कारण तैँले अपमान सहनुपर्छ’ भन्ने खालको व्यवहार भोगेकी छिन् । अपाङ्गता भएका व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोण राम्रो नभएरै सार्वजनिक यातायात होस् वा भीडभाड स्थान उनलाई हरेक पटक अप्ठ्यारो पर्ने गरेको छ । तर पनि उनी अघि बढिन् । कविताले भोगेका समस्याका अनेकौँ पाटोमध्ये छोरालाई विद्यालय पठाउने समयको पनि एक हो । कविताले सम्झिइन्– ‘विद्यालयहरूले छोराको हेरचाह गर्नकै लागि अन्य एकभन्दा बढी शिक्षक थप्नुपर्ने समस्या देखाउँदै भर्ना गर्न मान्दैनथे ।’ भर्ना लिइहाले पनि अपाङ्गतामैत्री संरचना नहुँदा विद्यालय पठाउने सपनालाई पनि थाती राख्नुपरेको अनुभव कवितासँग छ । कतिले त अपाङ्ग आश्रममा लगेर राखिदेऊ भन्थे ।
अहिले कविताका छोरा मामाघरमा बसेर अध्ययन गर्नुका साथै फिजियोथेरापीको उपचार पनि गरिरहेका छन् । कविता थप्छिन्– ‘बच्चाको आत्मबल बढाउँदै उसको स्वास्थ्यका लागि उपयुक्त क्याल्सियम, प्रोटिनयुक्त खानाले गर्दा सिँढी समातेर हिँड्न सक्ने र सहारामा अलि स्थान पार गर्न सक्ने भएको छ ।’ उनले अझ थपिन्– ‘हौसलाको कडी थामेर प्रयास गरिरहेकी छु ।’ हुन त उनलाई एउटा बच्चा पनि आफूसँग राख्न नसकेर माइतमा राखेकी छ भन्ने पनि छन् । यस्ता अनावश्यक टिप्पणीले उनको आँखाबाट आँसु खस्छ । मनमा गहिरो चोट पर्छ । यद्यपि सन्तानको लागि जस्तोसुकै टिप्पणी सहने क्षमता भइसकेको छ उनमा । छोराको सुधारका लागि परिवारको भने पूर्ण साथ छ । भाइहरूको हौसलाले पनि उनलाई प्रेरणा दिएको छ । कविता हरेक पटक श्रीमान्सँगै रहेर छोराको सुधारबारे छलफल गर्न चाहन्छिन् । तर विदेश अध्ययन गर्न गएका श्रीमान्सँग उनले सँगै बसेर छोराबारे छलफल गर्न पाएकी छैनन् ।
साँच्चै एउटी आमालाई आफ्नो सन्तान अरूको झैँ सबल नहुँदा कति पीडा हुन्छ, त्यो त कविताले भोगेकी नै छन् । त्यसमा थप समाजका अनेकन कथन । यद्यपि उनको आत्मबल बलियो छ । निरन्तर छोराको स्वास्थ्य सुधारका लागि उपचार र विद्यालयमा महिनाकै ५० हजारबढी खर्च लाग्छ । उपचार खर्च जुटाउन पनि उनले काम गरिरहेकी छिन् । आमाको तर्फबाट एउटा सन्तानलाई सक्षम बनाउन हरसम्भव लाग्ने विशेष आमा हुन् कविता । उनलाई आफ्नो छोराको अवस्थाबारे खुलेर भन्न कुनै सङ्कोच छैन । त्यसैले उनका जस्तै सन्तान भएका अभिभावकले पनि उनीसँग सल्लाह लिने गर्छन् । साथीहरूको बीचमा बसेर गफ गरिरहँदा उनीहरू आफ्ना सन्तानले क्लास टप्यो, यस्तो प्रगति ग¥यो भन्छन् । कविताचाहिँ मेरो छोराले हिँड्न सिक्दैछ भन्न पाउँदा खुसी हुन्छिन् ।