Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव, भीम, घनश्याम र सुरेन्द्रपछि कतातिर तेर्सियो ओलीको नजर

काठमाडौं । पार्टी कब्जा गर्ने रणनीतिमा अघि बढेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गुट इतरका व्यक्तिहरुलाई खोजी खोजी कारबाहीमा अघि बढेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आक्रामक मात्रै होइन निरंकुश शैलीमा प्रस्तुत भएका छन् ।

उनले पार्टीभित्र धमाधम कारबाही गरिरहेका छन् । नेकपा महासचिव भइसकेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । अब नेपाललाई सांसद पदबाटै हटाउने तयारी गरेका छन् । ओलीका विश्वासपात्र खगराज अधिकारीले यसको खुलासा गरेका हुन् । नेपालले ओलीको निर्णय अवैधानिक भन्दै समानान्तर कमिटी गठन गरेका छन् ।

नेपाल समूहका प्रभावशाली नेता भीम रावल पनि निलम्बनमा पर्नेमा छन् । उनलाई फेरि सांसद पदबाटै हटाउने तयारी भएको छ । ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट निलम्बन गरे । दुवैलाई सांसद पदबाट हटाउने तयारी भएको छ । यसैगरी, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सचिव योगेश भट्टराई र गोकर्ण बिष्ट पनि कारबाही गरिने सूचीमा परेका छन् ।

उनीहरुमाथि छिट्टै कारबाहीको जानकारी आउने बुझिएको छ । कारबाहीको सूचीमा भीम आचार्य, वेदुराम भुसाल, रघुजी पन्त, सोमप्रसाद पाण्डे, विजय पौडेल, रामकुमारी झाँक्रीलगायत पनि छन् । उनीहरु नेपाल समूहमा सक्रिय छन् ।