Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपाल र प्रचण्डको राजनीतिक आत्महत्या

  • अर्जुन ज्ञवाली

सन् २००५ मा भारतमा भारत–अमेरिका आणविक सम्झौता हुँदा जुन नाटक मञ्चन भएको थियो ठिक त्यसैगरी नै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई पारित गर्न प्रचण्ड, माधव नेपाल, शेरबहादुर र सभामुख अग्नि सापकोटाले वि.सं. २०७८ फागुन १५ गते त्यस्तै नाटक मञ्चन गरेका छन् । फरक के छ भने भारतमा भारत अमेरिका आणविक सम्झौता हुँदा गठबन्धन सरकारको तर्फबाट सभामुख भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको तर्फबाट थिए भने प्रधानमन्त्री काँग्रेस आईका तर्फबाट पश्चिमा अनुकुलका पात्र डा. मनमोहन सिंह । यसैगरी नेपालको वर्तमान संसदमा सभामुख माओवादी केन्द्रका अग्नि सापकोटा छन् भने प्रधानमन्त्री जुलिया चाङ ब्लक सिआइए केन्द्रका नेपाली काँग्रेसका सभापति शेरबादुर देउवा ।

भारत अमेरिका आणविक सम्झौताको प्रभाव सिंगो भारतमा मात्र होइन, त्यसकै कारण पश्चिम बंगालमा २५ वर्ष निरन्तर शासन गरेको भाकपा माक्र्सवादी आफ्नो सभामुखको गलत निर्णयका कारण सधैंका लागि समाप्त भयो । अहिले भाकपा माक्र्सवादीको अस्तित्व केरलाका क्रिश्चियनहरूले भारतीय लोकसभामा १ सिट जिताइदिएर धानिदिएका छन् । जबकि कुनै समय भाकपा माक्र्सवादी बिना भारतको केन्द्रीय सरकार बन्न सक्दैनथ्यो । त्यसैगरी १९४७ को भारतीय स्वतन्त्रतापछि पण्डित जबहारलाल नेहरूको नेतृत्वमा स्थापित भएको कँग्रेस भारत अमेरिकी आणविक सम्झौताको मनमोहनसिंह सरकारसम्म आइपुग्दा समाप्त भएर अहिले गणितको हिसावले भन्ने हो भने भारतको संविधानअनुसार १० प्रतिशत पनि लोकसभामा सांसद संख्या नभएकोले प्रतिपक्ष पनि बन्न सकेको छैन । भाजपाबाहेकको अर्को दल नरहेकोले औपचारिक रुपमा काँग्रेसलाई प्रतिपक्षको रुपमा मान्यता दिएको मात्रै हो ।

ठिक नेपालमा फागुन १५ गतेको नाटक मञ्चनले माधव नेपाल र प्रचण्डको मात्र होइन यदि ती दलभित्रका नेता र कार्यकर्ताहरूले नयाँ किसिमले सोच्दैनन् भने उनीहरूको अवस्था अव भारतको भाकपा माक्र्सवादीको जस्तै हुनेछ भने काँग्रेसको अवस्था भारतको काँग्रेस आईको जस्तो । वि.सं. २०१५ सालमा तत्कालिन बीपी कोइरालाको दुई तिहाईको सरकारले भूरणनीतिक संवेदनशीलतालाई बेवास्ता गर्दै ब्रिटिश अमेरिकी आडमा नेपाललाई पश्चिमाहरूको क्रिडास्थल बनाउन खोज्दा त्यसको परिणाम २०१७ साल पौष १ को रुपमा अवतरण हुन गयो । नेपालमा अब के हुने हो ? त्यो भने हेर्न बाँकी छ । षड्यन्त्रका धेरै पाटाहरू त एमसीसी प्रकरणमा प्रचण्ड र देउवाले कुटनीतिक मर्यादालाई नाघेर एमसीसी मुख्यालयलाई लेखेको पत्रले नै नंग्याइसकेको थियो ।

तथापि भूरणनीतिक संवेदनशीलताको विषय भएको हुनाले चीनले पटक पटक सशक्त प्रतिवाद गरेको अवस्थामा यो सम्झौता संसदबाट पारित गर्न रोकेर दलहरूले अन्तिम समयमा कुनै निर्णय लिन्छन् कि भन्ने झिनो अपेक्षा थियो । फागुन १५ गते मध्येरातमा सभामुख अग्नि सापकोटाले यो राष्ट्रघाती सम्झौतालाई संसदबाट पारित गर्न सहयोग पु¥याएर इतिहासमा कालो कलंकको टिका लगाएका छन् । यदि यही नै गर्नु थियो भने विगत ३२ महिनादेखि संसदमा रहेको एमसीसीलाई पक्ष र विपक्षमा बहस चलाएर यो नाटक मञ्चन किन गरियो ? अब विशेष गरेर माओवादी केन्द्रलाई जनताले सोध्नेछन् ।

दिल्ली र नेपाली सेनाभित्रको अमेरिकी गोर्खा रेजिमेन्ट युएनको शान्तिसेनाको इशारामा १० वर्षसम्म एक हातमा बन्दुक र अर्को हातमा बाइबल लिएर माओको नाम बदनाम गर्दै माओकै चीन ध्वंश गर्ने युरो अमेरिकी एजेन्डा बोकेको कथित माओवादी फागुन १५ गते मध्यरातमा आएर १७ हजारको हत्या, पाँच हजार बेपत्ता र हजारौं घाइतेहरूको रगतकाबीच उसको तथाकथित क्रिश्चियन क्रुसेडर्स क्रान्ति अमेरिकी साम्राज्यवादको काखमा सुम्पेको छ । पेरुका राष्ट्रपति अलबर्ट फुजिमोरीले गोञ्जालोलाई दमन गर्दासम्म अमेरिकाको आडमा नरशंहार मच्चाएका थिए ।

जब गोञ्जालोको समाप्ति भयो फुजिमोरीको औचित्य सकिएपछि उनलाई मानवअधिकार हननको नाममा जेलमा कोचियो । तथाकथित क्रुसेडर्स प्रचण्ड, बाबुराम, विप्लव या वैद्य हुन् या माओवादी हिंसाका सारथीहरूको अवस्था पनि त्यो भन्दा भिन्न हुने छैन । अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीको देशै छाडेर भाग्नु पर्दाको अवस्था होस् या युक्रेनका निवर्तमान राष्ट्रपतिको अवस्था हेर्दा अमेरिकी आडमा सुरक्षित ठान्नेहरूको हालत कस्तो हुन्छ भन्ने कुरा भर्खरैका घटनाक्रले देखाइसकेको छ । यो अवस्थामा माओवादी हिंसाका सारथीहरूको असरफ घानीको जस्तो भागेर जाँदा लुक्ने ठाउँ पनि हुने छैन ।

जसरी भारतमा सन् २००५ मा भएको भारत अमेरिकी आणविक सम्झौता लागू हुन सकेन, त्यसैगरी नेपालमा पनि एमसीसी सम्झौता लागू हुन सक्ने छैन । इतिहास निर्मम र कठोर हुन्छ । जसरी भारतमा आणविक सम्झौता गर्ने काँग्रेस र भाकपा माक्र्सवादी समाप्त भए नेपालमा पनि नेपाली काँग्रेस र माओवादी केन्द्र र माधव नेपालहरूको राजनीतिक अवशानलाई अब संसारको कुनै पनि शक्तिले रोक्न सक्ने छैन । भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन । सबैलाई चेतना भया ।