Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माथिल्लो कर्णालीको विद्युत बंगलादेशले किन्ने

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् बंगलादेश सरकारले खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव जीएमआरले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो । जीएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले विद्युत् खरीद सम्झौता गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार बंगलादेश सरकारले जीएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभीभीएनमार्फत खरीद गर्नेछ ।

बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ । निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७।७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्नेछ । निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्नेछ । उक्त निर्णयसँगै भारतीय प्रसारण प्रणालीको प्रयोग गरेर नेपालमा उत्पादित विद्युत् बंगलादेश पुग्ने भएको छ । बंगलादेश सरकारले हालै उक्त निर्णय गरेको जीएमआरका निर्माण परियोजना प्रमुख शर्माले जानकारी दिए। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उतपादित विद्युत् खरीद गर्ने निर्णय भएसँगै नेपालमा उत्पादित विद्युत् बंगलादेश लैजाने मार्ग प्रशस्त भएको छ ।

स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल ९इपान०ले गत महिन आयोजना गरेको पावर समिटमा भाग लिन आएका बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले माथिल्लो कर्णालीको विद्युत् खरीद सम्बन्धी निर्णय छिट्टै हुने बताएका थिए । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा आफूहरु नेपालमा उत्पादित विद्युत् बंगलादेश लैजान आतुर रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिएका थिए । बंगलादेशले सन् २०४० सम्म नेपालबाट करिब ९ हजार मेगावाट विद्युत् लैजाने विषयलाई रणनीतिक महत्वका साथ समावेश गरेको छ । केही समय पहिले नेपाल भ्रमणमा आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले गर्नुभएको नेपाल भ्रमणमा समेत ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा विचार विमर्श भएको थियो । बंगलादेशको उक्त निर्णयसँगै जीएमआरले अब लगानी बोर्डसँग पनि समन्वय गरी आयोजनाको काम शुरु गर्ने वातावरण तय भएको छ । जीएमआरले आयोजनाको म्याद थपका लागि २०७५ असोजमा दिएको आवेदनको विषयमा बोर्डले हालसम्म कुनै निर्णय गरेको छैन ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल