Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव पक्ष संगठन विस्तारमा

काठमाडौँ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले नेतृत्व गरेको नेकपा एमालेले देशैभर समानान्तर संगठन विस्तारमा लागेको छ । दुई दिने भेलाबाट पार्टी गतिविधि अघि बढाउन भएको निर्णय अनुसार आफ्ना गतिविधि तीव्र बनाउन थालिएको हो । सर्वोच्च अदालतको फैसलापछि पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी निर्णय गर्दै अघि बढेपछि आक्रोशित माधव–झलनाथ पक्षले बिहीबारमात्रै २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरि १७ बुँदे प्रस्ताव पारित गरेको थियो ।

भेलाबाट पारित प्रस्तावअनुसार सो पक्ष शुक्रबारबाटै देशभर जनवर्गीय संगठनहरुको समानान्तर भेलामार्फत नेतृत्व छनोट गर्ने तयारी गरेको हो । सोही क्रममा शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेला डाकिएको छ भने शनिबार युवा र १० चैतमा विद्यार्थीहरुको भेला गरिदै छ । काठमाडौँको कालीमाटीस्थित एक पार्टी प्यालेसमा बोलाइएको महिला भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि गत फागुन २८ गते अध्यक्ष केपी शर्मा ओली पक्षले महिला भेला बोलाएको थियो । जनवर्गीय संगठनको समानान्तर कमिटि गठन गर्ने भएपछि यो पक्षमा नेतृत्वका लागि दौडधूप चलेको छ । त्यसका लागि आकाङ्क्षीहरुले आफु निकटका नेताहरुलाई आफ्नो पक्षमा माहोल खडा गर्न दवाव दिन थालेका छन् । माधव पक्षले महिला संगठनको अध्यक्षमा शान्ति अधिकारी र दुर्गाजयन्ती राईमध्ये एकलाई अघि सार्ने भएको छ । भेलाबाट छलफल गरेर नेतृत्व चयन गरिने स्थायी समिति सदस्य समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

ओली पक्षबाट भने अनेमसंघको नेतृत्व राधा ज्ञवालीले पाएकी छन् । यसैगरी युवा संघमा ओलीले पक्षले गत माघ अन्तिम सातामात्रै भेला गरेर बचनबहादुर सिंहलाई अध्यक्ष चयन गरेको थियो । त्यसैगरी एमाले निकट अनेरास्ववियूका सुदेश पराजुली र आरती लामामध्ये एकलाई अध्यक्ष बनाउने सम्भावना रहेको छ । माधव पक्षबाट युवा संघको नेतृत्व भने नरेश शाहीको जिम्मामा जाने निश्चित जस्तै भएको सो पक्षका युवाहरू बताउछन् । शाही युवासंघका महासचिव समेत हुन् ।