Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुलुक चुस्ने पतेराहरुलाई सधैं हुन्छ छूट

काठमाडौँ । एनसेलको ८० प्रतिशत सेयर दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले खरिद गरेको छ । सेयर खरिदबिक्रीको कारोबार नेपालस्थित सरकारी कार्यालयमा नभई विदेशमै गरिएको थियो । उक्त कम्पनी नेपाली मूलका सिंगापुरवासी सतीशलाल आचार्यको नाममा गत सेप्टेम्बर २६ मा एक पाउन्डमा स्पेक्ट्रलाइट यूके नामक कम्पनी दर्ता गरी एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको हो ।
एनसेलको २० प्रतिशत सेयरको स्थानीय साझेदार सतीशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ । आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेले बिक्रीमा रहेको एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको विज्ञप्तिमार्फत जनाएको छ । आजियटाले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा आचार्यसमेतको सो कम्पनीले ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा सेयर खरिद गरेको घोषणा गरिएको छ । जबकि यो ८० प्रतिशत सेयर २०७२ सालमा आजियटाले १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यस बेलाको विनियम दरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा टेलिसायोरासँग खरिद गरेको थियो । आठ वर्षअघि भएको उक्त कारोबार रकम अंकको ९६ प्रतिशत कम मूल्यमा अविश्वसनीय ढंगले ८० प्रतिशत सेयर खरिदबिक्री भएको छ । अफसोर कारोबार गरी बाँकी ८० प्रतिशत सेयर पनि आचार्य दम्पतीले नै खरिद गरेका हुन् । यसअघि एनसेल ८० प्रतिशत सेयर खरिद–बिक्रीको कारोबार पनि विदेशमै भएको थियो । ट्याक्स हेभन (कर छलीका लागि अनुकूल मानिने) देशमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ कम्पनीको स्वामित्व परिवर्तन गरी खरिदबिक्री गर्दै आइएको छ । यस पटक पनि सोही प्रवृत्ति दोहोरिएको छ । एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको भनिएको स्पेक्ट्रलाइट यूके लन्डनस्थित वान लिफ्ट प्लेसमा छ । यो कम्पनी औद्योगिक प्रकृतिको व्यवसायका लागि खोलिएको बेलायती कम्पनी रजिस्ट्रार कार्यालयको वेबसाइटमा उल्लेख छ । आजियटाले आफ्नो घोषणामा सन् २०१६ मा १.३६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको कम्पनी अहिले झन्डै एक तिहाइ कम मूल्य अर्थात् ५ करोड डलरमा बिक्री गरेर बाहिरिएको आधिकारिक घोषणा गरेको छ । नेपालस्थित एनसेलले पनि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियटा यूके लिमिटेडबीच एनसेलको सेयर खरिदबिक्री कारोबारका लागि सम्झौता भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तनदेखि खुसी भएको बताउँदै नयाँ लगानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक कम्पनीका रूपमा अघि बढाउने बताएका छन् ।