Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधवमाथि थेग्नै नसक्ने दबाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नेतृत्व छाड्न पार्टीभित्रबाटै दबाब सुरु भएको छ। माओवादीसँग तिहारलगत्तै एकता गर्ने तयारीमा रहेका नेपाललाई नेताहरूले पार्टी पुनर्गठनको लागि भन्दै नेतृत्व छाड्न भनेका हुन्। जेनजी आन्दोलनपछि नेकपा एसमा मात्रै नभई अरू दलमा पनि नेतृत्व हस्तान्तरणको बहस चलिरहेको छ। तीन ठूला पार्टी कांग्रेस, एमाले र माओवादीले महाधिवेशनको मिति नै तोकिसकेका छन्। यद्यपि, कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरू दलका नेताहरू नेतृत्व नछाड्ने मुडमा देखिएको बेलामा अध्यक्ष नेपालमाथि पनि दबाब बढाएका हुन्। बिहीबारको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालसहित नेताहरू जीवनराम श्रेष्ठ, डा। विजय पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरूले राजीनामा मागेको एक नेताले बताए। सम्मानित नेता झलनाथ खनालसहित ठूलो पङ्क्ति माओवादीसँग एकता गर्ने विषयमा पनि सहमत छैन। अहिले माओवादीसँग एकता भन्दापनि पार्टी पुनर्गठन गरेर चुनावको तयारी गर्नुपर्नेमा ती नेताहरूको जोड छ। तर नेकपा एसका सचिव सोमप्रसाद पाण्डे बैठकमा पार्टी एकता, निर्वाचनको पक्षमा उभिनेलगायत समसामयिक विषयमा छलफल छलफल मात्रै भएको बताए। उनले भने, बैठकले त्यस्तो औपचारिक कुनै निर्णय गरेको छैन। स्थायी कमिटीको बैठकमा माओवादीसँग एकताको विषयमा कार्यदलले आफ्नो तर्फबाट भएर प्रगति जानकारी गरायो। अझै थप छलफल गर्ने कुरा भएको छ। अब निर्णयमा पुग्न त केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ। त्यसैले अहिलेसम्म कुनै निर्णय भएको छैन। तर उनले अध्यक्षले नेतृत्व छाड्नुपर्छ भन्ने ढङ्गले कुरा नउठेको दाबी गरे। उनले थपे, पहिला केही विषय उठेको हो, अहिलेको बैठकमा त्यस्तो कुनै छलफल भएन। पार्टी पुनर्गठनको विषयमा पनि त्यस्तो धेरै छलफल भएन। विचार, सिद्धान्त, व्यवहारिक हिसाबले मिल्नेहरूसँग एकताको लागि छलफल अगाडि बढाउने कुरा भएको छ। बैठकपछि उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा पनि एकताबारे टुङ्गो लगाउन वार्ता समितिलाई जिम्मा दिने उल्लेख छ। नेकपा एसले माओवादीसहित विचार मिल्ने शक्तिसँग एकताको लागि वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल