Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मानव बेचबिखन अपराध सभ्य समाजको बाधक

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसरमा “सरकारको प्रतिबद्धतास्मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एक्यबद्धता” भन्ने मुल नारा सहित शुक्रबार विशेष कार्यक्रम सम्पन्न भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आयोजित उक्त विशेष कार्यक्रमको प्रमुख अतिथि गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले उद्‍घाटन गर्नुभएको थियो ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०७५, मानव बेचबिखन विरुद्ध लिखित ‘मानव बेचबिखन विरुद्धको यात्रा’ र ‘मानव बेचबिखनका विविध स्वरुप’ पुस्तकहरुको गृहमन्त्री राम बहादुर थापा ‘बादल’, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, सांसद निरु पाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
सो अवसरमा गृहमन्त्री थापाले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी अपराध सभ्य समाजको बाधक तत्व रहेको बताउँदै यस्ता सामाजिक कलंकको रुपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, विकास साझेदारीका पात्रहरु, नागरिक समाज, मानव अधिकारकर्मी लगायत सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर आगाडि बढ्नुपर्ने बताउँनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न मानव वेचविखन तथा ओसारपसार नियन्त्रणले ठोस योगदान दिन सक्ने भएकोले यसको नियन्त्रणको लागि सवै क्रियाशिलता, सामूहिक प्रयास र पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपाल प्रहरीको विशिष्टकृत ब्यूरोमध्ये मानव वेचविखन अनुसन्धान ब्यूरोको स्थापनासँगै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा ठोस प्रयास आरम्भ भइसकेको चर्चा गर्दै गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय समन्वय र साझेदारीको माध्यमबाट पीडितहरुको उद्दार गर्न समन्वयात्मक प्रयासहरु समेत भएको बताउनुभयो । अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरी र मानव बेचविखन अनुसन्धान ब्यूरोको क्षमता अभिवृद्धि हुने क्रियाकलापहरु कार्यान्वयन भइरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले सरकारी तथा गैरसरकारी निकायहरुको लागि एकिकृत सेवा केन्द्र व्यवस्था मिलाई पीडित पहिचान तथा मानव बेचविखन सम्बन्धी सम्पूर्ण गतिविधिको केन्द्रीय अभिलेख व्यवस्थापन लगायतका क्रियाकलापहरुको व्यवस्थापन भइरहेको बताउनुभयो ।
नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयनका लागि व्यवस्था भएका मानव बेचबिखन नियन्त्रण ऐन, नियमावलीको प्रभावकारी कार्यान्वयनबाट महिलामाथि हुने यौनशोषण, दुर्व्यवहार, मानव अंग तस्करी जस्ता जघन्य सामाजिक अपराधको नियन्त्रण हुने हुनाले यसमा सबैले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्नु जरुरी रहेको बताउँदै गृहमन्त्री थापाले यस्ता अपराधबाट पीडित भएकाहरुलाई आफ्नो हक अधिकारको लागि एकजुट हुन र दुष्कार्य विरुद्ध लड्न मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवसले थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपालको संविधानले गरेको व्यवस्थाबारे चर्चा गर्दै पीडितको संरक्षण र कानुनी उपचार सम्बन्धमा मन्त्रालयकोतर्फबाट विभिन्न योजना तथा कार्यक्रम मार्फत विविध कार्यहरु भइरहेको बताउनुभयो । अपराधीलाई कानुनी कठघरामा ल्याउन, पीडित तथा प्रभावितलाई न्याय दिन नेपाल प्रहरीको नेतृत्वमा संयन्त्र खडा गरिएको चर्चा गर्दै उहाँले यस कार्यलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सबै सरोकारवाला पक्ष, सरकारी तथा गैरसरकारी संघसंस्था एकढिक्का भई लाग्नुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकारको दिगो ठोस नीति, रणनीतिक योजना अनुसार नेपाल प्रहरी आफ्नो दक्षता, सीप र साधनस्रोतको उच्चतम प्रयोग गर्दै मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सक्रिय रुपमा लागेको उल्लेख गर्दै आगामी दिनमा पनि प्राथमिकताका साथ रणनीति तय गरेर कानुन कार्यान्वयन गर्नेतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीभित्रको संरचना र दक्षता अभिवृद्धि गर्ने क्रममा हालै मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना भएको उल्लेख गर्दै उहाँले प्रहरीका अन्य युनिटहरु र सरोकारवाला निकायसँग समन्वय गरी समुदाय(प्रहरी साझेदारी अन्तर्गत जनस्तरमा विशेष कार्यक्रम लिएर नेपाल प्रहरी अगाडि बढेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक खनालले मानव बेचबिखन कार्यमा संलग्न रही देश बाहिर बसेकाहरुलाई समेत नेपाल प्रहरीभित्रको संरचनाको साथसाथै इन्टरपोलका सदस्य राष्ट्रहरुसँग सूचना सम्प्रेषण, समन्वय र सहकार्य गर्दै कानुनी दायरामा ल्याएको चर्चा गर्नुभयो । आजसम्मको उपलब्धी सामुहिक प्रयासबाट हासिल भएको चर्चा गर्दै मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरोकारवाला सबै एक्यबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन भन्नुभयो ।
कार्यक्रममा मानव बेचबिखन विरुद्ध जनजागरण, उद्धार एवं पुर्स्थापना कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी सहायक निरीक्षक सुकु तामाङ लगायतका महानुभावहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
यसअघि उक्त दिवसको अवसरमा विभिन्न नारा अंकित प्लेकार्ड सहितको प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भई शहिदगेट, सुनधारा, रत्नपार्क हुँदै पुनस् भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो ।
साथै उक्त दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयहरुको सहभागितामा जनचेतनामूलक र्‍याली लगायतका विविध कार्यक्रम आयोजना गरिएको छ ।