Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिलापत्रका नाममा चेक बाउन्स मुद्दालाई कमजोर नबनाइयोस्

काठमाडौँ । आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा चेक बाउन्स कसुरमा हुने कारबाही सम्बन्धमा लचिलो व्यवस्था गर्न सरकारले उक्त मुद्दामा पनि मिलापत्रको व्यवस्था गर्न लागेको हो । आइतबार संघीय संसद्को प्रतिनिधिसभामा पेस भएको ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, ०८० मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ । आइतबार अर्थमन्त्री प्रकाशशरण महतले उक्त विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् । बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विधेयक ल्याइएको अर्थ मन्त्रालयले बताएको छ । प्रस्तावित विधेयकमा चेक अनादरसम्बन्धी मुद्दामा प्रतिवादीले चेकमा उल्लेख भएको रकम चेक लिने व्यक्तिलाई बुझाए मिलापत्र हुन सक्ने व्यवस्था थपिएको छ । विद्यमान कानुनमा चेक बाउन्स भएको अवस्थामा बैंकिङ कसुर हुने भएकाले सिधै कालोसूचीमा पर्ने प्रावधान छ । तर, मिलापत्रको व्यवस्था थिएन । यही कारण पछिल्ला वर्षमा कालोसूचीमा पर्ने नागरिकको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनमा कालोसूचीमा पर्ने संख्यामध्ये ९० प्रतिशत चेक बाउन्सको रहेको कर्जा सूचना केन्द्रको तथ्यांक छ । हाल चेक बाउन्स भएपछि चेक काट्ने व्यक्तिले म पैसा भुक्तानी गर्छु भन्दा पनि कारबाही भोग्नुपर्ने अवस्था छ । यो व्यवस्थाले खासगरी २र४ हजारको कारोबारमा बैंकिङ कसुरबापतको जरिवाना भोग्नुपर्छ । यो प्रावधानले सर्वसाधारण पनि मर्कामा परेको स्रोतको दाबी छ । यस्ता व्यावहारिक समस्या न्यूनीकरण गर्नकै लागि बैंकिङ कसुरसम्बन्धी ऐन संशोधन गरिएको थियो । अब विधेयकमा प्रस्ताव गरेअनुसार नै ऐन संशोधन भए नागरिकले चेकमा उल्लेख भएको रकम तिरेपछि बैंकिङ कसुरसम्बन्धी कारबाही भोग्नु पर्दैन । यसको अर्थ चेक बाउन्ससम्बन्धी मुद्दामा बैंकिङ कसुर नलाग्ने भन्ने पनि होइन । तर मुद्दा परिसकेपछि पनि दुवै पक्ष मिल्छौं भनेर आए उनीहरूलाई उपयुक्त वातावरण बनाइदिन मात्र खोजिएको स्रोतले बताएको छ । खासगरी पीडितको हितमा मिलापत्रसम्बन्धी व्यवस्था गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जनाए । अहिले चेक बाउन्सको मुद्दामा विनिमय अधिकार पत्र ऐनअनुसार र बैंकिङ कसुर ऐनअनुसार हेरिँदै आएको छ । यद्यपि पीडितले मैले पैसा पाए मुद्दा–मामिलामा जाँदिन भन्छन् भने उनीहरूको हित सम्बोधन गर्न ऐनमै उक्त व्यवस्था गर्न थालिएको दाहालको भनाइ छ । सानो रकमको चेक बाउन्सको मुद्दामा मिलापत्रका माध्यमबाटै समाधान होस् भन्ने उद्देश्यले ऐनमै व्यवस्था गरिएको प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । कतिपय हकमा आफूले दिएको भन्दा बढी रकमको चेक काटेको पनि भेटिएको उनको भनाइ छ । यस्ता मुद्दामा दुवै पक्ष सहमतिमा आएपछि विवाद टुंग्याउन ऐनमै मिलापत्रको व्यवस्था गर्न प्रस्ताव भएको कडायतले जनाए । प्रस्तावित विधेयकमा मिलापत्रका लागि निवेदन परे सरकारी वकिलले मुद्दा अनुसन्धानको सिलसिलामा भए अनुसन्धान अधिकृतलाई दुवै पक्षबीच मिलापत्र गराइदिन र मिलापत्र भएको व्यहोरा अभिलेखमा जनाई अनुसन्धान स्थगन गर्न सम्बन्धित अनुसन्धान अधिकृतलाई आदेश दिनुपर्ने व्यवस्था छ । त्यसरी मिलापत्र भएमा प्रतिवादी ऐनअनुसार सजायको भागीदार हुने छैन । चेक अनादर गरेको प्रमाणित भएको मितिले ३ महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिनेछ । विधेयकमा खातामा पैसा नभई चेक काट्नेलाई २ वर्षसम्म जेल सजाय हुने व्यवस्था पनि थपिएको छ । यसअनुसार ५ लाखसम्म बिगो भए १ महिनासम्म कैद, ५ देखि १० लाखसम्म बिगो भए ३ महिनासम्म कैद, १० लाखदेखि ५० लाखसम्म बिगो भए ६ महिनासम्म कैद र ५० लाखभन्दा बढी बिगो भएमा दुई वर्षसम्म कैद हुने प्रस्ताव विधेयकमा छ । करिब २ वर्षअघि नेपाल राष्ट्र बैंकले उक्त विधेयक संशोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो । अर्थ मन्त्रालय, कानुन मन्त्रालय, विधेयक समिति हुँदै फेरि अर्थमै फर्किएको विधेयक अर्थमन्त्री महतले आइतबार संसद्मा पेस गरेका हुन् । अहिले दुई पटकभन्दा बढी चेक बाउन्स भए चेक काट्ने व्यक्ति कालोसूचीमा पर्नॅका साथै उसलाई बैंकिङ कसुरसम्बन्धी कारबाही तथा जरिवानासमेत हुने व्यवस्था छ । हाल दुई वा बढी पटकसम्म बैंकबाट पैसा निकाल्न नपाएपछि चेक लिने व्यक्तिले चेक काट्नेलाई चेक बाउन्सको कसुरमा कालोसूचीमा राख्न उजुरी गर्न सक्छ । उजुरीका आधारमा सम्बद्ध बैंकले चेक काट्ने व्यक्तिलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्छ । तर, यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिनाभित्र दिइसक्नुपर्ने प्रावधान छ । यही प्रावधानका आधारमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्दै आएको छ ।