Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘मिसन जनजागरण अभियान’ सुरु गर्ने तयारी

इलाम । फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक झापा र इलाम पुगेका छन्। ओली शनिबार झापाबाट इलामको फिक्कलतर्फ प्रस्थान गरेका हुन्।

फिक्कलमा आयोजना हुने आदिवासी जनजाति महासङ्घको कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले नेता महेश बस्नेतले जानकारी दिए। उनका अनुसार ओली शनिबार इलाममै रहनेछन् भने आइतबार झापामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।

फिक्कलको कार्यक्रममा देशभरबाट आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य सहभागी हुने बताइएको छ। ओलीले इलाममा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत जिल्लाका पार्टी नेता तथा कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम छ।

ओलीसँगै एमाले सचिव शेरधन राई, नेता गुरु बराललगायत नेताहरू पनि इलाम पुगेका छन्।

यसैबीच, एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘मिसन जनजागरण अभियान’ को शुभारम्भ आइतबार झापाबाट गर्ने भएको छ। अभियान देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने एमालेको तयारी छ।

निर्वाचनपछि पहिलोपटक झापा र इलाम पुगेका ओलीले पार्टी संगठन सुदृढीकरण, कार्यकर्तासँगको भेटघाट तथा आगामी निर्वाचनको तयारीलाई प्राथमिकता दिने बताइएको छ। अभियानमार्फत जनसम्पर्क विस्तार गर्दै संगठनलाई थप सक्रिय बनाउने एमालेको योजना छ।