Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्ची दोस्रोको लागि पनि ऋण खोजिदै

काठमाडौं । एडीबीको ऋण लिएर मेलम्ची खानेपानी आयोजना निर्माणको काम सकिएपछि आयोजनाको दोस्रो चरणको निर्माण थाल्ने योजना तयारी गरेको सरकारले मेलम्चीको दोस्रो चरणको आयोजना निर्माणका लागि विदेशी दाताहरुसँग छलफल अघि बढाएको छ ।

यसका लागि झण्डै ३० करोड अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान छ । एसियाली विकास बैंक एडीबी पनि मेलम्चीको दोस्रो परियोजनामा लगानी गर्न इच्छा देखाए पनि स्रोत सुनिश्चित हुन बाँकी रहेको आयोजना प्रमुख तिरेश खत्रीले बताएका छन् ।
सुन्दरीजलमा बन्ने अर्को पानी प्रशोधन केन्द्रका लागि एडीबी लगानी गर्न तयार भइसकेको छ ‘सिन्धुपाल्चोकमा बन्ने नयाँ परियोजनाका लागि भने ऋण लगानीको सहमति भइसकेको छैन ।

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको छ । परामर्शदाता कम्पनी इप्टिसाले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डीपीआर मेलम्ची खानेपानी विकास समितिलाई बुझाएको छ ।

मेलम्चीमा यांग्री र लार्केको पानी मिसाउन ११ किलोमिटरको सुरु खन्नुपर्नेछ झण्डै १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसाउदा राजधानीलाई पानीको अभाव हुने छैन । यो आयोजनमा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको छ ।

यो योजना पूरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची २ को डीपीआर तयार भएको आयोजनाका प्रमुख खत्रीले जानकारी दिएका छन् ।

पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको दोस्रो प्रोजेक्ट तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्याउने छ ।

यो योजनाअनुरुप मेलम्ची आयोजनामा यांग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।

सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा बजेट र नीति तथा कार्यक्रमबाटै नै गरिसकेको छ । काठमाडौंमा दीर्घकालीन रुपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो । यसले काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा गर्न सहज हुने विश्वास छ ।

जग्गा अधिग्रहणको क्रम शुरु

आयोजनाका लागि जग्गा अधिग्रहणको काम ६५ प्रतिशत सकिएको मेलम्ची खनेपानी आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा वितरण भइरहेको छ ।

यो आयोजना निर्माण गर्दा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर एकमा सबैभन्दा धेरै १५२ कित्ता जग्गा अधिग्रहण गरिनेछ । वडा नम्बर २ मा ५५, ४ मा ४४, ८ मा ३६, ९ मा ६ र वडा नम्बर ६ मा ४ कित्ता जग्गा अधिग्रहण हुनेछ ।

आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्पसाइट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो । सरकारले यस वर्ष मेलम्ची आयोजनाको दोस्रो खण्डको पूर्व तयारी अघि बढाउने गरी बजेट विनियोजन गरेको छ ।
आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्पसाइट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो । सरकारले यस वर्ष मेलम्ची आयोजनाको दोस्रो खण्डको पूर्व तयारी अघि बढाउने गरी ठूलो बजेट विनियोजन गरेको छ