Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन सधैं जोखिममा रहेको बताएका छन्। इरानसँगको तनाव चर्किरहेका बेला उनले आफू इरानी पक्षको ‘हिटलिस्ट’को शीर्ष स्थानमा रहेको दाबी गरेका हुन्।
एयर फोर्स वानमा यात्रा गर्ने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफू निरन्तर सुरक्षा जोखिममा रहेको बताए। उडानका बेला पत्रकारहरूलाई विमानको झ्यालको पर्दा बन्द राख्न निर्देशन दिइएको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, “यो निकै खतरनाक उडान हुन सक्छ। उनीहरू (इरानीहरू) खतरनाक मानिस हुन्। म सधैं जोखिममा हुन्छु। मेरो नाम उनीहरूको सूचीको सबैभन्दा माथि छ।”
ट्रम्पले ठट्टाको शैलीमा पत्रकारहरूलाई भने, “यदि मलाई केही भयो भने तपाईंहरू पनि सुरक्षित हुनुहुन्न। सायद कुनै दिन आफ्नो पेशा परिवर्तन गर्नेबारे सोच्नुपर्ने हुन सक्छ।”
ट्रम्पको उक्त अभिव्यक्तिलगत्तै अमेरिकाले इरानमा फेरि हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। शान्ति समझदारीपछि अमेरिकाले इरानमाथि गरेको यो लगातार दोस्रो हवाई आक्रमण हो।
इरानी सञ्चारमाध्यमहरूका अनुसार दक्षिणपूर्वी इरानका कोनारक, चाबहार तथा आसपासका क्षेत्रमा अमेरिकी सेनाले हवाई आक्रमण जारी राखेको छ। सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ।
सिस्तान–बलुचिस्तान प्रान्तका स्थानीय अधिकारीहरूले बुधबार मध्यराततिर इरानसहर क्षेत्रमा लगातार चारवटा ठूलो विस्फोट भएको पुष्टि गरेका छन्।
अमेरिकी आक्रमणपछि इरानको प्रमुख सामुद्रिक व्यापार केन्द्र चाबहार फ्रि जोन क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। त्यहाँका अधिकारीहरूले गोदाममा रहेका सवारीसाधन सुरक्षित स्थानमा सार्ने अभियान सञ्चालन गरेका छन्। मध्यरातसम्म करिब ३०० सवारीसाधन हटाइसकिएको र बाँकी सवारीसाधन पनि बिहानसम्म स्थानान्तरण गरिने जनाइएको छ।
यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्यमा व्यापारी जहाजमाथि भएको आक्रमणको प्रतिकारस्वरूप उक्त सैन्य कारबाही गरिएको जनाएको थियो।
त्यसअघि नेटो शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले इरानविरुद्ध थप ठूलो सैन्य कारबाही हुने संकेत दिएका थिए। साथै उनले इरानसँग भएको द्वन्द्व अन्त्यसम्बन्धी समझदारी समाप्त भएको घोषणा पनि गरेका थिए।
अमेरिका–इरानबीच बढ्दो सैन्य तनावले मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ। लगातारका हवाई आक्रमण, प्रतिशोधात्मक चेतावनी र दुवै पक्षका कडा अभिव्यक्तिले क्षेत्रीय द्वन्द्व थप चर्किने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढाएको छ।
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल